कृष्णप्रसाद हत्याका अर्का आरोपी धरौटीमा रिहा

फरार मध्येका रुद्र आचार्य अहिले देश बाहिर भएको बताइएको छ

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन, फरार मध्येका रुद्र आचार्य अहिले देश बाहिर भएको बताइएको छ

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको चर्चित ज्यान मुद्दाका फरार अभियुक्त रामप्रसाद अधिकारीलाई प्रहरीले ८ महिनापछि पक्राउ गरेर अदालतमा उपस्थित गराए लगत्तै अदालतले २७ हजार धरौटीमा छोडेको छ।

उक्त मुद्दामा यसअघि चितवन जिल्ला अदालतले १० जना अभियुक्तहरुलाई कसैलाई तारेख र कसैलाई धरौटीमा छोडेको थियो भने दुईजना अझै फरार छन्।

छोराको हत्यारालाई कारवाहीको माग गर्दै झन्डै एक वर्षसम्म अनसन बसेर तीन महिनाअघि ज्यानै गुमाएका नन्दप्रसादको अझै अन्तेष्टी गरिएको छैन।

२०६१ सालमा एसएलसी सकेर चितवनस्थित मामाघर जाँदै गर्दा तत्कालीन विद्रोही माओवादीले आफ्नो १७ वर्षीया छोरा कृष्णप्रसादको हत्या गरेको भन्दै दोषीलाई कारबाही हुनुपर्ने मागसहित नन्दप्रसाद र गंगामाया २०७० साल कात्तिक देखि अनसनमा बसिरहेका थिए।

छानबिन

सडक सदन हुँदै सर्वोच्चसम्म उनीहरुको न्यायको याचना बढ्न थालेपछि सरकारले उनीहरुको मुद्दामा छानबिन अघि बढाएको थियो।

उक्त ज्यान मुद्दाको अभियोगमा पक्राउ परेका १० जनालाई अदालतले सामान्य धरौटी र साधारण तारेखमा अघिल्लो वर्ष छोडेको थियो।

बाँकी तीन फरार मध्ये शनिबार पक्राउ परेका रामप्रसाद अधिकारीलाई आइतबार प्रहरीले चितवन जिल्ला अदालतमा उपस्थित गराएको थियो।

उक्त मुद्दामा न्यायाधीश विनोदमोहन आचार्यको इजलासले दिएको आदेशबारे श्रेस्तेदार विद्याराज पौडेलले भने, "तत्काल प्राप्त प्रमाणको आधारमा रामप्रसाद अधिकारीलाइ २७ हजार धरौटीमा छोड्नको लागि अदालतले आदेश गरे अनुसार उहाँले रकम बुझाएपछि हामीले धरौटी लिएर छोडेका छौं।"

उक्त मुद्दाको सुनुवाईका लागि पुस ११ गतेको अर्को तारेख तोकिएको छ।

प्रयास

अब फरार रहेका दुई अभियुक्तहरु सुभद्रा तिवारी र रुद्र आचार्यले अदालतको म्याद बुझिसकेकाले उनीहरु अदालतमा उपस्थित नभए पनि मुद्दाको सुनुवाई प्रकृया नरोकिने अदालतले जनाएको छ।

आइतबार धरौटीमा छुटेका अधिकारीलाई आफूहरुले आठ महिना लामो सघन प्रयासपछि पक्राउ गरेको प्रहरीले जनाएको छ।

चितवनस्थित प्रहरी उपरीक्षक शहकुल थापाले भने, "हामीले उनलाई बैशाख ३ गतेदेखि खोजिरहेका थियौ, पहिला डिल्लीबजारमा पसल छ भनेर खोजेका थियौं, त्यो बन्द गरेर हिँडेको थाहा पाएपछि अहिले फोन ट्रयाक गरेको भरमा पक्राउ गरेका हौं।"

छोराको हत्यारालाई कारबाहीको मागकै क्रममा श्रीमानको निधन भएपछि गंगामायाले सरकारले उनका मागहरुलाई पूरा गर्ने प्रतिवद्धता जनाएपछि दुई महिनाअघि अनसन तोडेकी थिइन्।