कञ्चन, सफा वागमती?

तस्बिर स्रोत, .
- Author, सुरेन्द्र फुयाल
- Role, संवाददाता, बीबीसी नेपाली सेवा
देशको राजधानी काठमाण्डू उपत्यकाबाट बग्ने वागमती र यस्का सहायक नदीहरु प्रदुषण र फोहरमैलाको पर्याय बनिसकेका छन्।
नगरवासीदेखि आगन्तुक सबैलाई निरास तुल्याउने वागमती र अन्य नदीहरुलाई सफा तुल्याउने जिम्मेवारी अब पूर्व सचिव किशोर थापाको काँधमा आएको छ।
त्यसबाट केहि आशाको सञ्चार त भएको छ, तर थुप्रै चुनौतीहरु पार नगरेसम्म त्यो महत्वाकांक्षी सपना पुरा हुन संभव देखिदैन।
गत साता अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिको अध्यक्ष नियुक्त हुने बित्तिकै थापाले चार वर्षमा काठमाण्डूका नदीनाला सफा गर्ने योजना अघि बढिरहेको बीबीसी नेपाली सेवालाई बताएका थिए।
“सुन्दरीजलदेखि सुन्दरीघाटसम्मको वागमतीको २८ किलोमिटर खण्ड एक वर्षभित्र सफा हुनेछ र सबै शाखा नदीहरु सफा गर्न हामीलाई चार वर्ष लाग्छ।”
प्रदुषण
थापा आफैं झन्डै ७० हप्तादेखि वागमती सफाई अभियानमा निरन्तर सहभागी भइरहेका कारण उनको अगुवाइमा वागमती र यस्का शाखा नदीको सफाइ तथा व्यवस्थापनले तीव्रता पाउला कि भन्नेमा कतिपय आशावादी बनेका हुन्।
काठमाण्डू सभ्यताको जीवनधारा मानिने वागमती विगत केहि वर्षदेखि निरन्तर प्रदुषणको मारमा परेका कारण नदीको पानी कतिपय जातका माछा बाच्नको लागि समेत अनुपयुक्त भइसकेको विज्ञहरु बताउँछन्।
हुन त वागमती सफा गर्न सन् २००९ मा वागमती कार्ययोजना ल्याइएको थियो।

तर त्यसनिम्ति आवश्यक १३ अर्ब रुपैंयाँ बजेटको जोहो हुन नसक्दा नदी किनारमा ढल बनाउँदै फोहर पानी प्रशोधन गर्ने योजनामा ढिलाइ भएको बताइन्छ।
तर अब परिदृश्य बदलिन सक्छ किनभने मेलम्ची खानेपानी आयोजना अन्तर्गत फोहर पानी सफाइको निम्ति उपत्यकाका विभिन्न नदी किनारमा १३ अर्ब रुपैँयाँको लगानीमा सात वटा प्रशोधन केन्द्र निर्माण वा मर्मत सम्भार गर्ने योजना अघि बढ्न लागेको बताइन्छ।
संगसंगै एसियाली बिकास बैंकको सहयोगमा वागमती नदी सुधार आयोजना अन्तर्गत, वागमतीको मुहान रहेको शिवपुरी क्षेत्रमा वर्षाको पानी संकलन गर्न ३ अर्ब रुपैंयाँको लगानीमा दुई वटा बाँध निर्माणको काम शुरु हुन लागेको जानकारी अध्यक्ष किशोर थापाले दिएका छन्।
वागमती स्नान
गएको नयाँ वर्षको पहिलो दिन वैशाख १ गते थापाले शहरी विकास मन्त्रालयको सचिवको हैसियतमा वागमती सफाइ अभियानका एकजना अगुवा मुख्य सचिव लिलामणी पौडेल र अन्य संगै गुहेश्वरी मन्दिर नजिकै वागमतीमा स्नान गरेका थिए।
वागमती पुरै सफा नभइसकेकोले उनीहरुको स्नानको त्यतिबेला कतिपयले खिल्ली उडाए।
तर अविचलित रहेका थापा, पौडेल र वागमती सफाइका अन्य अभियन्ताहरु हरेक शनिबार वागमती सफाइ अभियानमा जुटि नै रहेका छन्।

दुई साताअघि वर्षाको पानीको भेलले हेर्न लायक बनेको वागमतीको एक खण्डमा अध्यक्ष थापा लगायतका उच्च अधिकारीहरुले रबरका रङ्गीचङ्गी डुङ्गा (राफ्ट)मा सयर पनि गरे र देखाइदिए वागमतीमा सांच्चै ‘रिक्रिएसन्’ अर्थात मनोरञ्जनात्मक खेल वा सयर पनि गर्न संभव छ।
तर के त्यो बाह्रै महिना गर्न संभव होला?
चुनौती
वागमती सफाइ तथा व्यवस्थापनको जिम्मेवारी पाएका अधिकारीहरुको प्रमुख चुनौती त्यही हो: खुल्ला ढल बनेका वागमती र अन्य नदीहरुलाई बाह्रै महिना कञ्चन, सफा, सयर-योग्य र स्नान-योग्य बनाउने।
तर त्यो चुनौती स्थानीय समुदाय, नगरपालिका, गाविस, विभिन्न संघ-संस्था जस्ता सरोकारवालासँग हातेमालो नगरी पार नहोला।
सबै सरोकारवालाहरुसँग अनवरत सहकार्य विना चार वर्षमा वागमती र अन्य सहायक नदीहरुमा अविरल सफा एवं कञ्चन पानी बगाउने सपना साकार नहुन सक्छ।








