‘अधिकारी हत्याबारे अनुसन्धान करीब पुरा’

अधिकारी दम्पतिको जीवन रक्षा गर्न अधिकारकर्मीहरुले माग गर्दै आएका छन्

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन, अधिकारी दम्पतिको जीवन रक्षा गर्न अधिकारकर्मीहरुले माग गर्दै आएका छन्

गोर्खा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी अनुसन्धान निष्कर्ष नजिक पुगेको चितवन प्रहरीले जनाएको छ।

हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई जनाविरुद्ध छिट्टै मुद्दा चलाइने एक जना प्रहरी अधिकारीले बताए।

हत्यामा संलग्न भन्दै आरोप लगाइएका छबिलाल पौडेल र भिमसेन पौडेललाई प्रहरीले शुक्रबार काठमाडौं र चितवनमा पक्राउ गरेको थियो।

निष्कर्ष

द्वन्द्वकालमा भएको कृष्णप्रसाद अधिकारीको हत्याबारे गत भदौ पहिलो हप्तादेखि अनुसन्धान गरिरहेका चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले भने, ‘’अनुसन्धानलाई हामीले अब अन्तिम रुप दिन मात्र बाँकी छ।

पक्राउ गरिएका दुई जनासँग बयान लिई सरकारी वकिलको कार्यालयमार्फत मुद्दा चलाईनेछ।‘’

हत्याका मुख्य आरोपी हाल बेलायतमा बस्दै आएको प्रहरीले जनाएको छ।

यसअघि अन्य दुई अभियुक्तलाई पक्राउ गरे पनि प्रमाण जुटाउन नसकेको भन्दै प्रहरीले उनीहरुलाई मुद्दा दर्ता नगरी छोडेको थियो।

शुक्रबार पक्राउ परेका दुई जनाको बयान भने आईतबारदेखि लिइने कार्कीले बताए।

बयान

कार्कीले भने, ‘’आईतबार कार्यालय खुलेपछि उनीहरुसँग बयान लिन शुरु हुन्छ र त्यसपछि थप अनुसन्धान प्रक्रिया अघि बढाईनेछ।‘’

९ वर्षअघि चितवनमा हजुरआमा भेट्न जाँदा अपहरण गरी कृष्णको हत्या गरिएको थियो।

उनका आमाबुवा नन्दप्रसाद र गंगामाया अधिकारीले दोषीलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि नबढाउनञ्जेल अनसन नतोडने अडान लिँदै आएका छन्।

शुक्रबार प्रधानमन्त्री सुशील कोइराला र उपप्रधानमन्त्री बामदेव गौतम तथा पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, शेरबहादुर देउवा, प्रचण्ड र बाबुराम भट्टराई अस्पताल पुगेर अनसन तोड्न आग्रह गरेपनि उनीहरुले अनसन जारी राखेका छन्।