हरियो पुच्छ्रेताराः यसरी आकाशमा हुत्तिँदै अघि बढ्यो ५०,००० वर्षपछि पृथ्वीनजिकै आइपुगेको दुर्लभ खगोलीय पिण्ड
पोहोर पत्ता लागेको हरियो पुच्छ्रेतारा C/2022 E3 (ZTF) गत साता पृथ्वीको सबैभन्दा नजिकैको बिन्दुमा आइपुगेको थियो। पृथ्वीका विभिन्न स्थानबाट खाली आँखाले हेर्दा पनि उक्त दुर्लभ खगोलीय पिण्ड देखिएको थियो।
झन्डै ५०,००० वर्ष लगाएर सूर्यको परिक्रमा गर्ने क्रममा उक्त पुच्छ्रेताराले अहिले पृथ्वीनजिकै भएर अन्तरिक्षमा विचरण गरिरहेको छ।
इङ्ग्ल्यान्डको नटिङ्गमशरमा बस्ने जोर्ज चानले हरियो पुच्छ्रेताराको दृश्य आफ्नो घरपछाडिको बगैँचाबाट खिचेका छन्। तस्बिरहरूको संयोजनबाट उनले टाइमल्याप्स भिडिओ बनाएका छन्।
पुच्छ्रेतारामा के हुन्छ?
खगोलशास्त्रीहरू पुच्छ्रेतारालाई "बरफका मैला थुप्रा" पनि भन्छन्। बरफ, धुलो र चट्टान मिलेर पुच्छ्रेतारा बन्छ।
ती पदार्थको स्रोत हाम्रो सौर्यमण्डलको बाहिरी कुनामा हुने 'ऊर्ट क्लाउड' भनिने क्षेत्रको बरफिलो घेरा हो।
पुच्छ्रेताराको भित्री भागमा चट्टान, बरफ र धुलो हुन्छन्। भित्री भागलाई थप बरफ र धुलोको पातलो र ग्यासयुक्त आवरणले ढाकेको हुन्छ। त्यो आवरणलाई "कोमा" भनिन्छ।
सूर्यनजिकै पुग्दा पुच्छ्रेताराहरू पग्लिन्छन् र ग्यासको फोहोरा निस्किन्छ। सूर्यबाट आउने विकिरणका कारण तिनको सतहबाट धुलो उड्छ अनि बाहिरतिर फर्किएको धमिलो पुच्छर बन्छ।
विभिन्न किसिमले उत्पन्न हुने गुरुत्वाकर्षणका कारण ऊर्ट क्लाउडबाट उछिट्टिएर पुच्छ्रेताराहरू सौर्यमण्डलको भित्री भागतिर पुग्छन्। सूर्यबाट उत्पन्न हुने ताप बढी भएको ठाउँतिर पुग्दा तिनलाई देखिने सम्भावना बढ्छ।
पुच्छ्रेतारालाई धूमकेतु पनि भनिन्छ।
अनि यो पनि