नेपाल संस्कृति: गुल्मीको खुदोमा तिहारको अर्सा

अर्सा
    • Author, माधव नेपाल
    • Role, बुटवल

तिहारमा दिदी बहिनिले दाजु भाइलाई दिने अर्सा रोटी यो पर्वको एक मुख्य सगुन मानिन्छ।

अर्साको लागि प्रयोग गरिने मुख्य सामाग्री भनेको उखुको खुदो हो।

पश्चिम नेपालमा गुल्मीको खुदोलाई अर्सा रोटीको लागि लोकप्रिय खुदो मानिँदै आएको छ।

गुल्मी दिगामका नीलकण्ठ न्यौपानेले यस वर्ष करिब ५० लाख रुपैयाँको खुदो बिक्री गरिसकेका छन्।

मुख्य गरेर तिहारलाई लक्षित गरेर बजारमा ल्याइने खुदोको उत्पादन भने पुस देखि असार महिना सम्म गर्ने गरिन्छ।

फेरिएको प्रविधि

"पहिले पहिले गोरुलाई प्रयोग गरेर परम्परागत कोलमा उखु पेल्ने गरिन्थ्यो अहिले भने त्यो प्रचलन करिब हराई सकेको छ," न्यौपाने भन्छन्।

उनले थपे, "अहिले मेसिन प्रयोग गर्दा दिनको ४० क्विन्टल सम्म उखु पेल्न सकिन्छ जबकि परम्परागत कोलबाट बडीमा १० क्विन्टल मात्र उखु पेल्न सकिन्थ्यो।"

खुदो

न्यौपानेका अनुसार गुल्मीमा खुदो बनाउने काम करिब १७० वर्ष अगाडी देखि नै सुरु भएको मानिँदै आएको छ।

विक्रम सम्वत १९१० मा गुल्मीमा १३ जना मान्छेले बोकेर ल्याएर उखु पेल्ने काठको कोल स्थापना गरिएको भन्ने कुरा आफ्ना पूर्वजबाट सुनेको उनी बताउँछन्।

बजारमा देखिएको परिवर्तन

अहिले गुल्मीमा करिब १ हजार घरधुरी व्यावसायिक रूपमै खुदो तथा गुँड उत्पादनमा संलग्न रहेको पाइएको खुदोको व्यापारमा सहजीकरण गर्दै आएको पैचौ पसलका प्रबन्ध निर्देशक ध्रुव न्यौपानेले बताए।

"हामीले गुल्मीको खुदोलाई ब्रान्डिङ्ग गरेर बजारमा ल्याएका छौ," न्यौपाने भन्छन् "अहिले हाम्रै पसलबाट वार्षिक ६० देखि ७० लाख रुपियाँसम्म खुदो बिक्री हुँदै आएको छ।"

पहिले सडक यातायात नहुँदा भरिया र ढाक्रे मार्फत बागलुङ र पर्वतमा पुराएर विक्री गरिने गुल्मीको खुदोको बजार भने अहिले परिवर्तन भएको छ।

"पहिला पहिला भरियाहरूले यहाँको खुदो पहाड तर्फ लैजाने गर्थे भने अहिले खुदोको व्यापार बढी तराई तिर नै हुन्छ।"

खुदो

उखु किसान नीलकण्ठ न्यौपाने भन्छन् "हामीले २० लिटरका ग्यालेनमा खुदो बिक्री गर्ने गरेका छौ। ती खुदो कोसेलीको रूपमा देशभरीनै गएको देखिन्छ।"

सांस्कृतिक महत्त्व

संस्कृतिविद झपेन्द्र जीसीले सांस्कृतिक रूपमा पनि खुदोको महत्त्व धेरै पहिले देखि रहँदै आएको बताउँछन्।

"हामी सानै छदा देखि नै गुल्मीको खुदोलाई विशेष महत्त्व दिएको पाइन्थ्यो," जिसी भन्छन् "गुल्मीको उखु नै एक त अर्ग्यानिक मौलिक छ अर्को पक्ष उखु भनेको परम्परागत रूपमै नगदेवाली हो।"

"आधुनिक बजार नपुगेको समयमा पनि गुल्मीमा उखु नगदेवाली हुनुको मुख्य कारण तिहारसँग पनि जोडिएको हुनसक्छ।"

जिसी भन्छन्, "अर्सा रोटीको लागि चाहिने खुदो बेचबिखन हुने मुख्य समय नै तिहार हो। "