सत्यमोहन जोशी: शताब्दी पुरुषको शव अध्ययनका लागि 'सुरक्षित', नेपालमा शरीर दान गर्ने प्रक्रिया कस्तो छ?

सत्यमोहन जोशीको शव

तस्बिर स्रोत, RSS

संस्कृतिविद् सत्यमोहन जोशीको पार्थिव शरीरलाई चिकित्साशास्त्रका जिज्ञासु र विद्यार्थीले अध्ययन अनुसन्धान गर्न मिल्नेगरी ललितपुरको एउटा मेडिकल कलेजमा राखिएको बताइएको छ।

उनको "इच्छा अनुसार" तथा "परिवारका सदस्यहरूको अनुमतिमा" जोशीको शरीरलाई आफ्नो कलेजमा सुरक्षित रूपमा राखिएको किस्ट मेडिकल कलेजका अधिकारीले बताएको राससले जनाएको छ।

आफू जीवित छँदै शरीरदानको "इच्छा" गरेकाले उनको शवलाई अध्ययन प्रयोजनका लागि राखिएपछि कतिपयले नेपालमा शरीर दान कसरी गरिन्छ भन्नेबारे चासो राखेको पाइएको छ।

जानकारहरूका अनुसार नेपालमा अहिले कानुनी रूपमा शरीर दान गर्न मिल्ने व्यवस्था भए पनि त्यसको प्रोटोकल नबन्दा कतिपय जटिलताहरू अझै रहेको देखिन्छ।

जोशीको शरीर कहाँ र कसरी राखिन्छ?

किस्ट मेडिलक कजेलका निर्देशक प्राध्यापक डा. सुरज बज्राचार्यले जोशीको शरीररलाई उक्त कलेजमै सुरक्षित रूपमा राखिने राससलाई बताएका छन्।

उनले भनेका छन्, "अहिले जोशीको पार्थिव शरीरलाई नबिग्रिने हिसाबले रसायन र औषधि प्रयोग गरेर सुरक्षितरूपमा 'प्रिजर्भ' गरिएको छ।"

"उहाँको शरीरबाट चिकित्साप्रणाली अनुरूप कसरी ज्ञान र सीप लिन सकिन्छ, त्यो आर्जन गर्नेछौँ।"

उनले 'प्रिजर्भ कन्डिसन'मा "कति समय रहन्छ भन्ने अहिले भन्न नसकिने" बताएका छन्।

अस्पतालका निर्देशक बज्राचार्यले जोशीको शरीर अध्ययनका लागि अस्पतालको 'बेसिक साइन्स ल्याब' रहेको भवनमा राखिने राससलाई बताएका छन्।

सत्यमोहनलाई श्रद्धाञ्जली दिँदै विभिन्न व्यक्तिहरू

तस्बिर स्रोत, Rss

तस्बिरको क्याप्शन, सत्यमोहनलाई श्रद्धाञ्जली दिँदै विभिन्न व्यक्तिहरू

यद्यपि उनको शरीरलाई सर्वसाधरणले भने हेर्न पाउने छैनन् र चिकित्सा क्षेत्रका अनुसन्धानकर्ताले अनुमति लिएर मात्रै हेर्न र अध्ययन गर्न पाउनेछन्।

शरीरदानको कानुनी व्यवस्था

नेपालको मुलुकी देवानी (संहिता) ऐन, २०७४ ले कुनै पनि व्यक्तिले आफ्नो मृत्युपछि शव वा अङ्ग दान गर्न पाउने व्यवस्था गरेको छ।

उक्त ऐनको दफा ३८ को उपदफा (१) मा भनिएको छ, "कुनै पनि व्याक्तिले आफ्नो मृत्युपछि आफ्नो शव, शरीरको कुनै अङ्ग वा त्यसको कुनै अंश खास कामको लागि प्रयोग गर्न वा गराउन दान दिने गरी लिखित रुपमा इच्छा व्यक्त गर्न सक्नेछ।"

त्यस्तै उपदफा (२) मा, "उपददफा (१) बमोजिम इच्छा व्यक्त भएकोमा हकवालाले पनि मर्ने व्याक्तिको शव, शरीरको अङ्ग वा त्यसको अंशको प्रयोग मर्ने व्यक्तिको इच्छा बमोजिम गर्नुपर्नेछ," भनिएको छ।

तर दान गरिएको शरीर कुनै प्रयोजनका लागि प्रयोग हुन नसक्ने अवस्थामा त्यसलाई दाहसंस्कार गर्नुपर्ने व्यवस्था उक्त दफाको उपदफा (३) मा व्यवस्था गरिएको छ।

तर एकजना फोरेन्सिक विशेषज्ञ डा. हरिहर वस्ती "कानुन बनेपछि प्रोटोकल" नबन्दा अझै पनि कतिपय कुराहरूमा अन्योल कायम रहेको बताउँछन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, सगरमाथाबाट शव ल्याउन किन गाह्रो?

त्यसलाई अन्त्य गर्न सरकारले चाँडै प्रोटोकल बनाउनु पर्ने उनको सुझाव छ।

शरीरदान गर्न चाहने बढ्दै

मानव अङ्ग प्रत्यारोपण समन्वय समितिकी अध्यक्ष समेत रहेकी त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानकी डिन प्राध्यापक डा. दिव्या सिंह शाहका भनाइमा पछिल्ला वर्षहरूमा आफ्नो शरीर दान गर्न चाहनेको सङ्ख्या बढ्दै गएको छ।

उनी भन्छिन्, "शिक्षण अस्पतालमा हाम्रो अनाटमी विभागमा पहिलेदेखि नै धेरैले शरीर दान गर्दै आउनु भएको छ। पछिल्ला वर्षहरूमा जीवितै हुँदा त्यस्तो इच्छा गर्नेहरूको सङ्ख्या बढिरहेको छ।"

"त्यसका लागि जिउँदो छँदा नै एउटा पत्र लेख्ने र कसैको रोहबरमा एउटा पत्र बनाउने भयो भने हामी उक्त शरीररलाई ल्याएर हामी राख्छौँ र चिकित्साशास्त्र अध्ययनका लागि प्रयोग हुन्छ।"

"दान गरिने शरीर मुख्य रूपमा प्रयोग हुने भनेको चिकित्साशास्त्र अध्ययनका लागि नै हो।"

उनी मानिसहरूको मृत्यु भइसकेपछि शरीर दान गर्नेहरूले अङ्ग प्रत्यारोपण गर्नका लागि अनुमति दिइएको वा इच्छाइएको अवस्थामा मात्र गर्न सकिने बताउँछिन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कसरी गर्ने आँखादान

"यो शरीर दान र अङ्ग दानका लागि छुट्टाछुट्टै प्रक्रियाहरू छन्। अङ्गदानकै लागि शरीरदान गरिएको हो वा अध्ययनका लागि गरिएको भन्ने कुरा खुलाइएको अवस्थामा त्यसै अनुसार प्रयोग हुन्छ।"

उनका भनाइमा अङ्गदानको इच्छा गर्नेहरूको पनि शरीरमा रक्त सञ्चार रहेको तर मृत्यु निश्चित भएको अवस्थामा मात्र भित्री अङ्गहरू अन्य व्यक्तिमा प्रत्यारोपण गर्न मिल्नेगरी निकाल्न सकिन्छ।

तर आँखा, छाला र तन्तुहरू भने पछि पनि निकाल्न सकिने उनले बताइन्।

"शरीर दान गरेकाहरूको अङ्ग अन्य व्यक्तिमा प्रयोग गर्नका लागि ती अङ्गहरू सुरक्षित भण्डारण गर्ने ब्याङ्क पनि हुन जरुरी छ। अहिले आँखाको छ तर अरुको छैन। त्यो व्यवस्था गरेपछि मात्र सहज हुन्छ।"

शरीरदान कसरी गर्न सकिन्छ?

शरीर दान गर्नका लागि इच्छाएको व्यक्तिले कुनै अस्पताल वा मेडिकल कलेजमा गएर त्यस्तो इच्छापत्र गर्न सक्छन्।

त्यसका लागि आफ्नो परिवारको वा आफन्तको रोहबर पनि आवश्यक पर्ने जानकारहरूको भनाइ छ।

तर अझै प्रोटोकल नबनेकाले कतिले त्यस्तो दानको इच्छा गरेका छन् भन्ने यकिन विवरण पाउन र कतिपय अवस्थामा दान गर्न चाहनेले सहजै कागज बनाउन पनि नपाउने अवस्था रहेको विज्ञहरूको भनाइ छ।

फोरेन्सिक विज्ञ डा. वस्ती "पहिलेको तुलनामा मानिसहरूमा शरीर दान गर्नु हुँदैन भन्ने अन्धविश्वास कम हुँदै गएको" बताउँछन्।

तर प्रोटोकल अभावमा रहेका केही समस्याहरू समाधान गर्न सरकारले प्रोटोकल बनाउनुपर्ने उनको मत छ।

"शरीरदान गर्नु भनेको चिकित्साशास्त्रको अध्ययनका लागि मात्र सहयोग गर्नु होइन। अङ्ग चाहिएका व्यक्तिलाई अङ्ग दिएर नयाँ जीवन पनि दिनु हो," उनले भने।

"यस्तो कुरा बुझेर अङ्गदान गर्नेहरू बढिरहेका भए पनि अझै कतिपयमा अन्धविश्वास कायम देखिएको छ।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, मृत्युपछि शरीरको संरक्षण किन?