नेपाल चुनाव : रुपन्देहीको चुनावमा देखिए अनौठा अभ्यास

उम्मेदवारी मनोनयन दर्ता प्रक्रिया

तस्बिर स्रोत, RSS

    • Author, माधव नेपाल
    • Role, बुटवल, बीबीसी न्यूज नेपाली

चुनाव लागेसँगै अब विभिन्न ठाउँमा रोचक घटनाक्रम देखिनेछन्।

तीमध्ये रुपन्देहीको पाँचवटा क्षेत्रमा देखिएका केही विशिष्ट पक्षबारे यहाँ चर्चा गरिएको छ।

क्षेत्र १ - घनश्यामको उम्मेदवारी आकस्मिक कि पूर्व तयारीसहित?

सत्ता गठबन्धनको भागबन्डामा माओवादी केन्द्रको भागमा परेको बताइने यो क्षेत्रमा नेकपा एमालेबाट विद्रोह गरेका घनश्याम भुसालले उम्मेदवारी दिएका छन्।

भुसालको उम्मेदवारी आकस्मिक थियो वा गठबन्धनको पूर्व तयारी थियो भन्नेमा कसैले पनि मुख नखोले पनि स्वतन्त्र रूपमा उम्मेदवारी दिएको बताउने भुसाललाई सत्ता गठबन्धनले समर्थन गरेको छ।

सो क्षेत्रमा भुसालका प्रतिद्वन्द्वी नेकपा एमालेका नेता छविलाल विश्वकर्मा हुन्।

लामो समयसम्म नेकपा एमालेको महत्त्वपूर्ण जिम्मेवारीमा रहँदै आएका भुसाल र विश्वकर्माको जन्मस्थल पनि एउटै जिल्ला स्याङ्जा हो।

क्षेत्र २ - पौडेललाई रोक्ने प्रयास?

यो क्षेत्रमा लामो समयदेखि नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले जित्दै आएका छन्।

तर उनी निकट एक नेताका अनुसार यो चुनावमा पौडेलमाथि केही यस्ता दबाव आइलागेका छन् जसले उनलाई अहिले अप्ठेरोमा पारिरहेको छ।

ती नेताका अनुसार पार्टी अध्यक्ष केपी ओलीपछि नेतृत्वको दाबेदार मानिएका विष्णु पौडेललाई रोक्न यो क्षेत्रमा प्रत्यक्ष अप्रत्यक्ष केही प्रयासहरू पनि भएको देखिएको छ।

जसका कारण पार्टीका केही भोट घट्न सक्ने आकलनका साथ पौडेल चुनावी प्रचारमा लागेको बताइन्छ।

यो क्षेत्रमा पौडेललाई नेकपा समाजवादीका युवा नेता राजु गुरुङले चुनौती दिएका छन् भने स्वतन्त्र उम्मेदवार डा निकोलस भुसाल पनि चुनावी मैदानमा छन्।

क्षेत्र ३ - खाणः कहिले हलो कहिले रुख

विचार र सिद्धान्तबिनाको राजनीति हुँदैन भनेर बारम्बार भन्ने राजनीतिक दलका नेताहरूले व्यवहारमा सिद्धान्त र विचारविहीन राजनीतिक अभ्यास कसरी गर्छन् भन्ने उदाहरण हेर्न रुपन्देहीको यो क्षेत्रलाई पर्याप्त मान्न सकिने तर्क गर्छन् यहाँका केही राजनीतिक विश्लेषकहरू।

यो क्षेत्रमा एमाले र जनता समाजवादीको समर्थनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहोराले उम्मेदवारी दिएका छन्।

उनका प्रतिद्वन्द्वी हुन् नेपाली कांग्रेसका नेता तथा वर्तमान गृहमन्त्री बालकृष्ण खाण।

खाण उनै नेता हुन जसले २०७४ सालको निर्वाचनमा आफू समानुपातिकमा बसेर राप्रपाका दीपक बोहोराको लागि हलो चिन्हमा भोट मागेका थिए।

त्यो चुनावमा खाणले हलोलाई जिताउन नसके पनि यस पटकको चुनावमा त्यही हलो अहिले उनको लागि टाउको दुखाइको विषय बनेको छ।

उम्मेदवारी मनोनयन दर्ता प्रक्रिया

तस्बिर स्रोत, RSS

क्षेत्र ४ - एक्लाएक्लै प्रतिस्पर्धा

पछिल्लो पटक जनता समाजवादी पार्टी सत्ता गठवन्धनबाट बाहिरिएपछि गठबन्धनले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीसँग तालमेल गरेको थियो।

तर सो सहमतिअनुसार अन्यत्र धेरै क्षेत्रमा तालमेल भए पनि रुपन्देहीको क्षेत्र नं ४ मा भने हुन सकेन।

यो क्षेत्रमा नेपाली कांग्रेसबाट प्रमोद यादवले उम्मेदवारी दिएका छन् भने लोसपावाट पुराना नेता सर्वेन्द्रनाथ शुक्लले उम्मेदवारी दिएका छन्।

यी दुई नेता एक्लाएक्लै लड्दा सत्तारुढ दल माओवादी केन्द्रले कुन नेतालाई समर्थन गर्छ भन्नेमा अझै केही निश्चय छैन।

क्षेत्र ५ - न सांसद न उम्मेदवार

उम्मेदवारीको क्रममा यो क्षेत्रले एकजना नेताको राष्ट्रिय सभाको सांसद पद नै खाइदिएको छ।

नेपाली कांग्रेसका भरत शाहले उम्मेदवारी दिएको यो क्षेत्रमा नेकपा एमालेका वासुदेव घिमिरेले उम्मेदवारी दिएका थिए।

तर घिमिरेले उम्मेदवारी दर्ता गराएर निर्वाचन कार्यालयबाट निस्कँदै गर्दा पार्टी अध्यक्ष केपी ओलीबाट टिकट लिएर पुगे एमालेका अर्का नेता खिमलाल भट्टराई।

भट्टराई राष्ट्रियसभा सदस्यबाट राजीनामा गरेर उम्मेदवारी दिन त्यहाँ पुगेका थिए।

एमालेले भट्टराई नै पार्टीको आधिकारिक उम्मेदवार भनेर केही घण्टा प्रचार पनि गर्‍यो तर दोस्रो दिन निर्वाचन आयोगले पहिले उम्मेदवारी दर्ता गर्ने घिमिरेलाई नै मान्यता दिएपछि भट्टराई न सांसद रहे न चुनाव नै लड्न पाए।

एमालेका एकजना नेताका अनुसार यो क्षेत्रमा उपाध्यक्ष विष्णु पौडेलको जोडबलमा घिमिरेलाई टिकट दिइएको थियो तर महासचिव शङ्कर पोखरेललाई रिझाएर भट्टराईले उनको उम्मेदवारी रोक्ने प्रयास गरे पनि निर्वाचन आयोगका कारण उनी सफल हुन सकेनन्।

अर्घाखाँचीमा चाहिँ सबै उम्मेदवार एउटै वडाका

लुम्बिनी प्रदेशकै रुपन्देही नजिकैको जिल्ला अर्घाखाँचीबाट प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवारी दिने राजनीतिक दलका प्रायः सबै उम्मेदवारहरू एउटै पालिकाका रहेको पाइएको छ।

एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा नेकपा एमालेबाट पूर्वमन्त्री टोपबहादुर रायमाझी र नेपाली कांग्रेसबाट उपसभामुख पुष्पा भुसालले प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारीको मनोनयनपत्र दर्ता गराएका छन्।

जिल्ला निर्वाचन अधिकारी सुरेश भण्डारीका अनुसार रायमाझी र भुसाल दुवैजना सन्धिखर्क नगरपालिका वडा नं ९ अर्घाका स्थायी बासिन्दा हुन।

त्यस्तै प्रदेशसभाको लागि उम्मेदवारी दर्ता गराएका एमालेका चेतनारायण आचार्य पनि अर्घाका हुन भने गठबन्धनबाट प्रदेशसभामा उम्मेदवारी दिएका माओवादी केन्द्रका ठाकुर विक र नेपाली कांग्रेसका कमल भुसाल पनि अर्घाका नै हुन्।

प्रदेश सभा ख मा उम्मेदवारी दिएका एमालेका रामजीप्रसाद घिमिरे मात्र उक्त वडा बाहिरका रहेको पाइएको छ। घिमिरे पाणिनि गाउँपालिकाका स्थायी बासिन्दा हुन्।