भारत केबीसी: केबीसीका पहिलो करोडपति हर्षवर्धन नवाथे अहिले कहाँ छन् के गर्दै छन्

हर्षवर्धन

तस्बिर स्रोत, @Harshvardhan

सन् २००० अभिनेता अमिताभ बच्चनका लागि विशेष वर्ष थियो।

यो त्यही साल थियो जब अमिताभ बच्चन पहिलोपटक सानो पर्दाको शो 'कौन बनेगा करोडपति' का सञ्चालक बनेका थिए।

यस कार्यक्रमले अमिताभ बच्चनलाई सानो पर्दाका ठूला नायक मात्र बनाएको होइन कि केही आम सर्वसाधारण मानिसलाई 'करोडपति' बनाएर तिनको भाग्य पनि बदल्यो।

यस कार्यक्रममा सबभन्दा पहिला १ करोड जितेका थिए हर्षवर्धन नवाथेले।

उनले सन् २००० मा यो इनामको राशि जितेका थिए। त्यसो भएको अब पूरा २२ वर्ष भइसक्यो।

अहिले हर्षवर्धन नवाथे कहाँ छन्, के गरिरहेका छन्, उनको जिन्दगीमा के के परिवर्तन भएको छ? यसबारे आज मानिसहरूलाई धेरै कम मात्र थाहा छ। उनको २२ वर्षको यात्रामाथि एक रिपोर्ट:

हर्षवर्धन हिजोआज मुम्बईमा बस्छन्। उनको परिवारमा उनकी पत्नी र दुई छोरा छन्।

हर्षवर्धन नवाथेले बीबीसी हिन्दीसँग भएको विशेष कुराकानीमा भने, "यो २२ वर्षमा मेरो जिन्दगी धेरै बदलिएको छ। जब मैले १ करोडको राशि जितेँ त्यसबेला म एक विद्यार्थी थिएँ। बिहे भएको थिएन। बिस्तारै म कर्पोरेट करिअरमा गएँ। ठूलो क्षेत्रमा काम गर्न मन थियो त्यहीँ काम गरेँ। फेरि विवाह भयो र बच्चा भए।

हर्षवर्धन

तस्बिर स्रोत, @Harshvardhan

तस्बिरको क्याप्शन, कलाकार पत्नी सारिका र छोराको साथ हर्षवर्धन नवाथे

"गृहस्थ आश्रममा एकपटक घुसेपछि एकपछि अर्को कडी जोडिँदै जान्छ र गृहस्थीको साइकल अगाडि बढ्दै जान्छ। मसँग पनि त्यस्तै भयो। म आज एक ठूलो कम्पनीसँग जोडिएको छु। मेरा माता पिता म सँगै सोही भवनमा बस्नुहुन्छ। म उहाँहरूको रेखदेख गरिरहेको छु। मेरी पत्नी मराठी टीभीमा नायिका छन्। उनको नाम सारिका हो। मेरा दुई छोरा छन्। एक १४ वर्षका अर्का १० वर्षका। म मुम्बईमा तीन वर्षदेखि घरबाटै काम गरिरहेको छु।"

करोडपति बनेपछि जिन्दगी कसरी बदलियो? यसबारे हर्षवर्धन भन्छन्, "मानिसहरूले मलाई हेर्ने दृष्टिकोण नै बदलियो। पैसा पाइयो। त्यो पैसाले मैले राम्रो ठाउँमा लगानी गरेँ। मेरो पढाइमा पैसा लगाएँ र पढ्नकै लागि विदेश पनि गएँ।

"कैयौँ राम्रा र नराम्रा मानिस भेटिए जसले लगानी गर्न सुझाव दिए। कैयौँ ठाउँमा मलाई बोलाए मेरो स्वागत गरे। म स्कूल कलेजमा प्रमुख अतिथि बनेर गएँ। मलाई मोडलिङ र अभिनय गर्न प्रस्ताव पनि आयो। मलाई त्यसबखत जे सही लाग्यो त्यो गरेँ।

यद्यपि जे भयो सबै राम्रो भयो भन्ने पनि होइन।

हर्षवर्धन भन्छन्, "यस्तो समयमा कोही तपाईँको विरोधी पनि बन्छन् किनभने उनीहरूलाई लाग्छ कि यसले पायो मैले पाइनँ। यस्ता सब अनुभव मलाई पनि भयो।"

उनले भने, "त्यसबेला केही त्यस्ता मानिस पनि मैले भेटेँ जसले मलाई केही नराम्रो हुन सक्छ भन्ठान्थे। उनीहरूलाई मैलाई दुनियाँदारीबारे केही थाहा छैन भन्ठान्थे। सबैले आ आफ्ना सल्लाह सुझाव लिएर आउँथे र भन्थे, "यसमा लगानी गर्नुहोस् अहिले तपाईँसँग पैसा छ। यो गर्नुस् त्यो गर्नुस्।" त्यसैले मलाई लाग्छ कि सबै जनालाई यस्तै समय भोग्नुपर्ने स्थिति आउँछ र त्यसले तपाईँलाई केही न केही नयाँ सिकाउँछ। यस्तै पाठ सिक्दै अगाडि बढ्दै जाँदा र भगवानको दयाबाट अहिलेसम्म त सबै राम्रै भइरहेको छ।"

आईएएस बन्न नपाउँदाको दुख

'कौन बनेगा करोडपति' ले हर्षवर्धनलाई सफलता नाम र पैसा प्राप्त भयो तर त्यसैले उनको सबैभन्दा ठूलो सपनाबाट टाढा पनि बनाइदियो।

हर्षवर्धनलाई आज आफू आईएएस (भारतको सरकारी अफिसर) अफिसर बन्न नसकेकोमा दुख छ र त्यसका लागि केबीसीबाट प्राप्त प्रचार प्रसारलाई उनी केही हदसम्म जिम्मेवार ठान्छन्।

हर्षवर्धन को परिवार

तस्बिर स्रोत, @Harshvardhan

उनी भन्छन्, "म त्यसबेला आईएएसको पढाई गरिरहेको थिएँ। मेरो तयारी चरममा थियो। यदि शो हुँदैनथ्यो त मैले शायद आईएएस को परीक्षा पास गरेको हुन्थेँ। आईएएस बन्नु नै त्यसअघि मेरो जीवनको सबभन्दा ठूलो सपना थियो।"

तर केबीसीमा १ करोड जितेकाले आईएएस बन्न नपाएको दुख त केही कम भएको उनी मान्छन्।

"जिन्दगीले केही लियो भने केही न केही जरुर दियो पनि। आईएएस बन्ने मेरो सपना जरुर टाढा भयो तर मलाई जे प्राप्त भयो त्यो पनि सम्हाल्न जरुरी थियो। आफ्नो सफलताको बहावलाई रोक्न बहुत मुस्किल हुन्छ। आफैमा संयम राखेर सफलता र पैसा देखेर आफैँलाई भुल्न भने हुँदैन भन्ने कुरा सम्झन जरुरी छ।

विवाह, परिवार र बच्चा

हर्षवर्धन को विवाह मराठी अभिनेत्री सारिकासँग भयो। उनीहरूको विवाह भएको १६ वर्ष भइसकेको छ। उनीहरूको मागी विवाह भएको थियो।

सारिका भन्छिन्, ''जब मेरो विवाह हर्षवर्धनसँग भइरहेको छ भन्ने मानिसहरूलाई थाहा भयो उनीहरूको मलाई हेर्ने दृष्टिकोण पनि बदलियो। मलाई केही नराम्रो अनुभव पनि भए।

"जब कुनै प्रोड्यूसरसँग मैले चेक लिनु पर्थ्यो त्यसबेला उनी मलाई म्याडम अब तपाईँको बिहे त केबीसीका विजेतासँग भएको छ। अहिले किन तपाईँले काम गर्नु पर्‍यो र? भन्थे

सारिकाले आफ्नो जीवनमा त्यसलाई एक प्रकारको नकारात्मक असरका रूपमा पनि हेर्थिन्। उनी भन्छिन् - "मानिसहरू मेरो छुट्टै व्यवसाय छ भन्ने पनि बुझ्दैनथे । म एक व्यावसायिक व्यक्ति हुँ। मलाई त्यस्तो अनुभव थुप्रै पटक भएको छ।"

हर्षवर्धन एक होइन दुई पटक केबीसी पुगे

केबीसीको नियम अनुसार एक पटक केबीसी गएर जितेपछि दोस्रोपटक हट सिटमा बस्ने मौका मिल्दैन। तर हर्षवर्धन दुईपटक केबीसी पुगेका छन्। त्यसबारे धेरै कम मानिसलाई थाहा छ।

पहिलो पटक केबीसीको पहिलो सिजनमा हर्षवर्धनले एक करोड जितेका थिए। दोस्रो पटक दोस्रो सिजनमा उनलाई सेलिब्रिटी पाहुनाका रूपमा बोलाइएको थियो। त्यसबेला उनले २५ लाख रुपैयाँ जितेका थिए र त्यसलाई परोपकारी कामका लागि दिएका थिए।

उनलाई थाहा छ आफूलाई तेस्रो मौका मिल्दैन भनेर तर उनको चाहना छ कि शो चलिरह्यो भने एक दिन उनका ठूलो छोरा जरुर कोसिस गर्नेछन्।

सेलिब्रिटी बन्नुको नोक्सानी

अमिताभ बच्चनको साथमा हर्षवर्धन नवाथे

तस्बिर स्रोत, @Harshavardhan

तस्बिरको क्याप्शन, अमिताभ बच्चनको साथमा हर्षवर्धन नवाथे

यो २२ वर्षमा हर्षवर्धन र उनको परिवार धेरै नै झुटो खबरका सिकार बनेका छन्।

अढाइ साल पहिले हर्षवर्धनले एक ठूलो अखबारलाई अन्तरवार्ता दिँदै भनेका थिए कि उनी एउटा कम्पनी छोडेर अर्को कम्पनी गइरहेका छन्। तर अन्तर्वार्तामा उनले नयाँ कम्पनीको नाम पनि बताएका थिएनन् र कम्पनी जाने मिति पनि खुलाएका थिएनन्।

त्यही अन्तर्वार्ता हेरेर कुनै अर्को अखबारले 'हर्षवर्धनसँग दोस्रो नोकरी छैन र नयाँ जागिर खोजिरहेका छन् र उनको पैसा खत्तम भएको छ' भनेर लेखिदियो।

सारिका भन्छिन्, "हर्षवर्धन सोसल मिडियाबाट टाढा रहन्छन्। तर म त निकै सक्रिय छु। कसैले आफ्नो बारेमा गरेको सकारात्मक कुरालाई सबै कुरा खत्तम भएको रूपमा प्रस्तुत गर्नु अचम्म छ।

"त्यसको असर कस्तो हुन्छ भने नातेदारहरू फोन गर्न थाल्छन्। बच्चाहरूसँग विद्यालयमा शिक्षकहरूले घरमा सबै ठीक छ भनेर सोध्छन्। अनि हामीले सफाइ दिनु पर्छ। तर शायद अब परिवारलाई पनि त्यसको बानी परिसक्यो।"