राजा चार्ल्स तृतीयले सामना गर्नुपर्ने चुनौतीहरू के हुन सक्छन्?

तस्बिर स्रोत, Getty Images
- Author, फर्नान्डो डुवार्टे
- Role, बीबीसी विश्व सेवा
कागजी प्रक्रियामा केही रूपान्तरणहरू ब्रिटिश राजतन्त्र उत्तराधिकार हस्तान्तरण जत्तिकै सहज देखिन्छन्। जस्तै, महारानी एलिजाबेथ द्वितीयाको निधनको ४८ घण्टा नबित्दै राजा चार्ल्स तृतीयलाई आधिकारिक रूपमा ब्रिटेनको नयाँ राजा घोषणा गरियो।
तर कुराहरू देखिए जति सरल छैनन्। यद्यपि: चार्ल्सले यूके र त्यहाँको राजपरिवारको लागि निकै चुनौतीपूर्ण समयमा राज्यारोहण गरेको बताइन्छ।
बीबीसीले अन्तर्वार्ता लिएका इतिहासकारहरूले नयाँ राजाले "अभूतपूर्व चुनौतीहरू"को सामना गर्नु पर्ने ठानेका छन् जसले उनको शासनकाल राम्रो वा नराम्रो भन्नेबारे निर्धारणबारे गर्ने बताइन्छ।
ऊर्जा सङ्कटका कारण देशमा परेको असरलाई सम्बोधन गर्नेदेखि आफ्नी दिवङ्गत आमाको ७० वर्ष लामो शासनपछि राजतन्त्रप्रति बदलिँदो धारणाहरूको सामना गर्नुपर्ने समय चार्ल्स तृतीयको लागि परीक्षणको घडी हो।
यहाँ केही मुख्य मुद्दाहरू समेटिएका छन् जसमा नयाँ राजाको ध्यानाकर्षण आवश्यक हुनसक्छ।
एक 'व्यावहारिक' राजा?
युक्रेन युद्धपश्चात् देखिएको ऊर्जाको मूल्य वृद्धिका कारण ब्रिटेनका लाखौँ परिवारले यस जाडोमा इन्धन अभावको सामना गर्नु पर्नेछ। सबैभन्दा निराशाजनक पूर्वानुमानका अनुसार चार करोड पचास लाख मानिसहरू, अर्थात् देशको दुई तिहाइ जनसङ्ख्याले बढेको ऊर्जा खर्च तिर्न सङ्घर्ष गर्नेछन्।

तस्बिर स्रोत, Getty Images
यस्तो परिदृश्यले ब्रिटिश राजपरिवारको अर्थ प्रशासनलाई साबिकभन्दा कडा निरीक्षणमा राख्ने सम्भावना रहन्छ। अझ वास्तवमा युक्रेन युद्धभन्दा पहिले ब्रिटिश सञ्चारमाध्यमहरूमा यस्तो हल्ला फैलिएको थियो कि, प्रिन्स अफ वेल्सले निकै भव्य र खर्चालु राज्यारोहण कार्यक्रम कटौती गर्न इच्छा देखाएका थिए।
द डेली टेलिग्राफ पत्रिकाले सेप्टेम्बर १३ मा गरेको अड्कल अनुसार सन् १९५३ मा महारानीको राज्यारोहण पश्चात् भव्य र खर्चालु शैलीको अन्त्य हुनेछ। उक्त समारोह पहिलोपटक टिभीमा प्रत्यक्ष प्रसारण गरिएको पहिलो राज्यारोहण थियो।
शाही स्रोतहरूलाई उद्धृत गर्दै उक्त पत्रिकाले जनाएको छ- चार्ल्स तृतीयाको राज्यारोहण आगामी वर्षको जुन महिना यता नहुने र तुलनात्मक रूपमा छोटो र मितव्ययी हुनेछ।
चार्ल्स तृतीयाको राज्यारोहण यस अर्थमा महत्त्वपूर्ण हुनेछ कि यसले ब्रिटिश समाजको बहुसंस्कृति र विविधतालाई प्रतिबिम्बित गर्नेछ।
चार्ल्सले यसअघि कार्यभार कटौती भएको राजसंस्थाबारे आफ्नो इच्छा जाहेर गरेका थिए।
जसअनुसार कार्यकारी राज परिवारमा सीमित व्यक्तिको समूह हुनेछ जसमा राजा, क्वीन कन्सोर्ट कमिला, राजकुमार विलियम र उनकी पत्नी क्याथरिन केन्द्रमा हुनेछन्।
"हामीले धेरै कुराहरू कटौती भएको देख्ने सम्भावना अधिक छ। विशेष गरी राज्यारोहणको खर्च," शाही इतिहासकार केली स्वाबले बीबीसीलाई भनिन्।
"यस कठिन परिस्थितिमा देश कुन अवस्थामा गुज्रिरहेको छ भन्नेबारे राजपरिवार जानकार हुनुपर्ने देखिन्छ," उनले थपिन्।
शाही परिवारको वित्तीय मामला निकै नै जटिल विषय हो र यो विषय प्राय राजसंस्था विरोधी टिप्पणीहरूको सधैँ केन्द्रमा रहन्छ। राजपरिवारको आर्थिक स्रोत करदाताहरूले वार्षिक रूपमा भुक्तानी गर्ने 'सोभेरेन ग्रान्ट'मार्फत् आउँछ।
सन् २०२१-२०२२ को लागि उक्त अनुदान रकम ९.९८ करोड अमेरिकी डलर तय गरिएको थियो। त्यो भनेको औसतमा हेर्दा यो रकम यूकेमा बसोबास गर्ने प्रतिव्यक्ति १.४९ डलर हुन आउँछ। तर यस रकममा शाही परिवारको सदस्यहरूको सुरक्षा खर्चमा लाग्ने भारी रकम समाविष्ट छैन।
घट्दो प्रतिष्ठा

तस्बिर स्रोत, Getty Images
ब्रिटिश राजसंस्था प्रतिको समर्थन विगत ३० वर्ष यताकै न्यूनतम विन्दुमा छ। यस तथ्य ब्रिटिश सोसल एटिच्युड सर्भे नामक सर्वेक्षणले उजागर गरेको थियो जसले नियमित रूपमा ब्रिटिश नागरिकको राजसंस्थाप्रतिको भावना मापन गर्छ।
सन् २०२१ मा प्रकाशित सर्वेक्षणको पछिल्लो संस्करण अनुसार ५५ प्रतिशत ब्रिटिश नागरिकहरूले राजतन्त्र हुनु "निकै महत्त्वपूर्ण" वा "महत्त्वपूर्ण" भएको बताएका थिए। त्यसअघिका वर्षहरूमा उक्त धारणा ६० देखि ७० प्रतिशतको बीचमा हुने गर्थ्यो।
यसै वर्षको मे महिनामा जनताको प्रिय राजपरिवारका व्यक्तित्व सूचीमा चार्ल्स तेस्रो स्थानमा आएका थिए। उनी महारानी एलिजाबेथ र आफ्ना जेठा छोरा राजकुमार विलियमपछिको स्थानमा थिए। महारानी एलिजावेथ द्वितीयाको निधनपछि गरिएको मतदानमा नयाँ राजाप्रति जनसमर्थन बढेको देखिन्छ। यद्यपि, शाही प्रतिष्ठा पहिलेकै अवस्थामा ल्याउन चार्ल्स तृतीयले निकै कामहरू गर्नुपर्ने सङ्केत प्रशस्त छन्।
"राजा चार्ल्स तृतीयको प्रमुख चुनौतीहरूमध्ये एक राजतन्त्रलाई युवापुस्ता माझ कसरी आकर्षक पार्ने भन्ने पनि हो," शाही इतिहासविद् रिचर्ड फिड्जविलियम्सले भने।
फिड्जविलसयम्सको धारणा उल्लेखित सर्वेक्षणको नतिजासँग पनि मिल्दो छ जसअनुसार सन् २०२१ मा १८ देखि ३४ वर्ष उमेर समूहका कुल जनसङ्ख्याको १४ प्रतिशत मानिसहरूले ब्रिटेनमा राजतन्त्र हुनु "निकै महत्त्वपूर्ण" रहेको ठानेका थिए, जबकि उक्त अनुपात ५५ वर्ष नाघेकाहरूको हकमा ४४ प्रतिशत थियो।
राजतन्त्र विरोधी समूह रिपब्लिकका लागि गत मेमा लिइएको युगभ नामक जनमत सर्वेक्षणका अनुसार २७ प्रतिशत जनसङ्ख्याले राजतन्त्र पूर्ण रूपमा निर्मूल हुनुपर्ने पक्षमा मत दिए। उक्त अनुपात यसअघिको १५ प्रतिशतको तुलनामा उल्लेख्य वृद्धि हो। यस शताब्दीभर राजतन्त्रको विपक्षमा औसत रूपमा १५ प्रतिशत जनसङ्ख्या रहेका छन्। साथै युवापुस्तामा राजसंस्था प्रतिको असन्तुष्टि निकै उच्च मापन गरिएको थियो।
केली स्वाबका अनुसार "१९५२ मा एलिजाबेथ महारानी बनेपश्चात् निकै परिवर्तनहरू भएका छन्।" विशिष्ट रूपमा उनी पछिल्ला केही दिनहरूमा देखिएको राजतन्त्र विरोधी प्रदर्शनहरूप्रति सङ्केत गर्छिन्।
"अहिले राजतन्त्रलाई लिएर निकै कम सम्मान छ र राजपरिवारको निरीक्षणमा धेरै चासो छ," उनले भनिन्।
"यी त्यस्ता कुरा हुन् जुन राजा चार्ल्सले मनन गर्नु पर्नेछ।"
'गुनासो पनि नगर्नु, स्पष्टीकरण पनि नदिनु'

तस्बिर स्रोत, Getty Images
राजा चार्ल्स तृतीय यूकेको राज्य प्रमुख हुन्। तर ब्रिटिश संवैधानिक राजतन्त्र अनुसार राजामानिहीत सार्वभौम शक्ति धेरैजसो साङ्केतिक र औपचारिक मात्र छन्। त्यसैकारण शाही परिवारका सदस्यहरू राजनैतिक रूपमा तटस्थ रहनु पर्ने अपेक्षा गरिन्छ।
दिवङ्गत महारानीले "कहिल्यै गुनासो नगर्नु, कहिल्यै स्पष्टीकरण नदिनु" भन्ने भनाइमा विश्वास गरेका कारण उनी निकै संयमित देखिएको धेरैले ठानेका छन्।
यति भन्दै गर्दा चार्ल्सले विगतमा आफ्ना लागि चासो राख्ने मुद्दाहरूमा बोल्ने गर्थे। सन् २०१५ मा उनले सरकारी मन्त्रीहरूलाई सैन्य बलको आर्थिक पाटोदेखि आयुर्वेदिक औषधिसम्मको मुद्दाहरूमा आफ्नो चिन्ता व्यक्त गर्दै दशौँ चिठ्ठीहरू लेखेको खुलासा भएको थियो।
के उनको व्यवहार परिवर्तन होला? अग्रणी संवैधानिक विज्ञ प्राध्यापक भर्नन बोगडानोर उनको शैली परिवर्तन हुनेमा विश्वास गर्छन्।
"चार्ल्सलाई आफ्नो शैली परिवर्तन हुनु पर्छ भन्नेमा प्रारम्भिक दिन देखि नै ज्ञान छ। जनताले अभियान केन्द्रित राजा कदापि चाहँदैनन्," प्राध्यापक बोगडानोरले भने।
सेप्टेम्बर १२ मा संसद्का सदस्यहरूलाई सम्बोधन गर्ने क्रममा नयाँ चुनिएका राजाले एक समायोजित दृष्टिकोणको सङ्केतहरू देखाए। र साथै केही चासोहरूमा अब उप्रान्त आफूले निरन्तरता दिन नसक्ने भनेर स्वीकार समेत गरे।
राष्ट्रमण्डल र औपनिवेशिक विरासत

तस्बिर स्रोत, Getty Images
आफ्नी आमाको निधनपछि राजा चार्ल्स तृतीय राष्ट्रमण्डलको प्रमुख पनि भएका छन्, जुन ५६ जटा राष्ट्रहरूको राजनैतिक सङ्घ हो। उक्त सङ्घमा प्राय पूर्व ब्रिटिश उपनिवेशहरू समाविष्ट छन्। यसका अतिरिक्त उनी यूकेसँगै १४ वटा राष्ट्रहरूका समेत प्रमुख हुन् जसअन्तर्गत अस्ट्रेलिया, क्यानडा, जमाइका र न्यूजील्यान्ड समेत पर्छन्।
तर पछिल्ला केही वर्षहरूमा राष्ट्रमण्डलका राष्ट्रहरूले ब्रिटिश राजसंस्थाप्रति आफ्नो समर्थनबारे बहस सुरु गरेका छन्। यस बहस अन्तर्गत बारबाडोसले सन् २०२१ को अन्त्यमा गणतान्त्रिक राष्ट्र बन्ने निर्णय लियो जसअनुसार दिवङ्गत महारानी राष्ट्रप्रमुखको हैसियतबाट हट्न पुगिन्।
साथै यस निर्णयले उक्त टापु राष्ट्रमा शताब्दिऔँ देखिको ब्रिटिश प्रभावको अन्त्य गर्यो।
दुई सय वर्षभन्दा धेरै अवधि उक्त राष्ट्र दासको रूपमा मानव बेचबिखनको केन्द्र रह्यो। सन् २०२२ को सुरुवातमा राजकुमार विलियमको क्यारेबियन भ्रमणले औपनिवेशिक विरोधी प्रदर्शनहरूलाई उत्प्रेरित गर्यो।
साथै उक्त भ्रमणका दौरान जमाइकाका प्रधानमन्त्री एन्ड्र्यु होलनेसले राजकुमार विलियम समक्ष सार्वजनिक रूपमा आफ्नो देश आफ्नै मर्जी अनुसार "अघि बढ्ने बताए।"
बीबीसीका शाही संवाददाता सन कफलानका अनुसार राष्ट्रमण्डलका सदस्यहरूसँग आधुनिक सम्बन्ध पुनः परिभाषित गर्नु राजा चार्ल्सका लागि "प्रमुख चुनौती" हुन्छ।
"नयाँ प्रमुखका हैसियतले उनले कसरी राष्ट्रमण्डलका सदस्य राष्ट्रहरूको भ्रमण गरेर औपनिवेशिकताको कठिन विरासत र दासत्वको मुद्दालाई पार लगाउँछन् भन्ने हेर्न बाँकी छ।"
एक "दिग्गज" राजा

तस्बिर स्रोत, Getty Images
७३ वर्षको उमेरमा चार्ल्स ब्रिटेनमा राजा घोषित हुने सबैभन्दा वृद्ध व्यक्ति हुन्। उनको शासनमा दैनन्दिन गरिने कामबारेको प्रश्न यो हो कि उनले आफूले गर्नुपर्ने काम-कर्तव्यहरूको विस्तृत सूची मध्ये कति आफैँ गर्न सक्लान्?
अड्कलबाजी अनुसार उनको छोरा तथा राजगद्दीका उत्तराधिकारी राजकुमार विलियम शाही कार्यको बोझ साझा गर्नको लागि पितासँगै संलग्न हुनेछन् - विशेष गरी वैदेशिक भ्रमणका दौरान। ८० वर्ष लागेपछि महारानी एलिजाबेथ द्वितीयाले विदेश यात्रा त्यागेकी थिइन्।
"चार्ल्स एक वृद्ध राजा हुन् र उनी यो सबै एक्लै गर्न सक्दैनन्," इतिहासकार केली स्वाब विश्वास गर्छिन्।
"मलाई आशा छ कि परिणामस्वरूप हामीले राजकुमार विलियमलाई धेरै देख्नेछौँ।"
पूरा गर्नुपर्ने "ठूलो" जिम्मेवारी

तस्बिर स्रोत, Getty Images
मृत्यु पश्चात् देशभरबाट व्यक्त शोकले के पुष्टि गर्छ भने महारानी एलिजाबेथ द्वितीया शासकको रूपमा निकै लोकप्रिय थिइन्। शाही इतिहासकार इभालिन ब्रुटनका अनुसार नयाँ राजाका लागि त्यो चुनौती हो तर अति कठिन भने होइन।
अहिलेको घटनाक्रमलाई उनी अर्की प्रिय शासक महारानी भिक्टोरिया को निधन पश्चात् १९०१ मा राजा एडवर्ड सातौँमा शासन हस्तान्तरण भएको परिस्थितिसँग तुलना गर्छिन्।
"वर्तमान समय र महारानी भिक्टोरियाको युग समाप्तिको समयबीच रोचक समानताहरू छन्," ब्रुटनले भनिन्।
"एडवर्ड सातौँ र चार्ल्स तृतीय दुवैले ब्रिटेनमा सामाजिक परिवर्तनको अवधिमा पदभार ग्रहण गरे। र यी दुवै आफ्नी आमा जत्तिकै लोकप्रिय थिएनन्।"
सत्तामा जम्मा नौ वर्ष (१९०१ - १९१०) रहे पनि राजा एडवर्ड सातौँको सम्झना आफ्ना कूटनीतिक प्रयासहरूका लागि सदैव हुने गर्छ। उनको शासनमा १९०४ मा यूके र फ्रान्सबीच हस्ताक्षर भएको ऐतिहासिक र प्रसिद्ध "अन्टोँन्ट कोर्डियाल" सम्झौताको लागि जग बसेको थियो।
"एडवर्ड सातौँले निकै राम्रो काम गरे। चार्ल्स तृतीय पनि सम्झन लायक महत्त्वपूर्ण राजा हुँदैनन् भन्ने कुनै सम्भावना छैन", ब्रुटन विश्वास व्यक्त गर्छिन्।
"उनको आदर्श व्यक्ति महारानी एलिजाबेथ द्वितीय थिइन् र राज्यारोहण पश्चात् गरिने कामको तयारीको निम्ति चार्ल्ससँग समय थियो।"









