युक्रेन युद्ध: रुसी कब्जाबाट फिर्ता लिइएको युक्रेनी सहरमा सयौँ चिहान फेला परे

तस्बिर स्रोत, Reuters
युक्रेनले रुसको नियन्त्रणबाट फिर्ता लिएको इज्यूम सहरबाहिर सयौँ चिहानहरू भेट्टिएको बताएको छ।
यसअघि रुसले कब्जा गरेको भूभाग फिर्ता लिन अघि बढिरहेका युक्रेनी सैनिकहरूले सहर बाहिरको जङ्गलमा काठको क्रस चिह्न राखिएका चिहानहरू भेटाएका हुन्। अधिकांशमा चिहानहरूमा पुरिएकाहरूको व्यक्तिगत विवरणसहित नम्बरहरू समेत राखिएको छ।
अधिकारीहरूले केही चिहानहरूको शुक्रवारबाट उत्खनन गरिने बताएका छन्।
चिहानमा पुरिएकाहरू कसरी मारिए भन्ने खुल्न नसके पनि प्रारम्भिक विवरणहरूअनुसार उनीहरूको मृत्यु बमबारी र स्वास्थ्य उपचारको पहुँचमा अभावका कारण भएको देखिएको छ।
युक्रेनको राष्ट्रिय प्रहरी बलका प्रमुखले एक पत्रकार सम्मेलनमा अधिकांश शवहरू गैरसैनिकहरूका रहेको बताएका छन्।
प्रहरी प्रमुख इहोर क्लेमेन्कोले सैनिकहरू पनि त्यहाँ पुरिएको अनुमान गरिए पनि हालसम्म सैनिकहरूको चिहान फेला नपरेको बताए।
यसअघि युक्रेनी अधिकारीहरूले ४०० भन्दा धेरै शवहरू उक्त क्षेत्रमा पुरिएको आकलन गरिएको बीबीसीसँग बताएका थिए।
संयुक्त राष्ट्रसङ्घले उक्त सहरमा केही दिनमै आफ्नो अनुगमन टोली पठाउने बताएको छ।
राष्ट्रसङ्घको मानव अधिकारसम्बन्धी कार्यालयका प्रवक्ताले मारिएकाहरू सर्वसाधारण वा सैनिकहरूमध्ये को थिए र उनीहरूको मृत्युको कारण के थियो भन्नेबारे पत्ता लगाउने प्रयास गर्ने बताएका छन्।

इज्यूम सहर युद्धको सुरुवाती दिनहरूमै रुसी कब्जामा परेको थियो। यो क्षेत्रलाई रुसले पूर्वबाट थप फौजहरू पठाउने मुख्य केन्द्रको रूपमा प्रयोग गरेको थियो।
रात्रिकालीन सम्बोधनका क्रममा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त क्षेत्रमा "आवश्यक प्रक्रियागत कदमहरू" सुरु गरिएको बताएका छन्।
उनले रुसले कब्जा गरेका अन्य सहरहरू बुचा र मारिऊपोल जस्तै इज्यूम सहरमा भएका कामबारे विश्वले थाहा पाउनुपर्ने बताएका छन्।
युक्रेनी राष्ट्रपतिले किएभ नजिकैको बुचा र अहिले रुसी कब्जामा रहेको मारिऊपोल नजिकैको दक्षिणपूर्वी युक्रेनी बन्दरगाहमा भेटिएका भनिएका सामूहिक चिहानहरूबारे सङ्केत गर्दै त्यसमा संलग्नहरूलाई जबाफदेही बनाउनुपर्ने माग गरे।
जेलेन्स्कीको कार्यालयका प्रमुखले धेरै मानिसहरू पुरिएको भनिएको ठाउँको तस्बिर ट्वीट गर्दै यसबारे थप जानकारीको प्रतीक्षा गरिएको बताएका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त
इज्यूम सहरको अधिकांश क्षेत्र युद्धपछि भग्नावशेषमा परिणत भएको छ। स्थानीय राजनीतिज्ञहरूले सहरका ८० प्रतिशत संरचनाहरू ध्वस्त भएको र भग्नावशेषहरूमा अझैसम्म शवहरू भेटिएको बताएका छन्।
खार्किभ क्षेत्रका इज्युम सहित कैयौँ सहरहरू केही साताअघि युक्रेनी प्रत्याक्रमणपछि रुसी कब्जाबाट मुक्त भएका थिए।
युक्रेनले गत फेब्रुअरी २४ मा आक्रमण सुरु भएयता गैर सैनिकहरूको हत्या र बलात्कार सहित रुसी सैनिकहरूबाट भएका २१,००० वटा मानव अधिकार उल्लङ्घनका घटना पहिचान गरिएको दाबी गरेको छ।
अनुसन्धानकर्ता र पत्रकारहरूले बुचा र आसपासका क्षेत्रमा सर्वसाधारणहरूको नियोजित हत्या गरिएको जस्तो देखिने प्रमाणहरू फेला पारेका थिए।
अन्तर्राष्ट्रिय फौजदारी अदालतले यस विषयमा छानबिनका लागि अनुसन्धानकर्ताहरू र फरेन्सिक विज्ञहरू सहितको एउटा टोली पठाइएको जनाएको छ।
रुसले सर्वसाधारणहरू लक्षित आक्रमणमा संलग्नताको निरन्तर खण्डन गर्दै आएको छ र युक्रेन र पश्चिमा देशहरूलाई तथ्यको तोडमोड गरेको आरोप लगाएको छ।









