महारानी एलिजाबेथ द्वितीया: सार्वजनिक श्रद्धाञ्जली र अन्तिम संस्कारका योजनाहरू

ब्रिटिश इतिहासमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहेकी महारानी एलिजाबेथ द्वितीयाको निधन भएको छ।
स्कटल्याण्डस्थित बाल्मोरल काशलमा आफ्ना परिवारका माझ शान्तिपूर्ण रूपमा उनको निधन भएको छ।
उनलाई राष्ट्रले सम्मान व्यक्त गरिरहँदा आउँदा दिनमा उनीप्रति आम जनताले अन्तिम श्रद्धाञ्जली व्यक्त गर्ने र राजकीय सम्मानपूर्ण अन्तिम संस्कार गर्नेबारे यस्ता कार्यक्रमहरू हुने ठानिएको छ।
महारानीप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम
महारानीको शवपेटिका लण्डनमा ल्याइएपछि, अन्तिम संस्कार गर्नुअघि सार्वजनिक श्रद्धाञ्जली दिन वेस्टमिन्स्टर हलमा चार दिनका लागि राखिनेछ।
ब्रिटिश सरकारको मुटुमा रहेको प्यालेस अफ वेस्टमिन्स्टरको सबभन्दा पुरानो भागमा उक्त भव्य हल रहेको छ।
यसअघि उक्त हलमा श्रद्धाञ्जलीका लागि राखिएकी शाही परिवारको पछिल्लो सदस्य महारानीकी आमा थिइन्। सन् २००२ मा उनको शवपेटिकामा अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न दुई लाखभन्दा धेरै मानिसहरू लामबद्ध भएका थिए।

११ औँ शताब्दीको मध्यकालीन काठले बनेको छतमुनी क्याटाफल्क भनिने अलि अग्ल्याइएको संरचनामा महारानीको शवपेटिका राखिनेछ। उक्त संरचनालाई राजदरबारको सेवामा खटिएका सेनाको इकाइले चारै सुरबाट सुरक्षा दिनेछ।

उनको शवलाई शाही परिवारका सदस्य र सेनाको परेडसहित बिस्तारै शवयात्रा गर्दै बकिंघम दरबारबाट वेस्टमिन्स्टर हलसम्म पुर्याइनेछ।
त्यसरी लगिँदा गल्लीहरू हुँदै लगिने र त्यसको प्रशारण ठूला स्क्रिन र लण्डनका शाही पार्कहरूमा गरिने हुँदा मानिसहरूले हेर्न पाउनेछन्।

महारानीको शवपेटिकालाई युके र उसको सार्वभौमिकताको प्रतिनिधित्व गर्ने शाही झण्डा रोयल स्ट्यान्डर्डले ढाकिनेछ र वेस्टमिन्स्टर हलमा लगिएपछि शवमाथि इम्पेरियल स्टेन क्राउन, राजदण्ड राखिनेछन्।
शवपेटिकालाई हलमा राखिएपछि एउटा सानो समारोह हुनेछ। त्यसपछि सर्वसाधारणलाई भित्र आउने अनुमति दिइनेछ।
महारानीको अन्तिम संस्कार कहिले हुन्छ?
महारानीको राजकीय अन्तिम संस्कार दुई साताभन्दा कम समयमा वेस्टमिन्स्टर एबेमा हुने ठानिएको छ। तर ठ्याक्कै कुन दिन भनेर बकिंघम प्यालेसले पुष्टि गर्नेछ।
एबे एउटा ऐतिहासिक गिर्जाघर हो जहाँ ब्रिटेनका राजा र रानीहरूलाई राजमुकुट पहिराइन्छ र गद्दी आरोहण गराइन्छ। साथै सन् १९५३ मा महारानीको राज्यारोहण समारोह पनि त्यहीँ भएको थियो र राजकुमार फिलिपसँग सन् १९४७ मा उनले विवाह पनि त्यहीँ गरेकी थिइन्।

तस्बिर स्रोत, Getty Images
१८ औँ शताब्दीयता एबेमा कुनै पनि राजा वा रानीको अन्तिम संस्कार भएको छैन। यद्यपि सन् २००२ मा महारानीकी आमाको भने त्यहीँ गरिएको थियो।
महारानीको जीवन र उनले गरेको सेवाको स्मरण गर्न शाही परिवारका सदस्यहरूसँगै विश्वभरिका राष्ट्रप्रमुखहरू पनि उपस्थित हुनेछन्। युकेका वरिष्ठ राजनीतिज्ञहरू र पूर्वप्रधानमन्त्रीहरू पनि त्यहाँ जम्मा हुनेछन्।

अन्तिम संस्कार गर्ने दिन शाही नौसेनाको स्टेट गन क्यारिएजमा राखेर महारानीको शवपेटिकालाई वेस्टमिन्स्टर हलबाट वेस्टमिन्स्टर एबेमा लगिनेछ।
पछिल्लोपटक सन् १९७९ मा राजकुमार फिलिपका काकाको अन्तिम संस्कारका बेला गन क्यारिएज देखिएको थियो जसको सञ्चालन शाही नौसेनाका १४२ नौसैनिकले गरेका थिए।
त्यसरी महारानीको शवपेटिका एबेमा लगिँदा राजासहित शाही परिवारका वरिष्ठ सदस्यहरूले पनि पछ्याउने ठानिएको छ।

सम्भवत: अन्तिम संस्कार समारोहको सञ्चालन वेस्टमिन्स्टरका डिन डेभिड होयलले गर्ने र क्यान्टरबरीका आर्चविशप जस्टिन वेल्बीले धार्मिक प्रवचन दिनेछन्। पाठ पढ्न प्रधानमन्त्री लिज ट्रसलाई बोलाइनसक्छ।
अन्तिम संस्कारका क्रममा महारानीको शवपेटिकालाई शववाहनमा राखेर विन्ड्सरतर्फ लैजानुअघि एबेबाट लण्डनको हाइड पार्क कर्नरस्थित वेलिङ्टन आर्चमा लगिनेछ।
महारानीको शवपेटिकाको अन्तिम यात्रा त्यही दिन मध्यान्हपछिको समयमा विन्ड्सर काशलस्थित सेन्ट जोर्जेज च्यापलसम्म हुनेछ।
विन्ड्सर कासलस्थित क्वाड्र्याङ्गलमा हुने कार्यक्रममा राजासहित शाही परिवारका वरिष्ठ सदस्यहरू पनि सहभागी हुने ठानिएको छ। त्यसपछि अन्तिम बिदाइका लागि शवपेटिका सेन्ट जोर्जेज च्यापलमा प्रवेश गराइनेछ।

विवाह, बच्चाको नामाकरण वा अन्तिम संस्कारका लागि शाही परिवारको रोजाइमा निरन्तर रुपमा सेन्ट जोर्जेज च्यापल गिर्जाघर नै पर्दै आएको छ।

यही च्यापलमा नै ड्यूक एण्ड डचेज अफ ससेक्स प्रिन्स ह्यारी र मेगनले विवाह गरेका थिए र महारानीका पति राजकुमार फिलिपको पनि यहीँ अन्तिम संस्कार गरिएको थियो।
सेन्ट जोर्जेज च्यापलभित्र रहेको राजा जोर्ज छैठौँको स्मारकमा समाधिस्थ गर्नुअघि महारानीको शवपेटिकालाई रोयल भल्टमा राखिनेछ।









