४४ अर्ब डलरमा ट्विटर किन्ने निर्णयबाट पछि हटे इलोन मस्क

तस्बिर स्रोत, Getty Images
ट्विटरका अध्यक्षले आफ्नो कम्पनी खरिदका लागि भएको ४४ अर्ब डलर बराबरको सम्झौता पूर्ण रूपमा लागु गराउन टेस्लाका प्रमुख कार्यकारी इलोन मस्कमाथि मुद्दा दायर गर्ने बताएका छन्।
एउटा ट्वीटमा ब्रेट टेलरले यसअघि मस्कसँग भएको सर्त अनुसार उक्त कारोबार सम्पन्न गर्न ट्विटर प्रतिबद्ध रहेको बताए।
त्यसअघि मस्कले आफू उक्त सम्झौताबाट पछि हटेको घोषणा गरेका थिए।
उनका वकिलहरूले उक्त माइक्रोब्लगिङ् साइटले आफूले दाबी गरेजस्तै कुल प्रयोगकर्ताहरूमध्ये ५ प्रतिशतभन्दा कम स्प्याम रहेको भन्ने प्रमाण दिन अस्वीकार गरेको आरोप लगाएका छन्।
उक्त खबर आएपछि ट्विटरको सेयर मूल्य ७ प्रतिशतले घटेको छ।
उक्त खरिदबारेको कानुनी लडाइँ जटिल र लामो हुनसक्ने ठानिएको छ।
प्रारम्भिक खरिद् सम्झौतामा त्यसलाई तोड्नुपर्ने अवस्थामा १ अर्ब डलर तिर्नुपर्ने सर्त राखिएको थियो।
नक्कली खातालाई लिएर विवाद
गएको मे महिनामा मस्कले आफूले ट्विटरमा रहेका नक्कली र स्प्याम खाताबारे विवरण कुरिरहेको भन्दै उक्त सम्झौता 'अस्थायी रूपमा यथास्थिति'मा राखिएको बताएका थिए।
ती अर्बपति व्यापारीले कम्पनीले दाबी गरेजस्तै कूल प्रयोगकर्ताको ५ प्रतिशतभन्दा कम त्यस्ता खाताहरू रहेको पुष्टि हुने प्रमाण दिन ट्विटरलाई भनेका थिए।
यूएस सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिसनलाई लेखेको पत्रमा मस्कका वकिलहरूले ट्विटर त्यस्तो सूचना दिन विफल भएको वा उसले नचाहेको बताएका छन्।
उक्त पत्रमा लेखिएको छ, "कतिपय अवस्थामा ट्विटरले मस्कको अनुरोधलाई बेवास्ता गर्यो, कतिपय अवस्थामा औचित्य पुष्टि गर्न नसकिने खालका कारण देखाउँदै अस्वीकार गर्यो र कतिपय बेलामा उसले अपर्याप्त र काम नलाग्ने सूचना दिँदै आफूले सर्तहरूको पालना गरिरहेको दाबी गर्यो।"
स्प्याम खाताहरू ठूलो सङ्ख्यामा मानिसहरूलाई सूचना फैलाउने लक्ष्य सहित खोलिएका हुन्छन् र उनीहरूले उक्त सञ्जालमा हुने अन्तरक्रियालाई आफ्नो अनुकूल प्रभावित पार्ने लक्ष्य राख्छन्। बिहीवार मात्रै ट्विटरले आफूले प्रत्येक दिन झन्डै १० लाख त्यस्ता खाता मेटाउने गरेको बताएको थियो।
मस्कको विश्वासमा ट्विटरका २० प्रतिशत वा त्यो भन्दा बढी खाता स्प्याम रहेका हुनसक्छन्।
ट्विटर खरिद नगर्ने निर्णय किन गरे होलान्?
बीबीसीका उत्तर अमेरिका प्रविधि संवाददाता जेम्स क्लेटनका अनुसार इलोन मस्कले ट्विटरका दैनिक सक्रिय प्रयोगकर्ता कति छन् भनेर सूचना लिन चाहेको हप्तौँ बितिसकेको छ।
उनका अनुसार खरिदबारे लिखित सम्झौता भइसकेकाले अहिलेको चरणमा उनी सम्झौताबाट पछि हट्न सक्छन् कि सक्दैनन् प्रस्ट छैन। तर उनले ट्विटरले आफूहरूबीच भएको सम्झौताको उल्लङ्घन गरेको प्रमाणित गर्नुपर्ने हुन्छ।

तस्बिर स्रोत, Reuters
क्लेटनका अनुसार ट्विटरसँगको सम्झौताबाट मस्क अलग हुन चाहनुको अरू पनि सम्भावित कारण हुनसक्छन्। जस्तो हालैका महिनाहरूमा ठूला प्रविधि कम्पनीहरूको सेयर मूल्य निरन्तर ओरालो लागिरहेको छ।
र ट्विटरलाई सम्भावित लिने प्रक्रियाले आफ्नो अरू कम्पनीमा पार्ने प्रभावबारे पनि उनले ध्यान दिएका हुनसक्छन्। ट्विटरमा चासो देखाएपछि टेस्लाको सेयर मूल्य उल्लेख्य रूपमा घटेको छ।
उनको अभिव्यक्ति स्वतन्त्रता र भविष्यमा ट्विटरले विभिन्न देशका कानुन अनुसार अभिव्यक्त धारणाहरूलाई नियमन गर्नसक्ने अभिव्यक्ति पनि विवादित बन्न पुगेको थियो। क्लेटन भन्छन्, "के इलोन मस्कले अन्तिममा आएर आफूले सक्ने भन्दा धेरै बोले भन्ने ठानेका हुन्?"
विश्वका सबैभन्दा धनी मानिसका रूपमा चिनिएका मस्क रकेट कम्पनी स्पेश एक्स र विद्युतीय कार कम्पनी टेस्लाका मालिक हुन्।
आफूलाई 'अभिव्यक्ति स्वतन्त्रता निरङ्कुश' बताउने उनले आफ्नो नेतृत्वमा ट्विटर आएपछि त्यहाँ राखिने सामग्रीको निगरानी सम्बन्धी नियमलाई अझ खुकुलो बनाउने बताएका थिए।
लामो समयदेखि उनले पूर्व अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प जस्ताको खातामा ट्विटरले प्रतिबन्ध लगाएकोमा आलोचना गर्दै आएका छन्।
उनले ट्विटरबाट कुनै ट्वीट कसरी प्रवर्द्धित हुँदै व्यापक प्रयोगकर्तासम्म पुग्छ भन्ने विषयमा पनि थप पारदर्शिता आवश्यक रहेकोमा जोड दिँदै आएका छन्।








