नेपाल विद्युत्: टावरमा चढेका मानिसको उद्धारमा आठ घण्टा किन लाग्यो, यसले सिकाएका पाठ के हुन्

नेपाली सेना

तस्बिर स्रोत, Nepal Army

नुवाकोटमा त्रिशूली थ्री ए जलविद्युत आयोजनाको प्रसारण लाइनमा चढेका एक व्यक्तिको आठ घण्टा लागेको उद्धारले नयाँ खालका आपत्कालीन अवस्थाको पूर्वतयारीबारे पाठ सिकाएको अधिकारीहरूले बताएका छन्।

मानसिक स्वास्थ्य समस्याबाट पीडित भनिएका ती व्यक्ति शनिवार साँझको उद्धारपछि काठमाण्डूमा एउटा परोपकारी संस्थाको संरक्षणमा छन्।

बिहान करिब ११ बजे प्रसारण लाइनको टावरमा चढेका ती व्यक्तिलाई साँझ करिब ७ बजे नेपाली सेनाको टोलीले उद्धार गरेको थियो।

सो समयावधिमा ६० मेगावाटको प्रसारण लाइनमा विद्युत् आपूर्ति काटिएको थियो जसले गर्दा एक करोड रुपियाँभन्दा बढी क्षति भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

अधिकारीहरू के भन्छन्

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलका अनुसार पछिल्लो घटनाबाट 'धेरै कुरा सिकिएको' छ।

पोखरेलले भने, "टावर बनाउँदै त्यसमा मानिसहरू चढ्न सक्छन् त्यही भएर त्यसो हुन नदिन के गर्ने भन्ने सोच बनाउनुपर्ने रहेछ।"

"टावरलाई काँडे तारले घेर्ने वा टावरभित्रै काँडे तारहरू राख्न सकिन्छ। यो चाहिँ विद्युत् प्राधिकरणले ठेक्काको समयमा नै विचार गर्नुपर्छ।"

यस्ता खालका घटनामा उद्धार गर्ने सामग्रीहरूको पनि अभाव रहेको आफूलाई लागेको उल्लेख गर्दै पोखरेलले जिल्लामा रहेका सुरक्षा फौज र विद्युत् प्राधिकरणका कर्मचारीहरूलाई पनि उद्धारको तालिम दिन सकिने बताए।

नेपाली सेना

तस्बिर स्रोत, Nepal Army

उनले थपे, "उद्धार पनि थरीथरीका हुँदा रहेछन्। योसँग सम्बन्धित उद्धारको पनि तालिम दिनुपर्ने देखियो। अब टेलिफोनको टावरहरूमा मानिसहरू फसे भने के गर्ने त्यो पनि सोच्नुपर्छ होला।"

नेपाल प्रहरी सहितका सुरक्षा निकायले घण्टौँसम्म प्रसारण लाइनको टावरबाट तल झर्न अनुरोध गर्दा नमानिरहेका ती व्यक्तिलाई साँझ नेपाली सेनाको विशेष फौज बाहिनीबाट खटिएको चार सदस्यीय टोलीले उद्धार गरेको थियो।

साँझ ६ बजेर ३० मिनेटमा काठमाण्डूबाट उडेको नेपाली सेनाको हेलिकोप्टर १० मिनेटमा घटनास्थल पुगेको सेनाले बताएको छ।

त्यहाँ पुगेको १० मिनेटमा नै उक्त टोलीले ती व्यक्तिलाई टावरबाट तल झारेर जिल्ला प्रशासन कार्यालयलाई बुझाएको थियो।

नेपाल विद्युत् प्राधिकरणका अधिकारी के छन्

विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार यो घटनाले बलियो उद्धार टोली आवश्यक रहेको देखाएको छ।

उनले भने, "अहिलेको घटना काठमाण्डू नजिकैको ककनीमा भयो। दार्चुलामा भएको भए के हुन्थ्यो। त्यही भएर तयार अवस्थामा हेलिकोप्टर पनि चाहिने रहेछ।"

"यस्तो घटनाहरू हुन सक्दो रहेछ भन्ने देखिएकाले त्यही अनुसारको जनशक्ति र स्रोतसाधनहरू पनि तयार राख्नुपर्ने देखियो।"

उनले ती व्यक्ति टावरमा चढेका कारणले गर्दा नौ घण्टा ६० मेगावाटभन्दा बढी बिजुली उत्पादन गर्ने पानी खेर गएको सुनाउँदै त्यही परिमाणमा विद्युत् खरिद गर्नुपरेको बताए।

नेपाली सेना

तस्बिर स्रोत, NEPAL ARMY

त्यसबाट एक करोड रुपियाँभन्दा बढीको क्षति भएको उनको भनाइ छ।

उनले विद्युत् प्राधिकरणले टावरहरू जडान गर्ने र मर्मत गर्ने जस्ता प्राविधिक काम गर्दै आएको भन्दै त्यहाँ फसेका मानिसहरू उद्धार गर्न आफूहरूसँग जनशक्ति नभएको बताए।

उनी थप्छन्, "हामी तारहरू तान्न सक्छौँ तर मानिसहरू तान्ने हामीसँग दक्षता हुँदैन। र त्यस्तो मानवश्रोत पनि हामीसँग छैन।"

स्थानीय अधिकारीहरू के भन्छन्

नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालका अनुसार सुरुमा स्थानीय प्रहरी र स्थानीय बासिन्दामार्फत उद्धार सम्भव हुनसक्छ भन्ने हिसाबले प्रयास गरिएको थियो।

उनले भने, "तलमाथि गरिरहेकाले आफैँ झर्लान् भनेर एक दुई घण्टा हामीले हेर्‍यौँ। जब पोल छाडेर तार तिर पनि हिँड्न थालेको देखियो त्यसपछि मानिस तारमा गएर ल्याउन सम्भव नहुने देखेर त्यसपछि हामीले हेलिकोप्टरको लागि समन्वय गर्‍यौँ।"

उनले थपे, "हेलिकोप्टर आइसकेपछि ती व्यक्ति फेरि टावरमा चढेको अवस्था भयो र नेपाली सेनाको टोलीले पोलमा नै गएर उद्धार गरेर उहाँलाई तल झार्नुभयो।"

प्रमुख जिल्ला अधिकारी रिसालका अनुसार ती व्यक्ति टावरमा त्यति लामो समय रहलान् भन्ने अनुमान सुरुमा गरिएको थिएन।

उनी भन्छन्, "कोही पनि व्यक्ति पोल र तारमा गएर धेरै समय बस्न सक्दैन, तल झर्छ भनेर हामीले सोच्यौँ।"

"तर त्यसो नभएपछि भीडका कारण डरले त्यहाँ गएर बसेको हो कि भनेर एकान्त पनि बनाइदियौँ। केही समय त्यसरी नै गयो।"

"थप सुरक्षाकर्मी पठाउने र हेलिकोप्टरमार्फत उद्धार गर्ने निर्णय त्यसपछि भएका हुन्। तयारी गर्न केही समय लागेको हो।"

तर त्यसलाई आफूहरूले ढिलाइ गरेको वा संवेदनशील नभएको भनेर भन्न नमिल्ने उनको भनाइ छ।

नेपाली सेना

तस्बिर स्रोत, NEPAL ARMY

नुवाकोटको बेलकोटगढी गाउँपालिकाका ती व्यक्ति ककनी गाउँपालिकामा आएर उक्त प्रसारण लाइनको टावरमा चढेका थिए।

हाल उनलाई काठमाण्डूको तारकेश्वरस्थित संस्था नवजीवन परोपकार समाजमा बुझाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

स्थानीय स्तरको सिकाइ के हो?

नुवाकोटका प्रमुख जिल्ला अधिकारी रिसालले यस्ता घटनालाई तुरुन्तै सम्बोधन गर्दा स्थानीय स्तरमा उद्धार सामग्रीहरूको व्यवस्था गर्नु जरुरी छ।

त्यसमा उचाइमा पुगेका मानिसहरूको उद्धार गर्न आवश्यक पर्ने वस्तुहरू पनि आवश्यक पर्ने उनको भनाइ छ।

त्यसका लागि प्रसारण लाइनहरू निर्माण गर्ने विद्युत् प्राधिकरणले पनि तालिम र उद्धार जनशक्ति तयार पार्न सघाउन सक्ने उनले बताए।

त्यसबाहेक मानसिक स्वास्थ्य समस्या देखिएका भनिएका व्यक्तिहरूको उपचार र हेरचाहमा स्थानीय सरकारहरूले काम गर्नुपर्ने उनको भनाइ छ।

नुवाकोटका प्रहरी प्रवक्ता डिएसपी रूपक खड्काका अनुसार यो घटनाले सबैलाई सचेत बनाएको छ।

उनले भने, "यही किसिमको जनशक्ति तयार अवस्थामा राख्न सकियो भने सहज हुन्छ। यस्तो अवस्था अन्यत्र पनि आइपर्न सक्छ भन्ने हिजोको घटनाले देखायो।"

उनले टावरमा चढेका व्यक्तिलाई तल झार्नका लागि सुरक्षाका उपायहरू अवलम्बन गरिनुपर्ने भएकाले तालिम र स्रोतसाधन सम्पन्न जनशक्ति आवश्यक रहेको बताए।

नेपाल प्रहरीसँग कतिपय स्थानमा त्यस्ता उद्धार उपकरण नभएको भन्दै उनले नेपाली सेना र सशस्त्र प्रहरीसँग मिलेर उद्धार कार्य अघि बढाउने गरिएको बताए।

शनिवारको घटनामा सामान्य किसिमका उपकरण प्रयोग गरेर उद्धार गर्ने अवस्था नरहेको उनले उल्लेख गरे।