मोनालिसाः वृद्ध महिलाको भेषमा आएका व्यक्तिले विश्वविख्यात चित्रकलामा केक दलिदिएपछि...

मोनालिसा

तस्बिर स्रोत, TWITTER/@KLEVISL007/REUTERS

Published
पढ्ने समय: १ मिनेट

महिलाको भेषमा ह्वीलचेअरमा बसेर आएका एक व्यक्तिले विश्वप्रसिद्ध मोना लिसा कलाकृतिबाहिर केक दलिदिएका छन्।

लियोनार्दो दा भिन्चीले उक्त कलाकृतिमा बनाएका हुन्।

प्यारिसको लूभ्रस्थित सङ्ग्रहालयमा त्यसलाई सुरक्षित राख्न जडित सिसामा सेतो क्रीम दलिएको भए पनि चित्रकलामा भने कुनै क्षति पुगेको छैन।

नक्कली कपाल र लिपस्टिक लगाएका ती व्यक्तिलाई त्यहाँबाट हटाइँदै गर्दा उनले "पृथ्वीबारे सोच" भनेका थिए।

आइतवारको घटनालाई प्रत्यक्षदर्शीहरूले "उदेकलाग्दो" को सङ्ज्ञा दिएका छन्।

सङ्ग्रहालयको भ्रमण गर्न गएका अमेरिकी नागरिक ल्यूक सन्डबर्ग उक्त घटनाका प्रत्यक्षदर्शी हुन्।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

"मान्छेहरूले आश्चर्य मानेर ठूलो सास फेरेपछि हामीले माथि हेर्दा ह्वीलचेअरमा बसेर बूढी महिलाको भेषमा आएका एक व्यक्ति उक्त चित्रतर्फ दौडिए र मुक्का हान्दै केक दलिदिए," २० वर्षीय ल्यूकले समाचारसंस्था पीएसँग भने।

"सुरक्षाकर्मीहरूलाई त्यहाँबाट ती व्यक्तिलाई लैजान १० देखि १५ सेकन्ड मात्र लागेको थियो। तर त्यहाँ रहेको भिड निकै त्रसित देखिन्थ्यो," उनले भने।

"त्यो निकै उदेकलाग्दो थियो। मोनालिसा कति धेरै ऐतिहासिक छ भन्ने त्यसले सम्झायो। त्यो दुलर्भ क्षण थियो।"

'पृथ्वीबारे सोच'

अभियानकर्मी भन्ठानिएका ती व्यक्तिले ग्यालरीमा गुलाबका फूलहरू समेत फ्याँकिरहेको देखिएको थियो। उनलाई सुरक्षाकर्मीहरूले बाहिर लैजाँदै गर्दा उनले "पृथ्वीबारे सोच" भनेका थिए।

उनी ३६ वर्षको भएको बताइएको छ।

उनलाई मनोचिकित्सा एकाइमा पठाइएको प्यारिसको सरकारी वकिलको कार्यालयले सोमवार जनाएको छ। उक्त सांस्कृतिक कलाकृतिमा पुगेको क्षतिबारे समेत अनुसन्धान भइरहेको बताइएको छ।

पुनर्जागरण युगको उक्त चित्रमा एसिड आक्रमण भएपछि सन् १९५० मा सुरक्षाका लागि सिसा जडान गरिएको थियो।

प्रत्यक्षदर्शी सन्डबर्गले राखेको एउटा भिडिओमा सिसाबाट केकको क्रीम पुछेपछि मानिसहरूले ताली बजाएको दृश्य देखिन्छ।

सङ्ग्रहालयमा घुम्न पुगेका एल्बेनीआका २६ वर्षीय केल्भिसले प्रश्न गरेः "किन यस्तो अनौठो काम हुन्छ, हँ?"

बीबीसीले लूभ्र सङ्ग्रहालयलाई यसबारे प्रतिक्रियाका लागि सम्पर्क गरे पनि प्रतिक्रिया प्राप्त भइसकेको छैन।

भिडिओ क्याप्शन सुरु हुँदैछ, दृष्टिविहीन कलापारखीले यसरी मोनालिसाको मजा लिन्छन्