फ्रान्समा भेटियो ‘नग्न मोना लिसा’को स्केच

तस्बिर स्रोत, Image copyrightAFP/ALAMY
एक कलाविज्ञले फ्रान्समा फेला परेको काठको कोइलाबाट कोरिएको एकजना नग्न महिलाको 'स्केच' १६ औं शताब्दीमा कलाकार लिओनार्दो दा भिन्चीले बनाएको मोना लिसाको हुन सक्ने बताएका छन्।
यसअघि उक्त 'स्केच' दा भिन्ची स्टुडियोका कलाकारले बनाएको विश्वास गरिएको थियो।
तर प्यारिसस्थित विश्व विख्यात लूभ्र संग्रहालयमा त्यसको परीक्षण गर्दा 'कम्तीमा एउटा हिस्सा' दा भिन्चीकै भएको विज्ञहरुले विश्वास गरेका छन्।
'स्केच'मा मुस्कुराइरहेकी मोनालिस जस्तै तर निर्वस्त्र महिला देखिएको विज्ञहरुले बताएका छन्।
विख्यात
प्यारिसदेखि उत्तरमा रहेको एउटा संग्रहालयमा सन् १८६२ देखि उक्त 'स्केच' राखिएको बताइएको छ।
दा भिन्ची विश्व विख्यात कलाकार थिए जसले बनाएको मोना लिसाको 'पेन्टिङ' विश्वमै बढी चिनिएको तथा अनमोल रहेको छ।
सन् १४५२ मा जन्मिएका दा भिन्चीको सन् १५१९ मा निधन भएको थियो।

तस्बिर स्रोत, AFP/Getty Images
एकजना कपडा व्यापारीले आफ्नी श्रीमतीको चित्र बनाउन दा भिन्चीलाई लगाएको विश्वास गरिन्छ।
लुभ्र संग्रहालयका एकजना संरक्षणविज्ञ ब्रुनो मोटिनले उक्त 'स्केच' दा भिन्चीको 'जीवनकालकै' भएको र 'उच्च गुणस्तरको' रहेको पुष्टि भएको बताए।
संग्राहलयका अधिकारीहरुका अनुसार स्केचमा भएका हात र शरीर प्रस्टै देखिनसक्छ र मोना लिसाको चित्रमा भएकै आकारको त्यो छ।








