रोबोटले कोर्यो ब्रिटिश महारानीको चित्र

तस्बिर स्रोत, PA Media
एक रोबोटले चित्रकारी गरेको ब्रिटेनकी महारानीको तस्बिर सार्वजनिक गरिएको छ।
एआई-डा नामको आर्टिफिशल इन्टेलिजन्स रोबोटले एल्गोरीदम क्वीन नामक कलाकृति कोरेको हो।
सो रोबोटको आँखामा क्यामेराहरू छन् र त्यहाँबाट देखिएको दृश्यको डिजिटल तथ्याङ्कलाई रोबोटीक हात प्रयोग गरेर भौतिक रेखाचित्रमा परिवर्तन गर्छ।
यो रोबोटको नाम गणितिज्ञ तथा कम्प्युटरको पहिलो प्रोग्रामर मानिएकी वैज्ञानिक एडा लभलेसको सम्मानमा राखिएको हो।
एल्गोरीदम क्वीन चित्र भने एआई-डाले चित्रकारी गरेको विभिन्न तहलाई मिलाएर बहुआयामिक बनाइएको छ।
सो रोबोटको चित्रकारितालाई महारानीको ७० वर्षे शासनकालमा भएका विभिन्न प्राविधिक परिवर्तनहरूलाई प्रतिबिम्बित गर्ने गरी तयार गरिएको बताइएको छ।
एआई-डाले विशेष रूपमा बनाइएको भाषा प्रोग्रामअन्तर्गत कुराकानी पनि गर्न सक्छ।
एआई-डाले भनिन्: "उनको समर्पण र यति धेरै मानिसहरूका लागि गर्नुभएको सेवाका लागि म महारानीलाई धन्यवाद दिन चाहन्छु।"
"उनी एक विलक्षण, बहादुर महिला हुन् जो सार्वजनिक सेवाका लागि पूर्ण समर्पित छिन्।"
"मलाई लाग्छ उनी असाधारण मानिस हुन् र म उनलाई हीरक दिवसमा शुभकामना दिन चाहन्छु।"

तस्बिर स्रोत, VICTOR FRANKOWSKI
सो रोबोट अक्सफर्डका आधुनिक र समकालीन कला विज्ञ आइडान मेलरले डिजाइन गरेका हुन् भने कोर्नेलमा निर्माण गरिएको हो। यसलाई चलाउने प्रोग्रामहरू भने विश्वव्यापी रूपमा लेखिएको हो।
अक्सफर्ड र बर्मिङ्घम विश्वविद्यालयका विद्यार्थी र प्राध्यापकहरूले यसको सीप विकास गरेका हुन्।
मेलर भन्छन्, "महारानीलाई ७० वर्षको सेवाका लागि धन्यवाद। महारानीको यो विशेष अवसरका लागि एआई-डा रोबोट तयार भएकोमा हामी खुसी छौँ।"

तस्बिर स्रोत, NICKY JOHNSTON
"हामी अभूतपूर्व प्राविधिक समयमा छौँ र महारानीको शासनकालमा के परिवर्तन भयो भनेर केही समय सोच्न पाउने मौका पाएकोमा हामी आनन्दित छौँ।"
"एआई-डा रोबोटले चित्र कोरेको एल्गोरीदम क्वीनले उनको जीवनकालमा कति प्रगति भयो भन्ने कुरा देखाउँछ र उनको सेवालाई सम्मान गर्ने गजबको चीज हो।"
महारानीको चित्र लन्डनमा सार्वजनिक प्रदर्शनीमा राखिने बताइएको छ।










