नेपाल निर्वाचन २०७९: पहिलो पटक मतदान गर्नेहरूमा उत्साह र अपेक्षा कस्ता छन्?

मतगणना

तस्बिर स्रोत, Getty Images

    • Author, स्वेच्छा राउत
    • Role, बीबीसी न्यूज नेपाली

जनकपुरधाम उपमहानगरपालिका ४ की अञ्जलि झालाई आफ्नो सहर सफा भएको हेर्ने ठूलो धोको छ। त्यसैले यस पटकको स्थानीय तह निर्वाचनमा सहरको सरसफाइसम्बन्धी व्यवहारिक योजना बनाएका उम्मेदवारलाई मत दिने सोच रहेको उनले बताइन्।

झा पहिलो पटक मतदान गर्दै छिन्। २० वर्षीय उनी आफ्नो ठाउँको लागि आफै जनप्रतिनिधि छान्न पाउने कुराले निकै उत्साहित बनाएको बताउँछिन्।

"मतदान गर्न पाउँछु भन्ने कुराले खुसी छु। आफ्नो ठाउँमा योग्य उम्मेदवार चुन्न पाउने अधिकार पाउनु खुसीकै कुरा हो नि होइन? तर कसलाई चुन्ने भन्ने कुरा गाह्रो रहेछ जति उत्साहित छौँ त्यति नै संयमित बन्नु पर्छ," उनले बीबीसीसँग भनिन्।

झाले जनकपुरधामको सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था सुधार गर्नका निम्ति पहल गर्नेहरू को छन् भनेर आफूले नियालिरहेको सुनाइन्।

"महिला र युवालक्षित योजनाहरू बन्नु पर्‍यो नि। युवाले विदेश गई ५० डिग्रीको घाममा काम गर्नु नपरोस् र महिलाहरू परनिर्भर नरहुन्। यस्तै कुराहरू सुनिश्चित गर्नेलाई मत दिन्छु," झाले भनिन्।

शैक्षिक विकासको अपेक्षा राख्ने र सोही अनुरूप मतदान गर्ने योजना बनाउने झाजस्तै युवा मतदाताहरूको ठूलो जमात भएको जानकारहरू बताउँछन्।

पढेलेखेका प्रतिनिधिको खोजी

निर्वाचन आयोगको कल सेन्टरका सुपरभाइजर मधुसूदन पुडासैनीका अनुसार युवा पुस्ताका मतदाताले आफ्नो स्थानीय तहका उम्मेदवारहरूको शैक्षिक योग्यताबारे प्रश्न गर्ने गरेका छन्।

केही युवाले कल सेन्टरमा फोन गरेर "म पहिलो पटक भोट हाल्न लागेको तर तपाईँहरूले उम्मेदवार शैक्षिक योग्यता नै राख्नुभएन; कसलाई मत दिनु" भन्ने खालको प्रश्न गर्ने गरेको उनले बीबीसीसँग बताएका थिए।

"धेरै युवा मतदाताले अन्य योग्यता राख्नुहुन्छ तर शैक्षिक योग्यता किन राख्नुभएन भनेर भन्नुहुन्छ। हामीले त्यसलाई सुझावका रूपमा लिएका छौँ," पुडासैनीले भने।

उनका अनुसार कतिपयले त योग्यता भएकालाई मात्र उम्मेदवार बन्न पाउने नियम बनाउन सुझाव पनि दिने गरेका छन्।

विवेक श्रेष्ठ।

तस्बिर स्रोत, Bibek Shrestha

तस्बिरको क्याप्शन, विवेक श्रेष्ठ।

सोलु दूधकुण्ड नगरपालिका वडा नं ६ का विवेक श्रेष्ठले पनि आफू शिक्षित प्रतिनिधिको खोजीमा रहेको सुनाए।

"हाम्रो सानो नगरमा उम्मेदवार सबै छरछिमेक वा चिनजानकै मानिस छन्। कोही दाइ, कोही काका, कोही भाउजू। तर हामीले आफन्त होइन शिक्षित र प्रस्ट उद्देश्य भएको मानिस रोज्ने हो," उनले भने।

'आमाबुबालाई सम्झाउने समय'

पहिलो पटक मतदान गर्न लागेकाले आफ्ना आमाबुवा वा आफन्तहरूले कसलाई मत दिने भन्नेबारे सुझाव दिइरहेको श्रेष्ठले बताए।

तर विकासउन्मुख आफ्नो ठाउँको विकासका निम्ति "आचरण र उद्देश्य मूल्याङ्कन गरी व्यक्तिलाई मत दिने"बारे आफू स्पष्ट रहेको उनले जिकिर गरे।

"हाम्रा आमाबुवाले त वर्षौँदेखि पार्टीको कुरा सुन्दै र प्रभावित हुँदै आउनु भएको छ। तर अब हामीजस्तो युवाले राजनीतिक प्रक्रिया बुझ्ने र आफ्ना अभिभावकलाई सम्झाउनु पर्ने बेला भएको छ," उनले भने।

२३ वर्षीय विवेकले काठमाण्डूबाट सिभिल इन्जिनियरिङमा स्नातक तहसम्मको अध्ययन सकेका छन्।

हाल गाउँ फर्किएका उनी त्यहीँ पेसागत अवसरको खोजीमा छन्। आफूजस्ता युवाको लागि अवसर सिर्जना गर्ने उद्देश्य रहेका प्रतिनिधि आफ्नो पहिलो रोजाइ बन्ने उनको ठहर छ।

"यसअघिका प्रतिनिधिले के गरे, के गरेनन् समीक्षा गर्छु र यसअघि भएका गल्तीहरू सच्याउन सक्ने प्रतिनिधि छान्छु," उनले भने।

"राइट टु भोट" व्यवहारमा लागु गर्दै

विराटनगर महानगरपालिका ८ की कृपा काफ्ले कानुनकी विद्यार्थी हुन्।

आफूले पाठ्यक्रममा पढेको मतदानको अधिकार पहिलो पटक उपयोग गर्न पाउँदा दङ्ग रहेको उनी सुनाउँछिन्।

उमेरले २० वर्षीय उनले आफ्नो वडाका उम्मेदवारहरूको शैक्षिक एवं अन्य पृष्ठभूमिलाई आधार बनाएर मत खसाल्ने सुनाइन्।

घरदैलो कार्यक्रममा मतदातालाई मतदान गर्न सिकाइँदै।

तस्बिर स्रोत, RSS

"हामीले राइट टु भोटको बारेमा पढेका छौँ। आफूले चाहेको मानिसलाई मतदान गर्न स्वतन्त्र छौँ भन्ने थाहा छ। त्यसैले कसैको दबावमा नपरी भोट खसाल्ने योजना छ," काफ्लेले भनिन्।

उद्देश्य बोकेका युवा उम्मेदवार चुन्ने योजना रहेको बताइन्।

'कहिल्यै नबोल्नेहरू हात जोड्दै आउँछन्'

वीरगन्ज महानगरपालिका वडा नं १९ का जितेन्द्रप्रसाद कलवार पेसाले व्यवसायी हुन्।

यसपटक स्थानीय तहको निर्वाचनमा उनी पहिलो पटक मतदानको अनुभव सँगाल्दै छन्। तर चुनावअघि नै उम्मेदवारहरूमा देखिएको परिवर्तनले आफूलाई छक्क पारेको बताउँछन्।

"कहिल्यै बोल्न नखोज्नेहरू समेत परैबाट हाँस्दै, हात जोडेर आउँछन्। बोल्छन्। उनीहरू सबैको वचन एउटै हुन्छ," उनले भने।

म्यादी प्रहरी।

तस्बिर स्रोत, EPA

आफ्नो वडामा उम्मेदवारले सडक कालोपत्रे गर्ने र शिक्षा क्षेत्रमा सुधारको योजना अघि सारेको उनले बुझेका छन्।

"तर कसलाई विश्वास गर्ने त्यो उनीहरूले पहिले गरेको कामले नै बताउँछ। त्यसैले असर उद्देश्य बोकेको मान्छेलाई नै मत दिन्छु।"

सोही महानगरपालिकाका २३ वर्षीय सागर श्रेष्ठ भने बेरोजगारीका कारण दिक्क भएका रहेछन्। र बेरोजगारीलाई आफ्नो व्यक्ति नभई समग्र वीरगन्जको समस्याको रूपमा उनी व्याख्या गर्छन्।

"रोजगारी पाउनु मेरो मुख्य अपेक्षा हो। आफ्नो ठाउँ छोडेर बाहिर जान र काम गर्न नपरोस्। युवा र महिलालाई आत्मनिर्भर बनाउन कार्यक्रम ल्याउनेहरूलाई भोट दिन्छु," श्रेष्ठले भने।

मतदान आफ्नो इच्छा र स्वतन्त्रतासँग जोडिएको विषय भएकाले प्रलोभन वा धम्कीबाट प्रभावित नहुने उनी सुनाउँछन्।

सागर श्रेष्ठ।

तस्बिर स्रोत, Sagar Shrestha

तस्बिरको क्याप्शन, सागर श्रेष्ठ।

बरु पहिलो पटक मतदान गर्न लागेको भए पनि आफूजस्ता युवाहरूले उचित मतदाता शिक्षा नपाएको गुनासो गरे।

"स्थानीय तहबाट सिकाइन्छ तर त्यसमा सबै मतदाता नसमेटिन सक्छन्। यस कुरामा उम्मेदवार स्वयंले पनि ध्यान दिनु पर्छ जस्तो लाग्छ," उनले भने।

मतदाता शिक्षा प्रभावकारी नभएकै हो त?

निर्वाचन आयोगले छापा, प्रसारण र सामाजिक सञ्जालमार्फत विभिन्न शैलीमा मतदाता शिक्षा उपलब्ध गराउँदै आएको छ।

ती सामग्रीहरू स्थानीय सञ्चार माध्यमदेखि टिकटक, फेसबुकजस्ता आधुनिक माध्यमहरूमा समेत राखिएकाले नयाँ मतदाताहरू मतदाता शिक्षाबाट वञ्चित नरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

उनले भने, "युवा मतदाताले टिभी हेर्नुपर्‍यो, पत्रिका पढ्नु पर्‍यो, रेडिओ सुन्नु हुन्छ। इन्टरनेटमा पनि उहाँहरूको उचित पहुँच छ। यी सबै माध्यममा पर्याप्त निर्वाचनसम्बन्धी ज्ञानमूलक सामग्रीहरू छन्।"

त्यहाँ भएका सामग्रीहरू सहयोगी नभएको अवस्थामा निर्वाचन अधिकृतको कार्यालयमा गएर सहयोग लिन सक्ने उनले बताए।

पौडेलले प्रचारप्रसारका लागि घरदैलोमा पुग्ने उम्मेदवार वा दलका कार्यकर्ताले पनि नयाँ मतदातालाई मतदानको सही तरिका सिकाउन सक्ने उपाय सुझाए।

"हामीले बदर मत कम गर्न व्यापक रूपमा मतदाता शिक्षा दिइरहेका छौँ। निर्वाचन अघिका दुई दिन मतदाता शिक्षा केन्द्र समेत खडा हुन्छ। त्यहाँ गएर पनि नयाँ वा पहिले पनि मतदान गरेका मतदाताले सहयोग लिन सक्छन्," उनले भने।

भिडिओ क्याप्शन सुरु हुँदैछ, बदर नहुने गरी कसरी मतदान गर्ने?