नेपाल निर्वाचन: भरतपुर महानगरमा रेनु दाहाल र गठबन्धनका उम्मेदवारलाई भोट माग्दै पाँच दलका शीर्षस्थ नेताले के भने

भरतपुरमा सत्ता गठबन्धनको सभा

तस्बिर स्रोत, RSS

पाँचदलीय सत्ता गठबन्धनका शीर्ष नेताहरूले चितवनको भरतपुरमा आयोजित संयुक्त चुनावी सभालाई बिहीवार सम्बोधन गरेका छन्।

चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल तथा अन्य वरिष्ठ नेताहरूले स्थानीय निर्वाचनपछि पनि गठबन्धनको आवश्यकता हुनेमा जोड दिएका छन्।

नेपाली कांग्रेसका सभापति पनि रहेका देउवाले सरकार निर्माणमा गठबन्धन अपरिहार्य भएको बताए भने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धन नभए देश दुर्घटनामा पर्ने खतरा औँल्याए।

सत्ता गठबन्धनको एउटा प्रमुख साझेदार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी माइली छोरी रेनु दाहाललाई भरतपुर महानगरपालिकामा गठबन्धनले साझा उम्मेदवार बनाएको छ।

तर गठबन्धनलाई चुनौती दिँदै सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका पुराना नेता जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

भरतपुरमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि चुनावी तालमेल गरेका छन्। एमालेले विजय सुवेदीलाई मेयरको उम्मेदवार बनाएको छ।

निर्वाचनका लागि मौन अवधि सुरु हुन एक साताभन्दा कम समय बाँकी रहँदा दलहरूको चुनावी प्रचारप्रसार र सभाहरू तीव्र भएका छन्।

प्रचण्डको निर्वाचन क्षेत्र चितवन ३ मा भरतपुर महानगरको धेरै भाग पर्छ।

नेपालमा गठबन्धन आवश्यकः शेरबहादुर देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन नभएसम्म कुनै पनि दलले बहुमत ल्याउन नसक्ने राजनीतिक प्रणाली भएकाले नेपालमा गठबन्धनको आवश्यकता रहेको बताए।

"कुनै पनि पार्टीले यो देशमा बहुमत ल्याउन सक्दैन," देउवाले भने।

"कुनै पनि हालतमा यो गठबन्धन टुटाउने षड्यन्त्र भरतपुरको चुनावबाट हुनसक्छ नि किन हुन सक्दैन।"

गठबन्धनलाई टुटाउने षड्यन्त्र भइरहेको दाबी गर्दै देउवाले त्यस्तो षड्यन्त्रमा सहयोग नगर्न आफ्नो दलका नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरे।

"उहाँले जितिसक्नुभएको छ, हाम्रो पार्टीले सहयोग नगर्नुको विकल्प छैन," रेनु दाहाललाई सङ्केत गर्दै उनले भने।

देउवाले आफ्नो सम्बोधनको लामो समय भरतपुरमा रेनु दाहालले विकास र पूर्वाधारका क्षेत्रमा राम्रो काम गरेको भन्दै प्रशंसामा खर्चिएका थिए।

"हरेक गल्लीमा कालोपत्रे भएको छ, त्यस कारणले यहाँको भाउ बढिसक्यो। काठमाण्डूभन्दा महँगो पर्न थालिसक्यो आजकाल त,"देउवाले थपे।

"यहाँका दाजुभाइको लागि सानो कुरा हो यो? यो तपाईँहरूको लागि हो। तैपनि तपाईँहरू रेनु हुँदैन भन्नुहुन्छ। यस्तो काम गर्ने मान्छे को छ यहाँ?"

गठबन्धनलाई नजरअन्दाज गरे दुर्घटनाः पुष्पकमल दाहाल 'प्रचण्ड'

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अघिल्लो स्थानीय तह निर्वाचनमा कांग्रेस मतदाताले हँसिया हथौडामा भोट हाल्न अप्ठ्यारो मानेपछि आफूले सङ्घीय र प्रादेशिक निर्वाचनमा कांग्रेसलाई छोडेर गठबन्धन फेरेको दाबी गरे।

उनले त्यतिबेला नेकपा एमालेसँग हात मिलाएका थिए भने पछि दुई पार्टीबीच एकीकरण गरिएको थियो

"यो गठबन्धन राष्ट्रको आवश्यकता हो, गणतन्त्र, लोकतन्त्र, देशको विकास र समृद्धिको आवश्यकता हो," प्रचण्डले भने।

भरतपुरमा देउवा र प्रचण्ड

तस्बिर स्रोत, RSS

"राष्ट्रिय आवश्यकतालाई नजरअन्दाज गर्नुभयो भने देश दुर्घटनामा जान सक्छ," उनले चेतावनी दिए।

प्रचण्डले यो गठबन्धन बनेदेखि नै तोड्ने षड्यन्त्र भएको र गठबन्धन कायमै रहनेमा आशङ्का गरिएको भन्दै आफूमाथि विश्वास गर्न कांग्रेसका मतदातालाई आग्रह गरे।

"यो गठबन्धन दशकौँ जान्छ किनभने यो गठबन्धन प्राकृतिक गठबन्धन हो," प्रचण्डले भने।

"मलाई आशङ्काले हेरेर 'प्रचण्ड के हो, के हो?' भनेर दायाँबायाँ गर्न खोज्नुभयो भने देश दुर्घटनामा जान्छ।"

भरतपुर महानगरपालिकाले विकास र पूर्वाधारका धेरै परियोजनामा कीर्तिमान बनाएको उनको दाबी छ।

गठबन्धन सबै दलको हितमाः माधव नेपाल

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गठबन्धनले सबै दलहरूलाई हित गर्ने बताए।

"हामीले गठबन्धन नगरेको भए देशमा लोकतन्त्र कागजमा मात्र सीमित हुने थियो। देश भ्रष्टाचारमा चुर्लुम्म डुब्ने थियो," नेपालको दाबी थियो।

नेकपा एमालेका अध्यक्ष केपी ओलीको तीखो आलोचना गर्दै उनले एमालेलाई "कुहिएको फर्सीको सङ्ज्ञा" दिए।

भरतपुरमा गठबन्धनको चुनावी सभा

तस्बिर स्रोत, Ishwor Joshi/BBC

मेरै प्रस्तावमा गठबन्धनः रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वसभामुख रामचन्द्र पौडेलले आफ्नै प्रस्तावमा गठबन्धन भएको दाबी गरे।

आफूले भरतपुरमा कांग्रेसका बागी उम्मेदवारलाई मनोनयन फिर्ता लिन आग्रह गरेको जानकारी दिँदै उने भने, "मैले उहाँहरूलाई भनेँ 'अहिले नेपालमा जुन राजनीति चलिरहेको छ, नेपाली कांग्रेसको प्रतिस्पर्धा को सँग चलिरहेको छ? नेपाली कांग्रेसको प्रतिस्पर्धा एमालेसँग केपी ओली प्रवृत्तिसँग हो।"

Presentational grey line

उम्मेदवारी फिर्ता गर्न जगन्नाथ पौडेललाई दबाव

भरतपुरको चुनावी सभाका लागि प्रधानमन्त्री देउवा बुधवारै चितवन पुगेका थिए।

देउवाले कांग्रेसले पार्टीबाट निष्काशन गरेका नेता तथा पूर्वसांसद पौडेलसँग भेट गरी उम्मेदवारी फिर्ता गर्न फेरि आग्रह गर्ने बताइएको भए पनि दुई जनाबीच भेट नभएको विवरणहरू आएका छन्।

यद्यपि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवार जगन्नाथ पौडेलसँग भेट गरी उम्मेदवारी फिर्ता लिन आग्रह गरेको सभालाई सम्बोधनका क्रममा जानकारी दिए।

सत्ता गठबन्धनले भरतपुरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाललाई उठाएको भए पनि नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले पनि उम्मेदवारी दिएका छन्
तस्बिरको क्याप्शन, सत्ता गठबन्धनले भरतपुरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाललाई उठाएको भए पनि गठबन्धन र पार्टी निर्णयको अवज्ञा गर्दै नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले उम्मेदवार बनेका छन्

उम्मेदवार पौडेल पनि नेपाली कांग्रेसको झण्डा र आफ्नो निर्वाचन चिह्न भुइँकटहर बोकेर प्रचारप्रसारमा लागेका छन्।

उनले "लोकतन्त्र र कांग्रेसलाई बलियो बनाउन" आफ्नो उम्मेदवारीले सहयोग गर्ने दाबी गर्ने गरेका छन्।

चितवनका कांग्रेस नेताले भरतपुरमा मेयर पद आफ्नो दललाई दिइनुपर्ने भन्दै पहिलादेखि नै माग गर्दै आइरहेका थिए

Presentational grey line

गठबन्धन नटिक्ने ओलीको दाबी

बिहीवारै सुदूर पश्चिम प्रदेशको धनगढीमा चुनावी सभालाई सम्बोधन गर्दै विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो दल सरकारबाट हटेपछि आर्थिक विकास खलबलिन थालेको बताए।

केपी ओली

तस्बिर स्रोत, RSS

उनले सत्ताधारी दलहरूको गठबन्धनको पनि चर्को आलोचना गर्दै चुनावपश्चात् गठबन्धन नटिक्ने बताएका थिए।

"चुनावपछि गठबन्धनको बेहाल हुनेछ। चुनाव जित्ने काहीँबाट होइन। एउटाले अर्कोलाई अपजस लगाउँछ। जनताले भोट नहालेको थाहै पाउँदैन। यो गठबन्धन विनाशतिर जान्छ," ओलीले भने।