राहुल गान्धी: साथीको विवाहमा नेपाल आएका भारतीय नेताका अन्य कार्यक्रम के छन्?

राहुल गान्धी

तस्बिर स्रोत, PTI

भारतीय राष्ट्रिय कङ्ग्रेसका पूर्वउपाध्यक्ष तथा नेता राहुल गान्धी अहिले नेपाल भ्रमणमा रहेका छन्।

नेपाल र भारत दुवैतर्फका सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनको उक्त भ्रमणलाई लिएर विभिन्न चर्चाहरू गरिरहेका छन्।

यद्यपि जानकारहरूले गान्धीको यो भ्रमण "नितान्त व्यक्तिगत" भएको बताएका छन्।

सोमवार काठमाण्डू आइपुगेका उनी पाँच दिन नेपालमा रहने बताइएको छ।

राहुल गान्धी किन आए नेपाल?

सोमवार काठमाण्डू आइपुगेका गान्धी नक्सालस्थित एक पाँचतारे होटलमा बसेको नेपाली सुरक्षा अधिकारीहरूले बताएका छन्।

राहुल गान्धी

तस्बिर स्रोत, AFP

उनकी साथी तथा सीएनएनकी पूर्वपत्रकार सुम्निमा उदासको विवाह समारोहमा सरिक हुन गान्धी नेपाल आएको उदास परिवारले जनाएको छ।

सुम्निमाको विवाह समारोहमा सरिक हुनुका साथै उनले नेपालका केही पर्यटकीय क्षेत्रको भ्रमण गर्ने उल्लेख गर्दै विभिन्न सञ्चारमाध्यमले समाचार लेखेका छन्।

यद्यपी बीबीसीले कुराकानी गरेका उदास परिवारका सदस्यले चाहिँ "विवाहका समारोहहरूमा सरिक हुने बाहेक" गान्धीका खासै अन्य कार्यक्रम नभएको बताएका छन्।

सरकारी अधिकारी के भन्छन्?

नेपालको परराष्ट्र मन्त्रालयका अधिकारीहरू र सुरक्षा अधिकारीहरूले गान्धीको भ्रमणबारे आफूहरूलाई विस्तृतमा जानकारी नभएको बताए।

परराष्ट्र प्रवक्ता सेवा लम्सालले "गान्धीको भ्रमण औपचारिक नभएकाले मन्त्रालयलाई जानकारी नभएको" बताइन्।

उनका अनुसार गान्धी हाल भारत सरकारको पदमा नरहेका व्यक्ति भएकाले पनि उनले परराष्ट्रलाई जानकारी नै गराउनुपर्छ भन्ने हुँदैन।

नेपाल प्रहरीका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरिक्षक विष्णुकुमार केसी पनि गान्धीको भ्रमण व्यक्तिगत रहेको भन्ने बाहेक थप थाहा नभएको बताउँछन्।

यद्यपि विमानस्थलमा ओर्लेदेखि नै उनको सुरक्षाका लागि सुरक्षाकर्मी खटाइएको केसीले जानकारी दिए।

केसीले भने, "उहाँ यहाँ आउनु भएको हो तर उहाँको कार्यक्रमबारे स्पष्ट भएको छैन। अहिलेसम्म दूतावास र होटल बाहेकको त्यस्तो कुनै कार्यक्रम छैन।"

"हामीले उहाँ बसेको स्थानको सुरक्षा व्यवस्था मिलाएका छौँ। उहाँको भ्रमणको अन्य तालिका हामीलाई थाहा छैन।"

गान्धीले नेपाली नेताहरूलाई भेट्छन्?

अधिकारीहरूका भनाइमा गान्धीले कुनै नेपाली अधिकारीसँग भेटघाट गर्ने कार्यक्रम रहेको जानकारीमा छैन।

त्यस्तै पार्टीका नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम पनि जानकारीमा नआएको उनीहरू बताउँछन्।

भारतीय कङ्ग्रेससँग लामो सम्बन्ध र सम्पर्क भएको सत्ताधारी नेपाली कांग्रेसका नेताहरूसँग पनि उनको भेटघाटको कार्यक्रम नरहेको जानकारी सो दलले दिएको छ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले भने, "उहाँ आउनु भएको खबरबाट थाहा पाएका हौँ। हाम्रो पार्टीसँग वा पार्टीका नेतासँग भेटघाटको कार्यक्रम रहेको जानकारीमा छैन।"

भारतीय कङ्ग्रेसका प्रवक्ता के भन्छन्?

गान्धीको नेपाल भ्रमणबारे बीबीसीले भारतीय राष्ट्रिय कङ्ग्रेसका प्रवक्ताहरूलाई पनि सम्पर्क गरेको थियो।

त्यस क्रममा दुईजना कङ्ग्रेस प्रवक्ताहरूले गान्धीको भ्रमणबारे आफूलाई "विस्तृत जानकारी" नभएको बताए।

एकजना प्रवक्ता रजनी पाटिलले भनिन्, "म त्यसबारे जानकार छैन। कृपया गान्धीको कार्यालयमै सम्पर्क गर्नुहोला।"

त्यस्तै अर्का कङ्ग्रेस प्रवक्ता गौरव बल्लभले पनि गान्धीको नेपाल भ्रमणबारे आफूलाई खासै जानकारी नभएको बताए।

उनले भने, "यसबारे मलाई अहिले खासै जानकारी छैन। बुझेर पछि भन्न सकिन्छ।"

नितान्त व्यक्तिगत भ्रमण: दूतावास

त्यस्तै काठमाण्डूस्थित भारतीय दूतावासका एक अधिकारीले गान्धीको भ्रमण "व्यक्तिगत भएको तर आफूहरूलाई उनको भ्रमण तालिकाबारे थाहा नभएको" बताएका छन्।

यसैबीच गान्धी सोमवार बेलुका काठमाण्डूस्थित एक चर्चित नाइट क्लबमा पुगेको भन्दै एउटा भिडिओ नेपाली र भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले साझा गरिरहेका छन्।

यद्यपि बीबीसीले उक्त भिडिओको आधिकारिकता पुष्टि गर्न सकेको छैन।

गान्धी यसअघि २०७५ सालमा मानसरोवर जाने तथा फर्कने क्रममा काठमाण्डूमा बसेका थिए।