कोभिड: भारतमा एकै दिन २१४ को मृत्यु, नेपालको तयारी के छ

भारत कोभिड

तस्बिर स्रोत, Getty Images

भारतमा कोरोनाभाइरस सङ्क्रमण फेरि बढ्न थालेको विषयलाई नजिकबाट नियालिरहेको र नेपाललाई सम्भावित जोखिमबाट जोगाउनका लागि प्रतिकार्य योजना तयार पार्न गृहकार्य थालिएको अधिकारीहरूले बताएका छन्।

पछिल्लो २४ घण्टामा भारतमा थप २,१८३ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ।

उक्त अवधिमा थप २१४ जनाको कोभिड-१९का कारण मृत्यु भएको तथ्याङ्कले देखाउँछ।

पछिल्लो २४ घण्टामा भारतमा २६१,४४० कोभिड परीक्षण गरिएको प्रेस इन्फरमेसन ब्युरोले सार्वजनिक गरेको तथ्याङ्क छ।

मृत्यु सङ्ख्यामा ६२ जनाको विवरण पछिल्लो तथ्याङ्कमा अद्यावधिक गरिएको भए पनि त्यसमा ठूलो वृद्धि देखिएको एनडिटिभीको वेबसाइटमा प्रकाशित समाचारमा उल्लेख छ।

भारतमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ११,५४२ छ।

त्यहाँ साप्ताहिक रूपमा कोभिड पुष्टि हुने दर ०.३२ प्रतिशत रहेको छ भने दैनिक रूपमा सङ्क्रमण पुष्टि हुने दर ०.८३ प्रतिशत छ।

एप्रिल १२ को तथ्याङक हेर्दा भारतमा साप्ताहिक रूपमा कोभिड पुष्टि हुने दर ०.२४ प्रतिशत र दैनिक रूपमा सङ्क्रमण पुष्टि हुने दर ०.२० प्रतिशत रहेको देखिन्छ।

उक्त दिन भारतमा २४ घन्टाको अवधिमा थप ७९६ जनामा कोभिड सङक्रमण पुष्टि भएको थियो।

भारत कोभिड

तस्बिर स्रोत, Getty Images

गत ज्यानुअरीमा उच्च विन्दुमा पुगेको कोभिड सङ्क्रमण दर निरन्तर ओरालो लाग्ने क्रममा थियो।

तर पछिल्लो तथ्याङ्कले भने त्यसमा केही परिवर्तन आउन लागेको सङ्केत गरेको जनाइएको छ।

भारतको राजधानी नयाँ दिल्लीमा पछिल्लो २४ घण्टामा ५१७ सङ्क्रमित थपिनु र उत्तर प्रदेशमा पनि केही वृद्धि देखिनु नेपालका लागि महत्त्वपूर्ण सूचक रहेको विज्ञहरू बताउँछन्।

भारतको अवस्था
GETTY IMAGES
भारतको पछिल्लो अवस्था

  • १८६.५४ करोड मात्राखोप दिइएको कुल सङ्ख्या

  • २.४३ करोड -एक मात्राखोप प्राप्त गर्ने १२ देखि १४ वर्षका बालबालिका

  • ११,५४२ सक्रिय सङ्क्रमितहरूको सङ्ख्या

  • ९८.७६ निको हुने दर

Source: PIB / INDIA

आइतवार भारतमा ३६५,११८ जनाको कोभिड परीक्षण गर्दा १,१५० नयाँ सङ्क्रमित पाइएका थिए।

नेपालको तथ्याङ्कले के देखाउँछ?

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ४,६५१ जनाको नमुना परीक्षण गर्दा थप १० जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ।

खोप

तस्बिर स्रोत, RSS

त्यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या ३५० छ।

गत हप्ता कोभिडको दोस्रो लहरपश्चात् पहिलो पटक सक्रिय सङ्क्रमितको सङ्ख्या ५०० भन्दा कममा झरेको अधिकारीहरूले बताएका छन्।

त्यस्तै खोप अभियान सुरु भएपश्चात् नेपालमा चार करोड छ लाखभन्दा बढी मात्रा खोप लगाइएको सरकारी तथ्याङ्कले देखाउँछ।

लक्षित जनसङ्ख्याको ९४ प्रतिशतले कम्तीमा एक मात्रा खोप लगाएको र ८२.२ प्रतिशतले पूर्ण मात्रा लगाएको बताइएको छ।

नेपालको तयारी के छ?

नेपालमा देखा परेका तीन वटै लहर भारतमा नयाँ लहर सुरु भएको केही साता पछि सुरु भएको अधिकारीहरू बताउँछन्।

पछिल्लो समय कोभिडको तेस्रो लहर सुस्ताएसँगै देशैभर कडा प्रतिबन्धात्मक व्यवस्थाहरू हटाइएको छ र सार्वजनिक स्थलहरूमा भिडभाड बढेको छ।

तर स्वास्थ्य मन्त्रालयले सङ्क्रमण दर घटेको भए पनि जोखिम कम नभएको बताउँदै आएको छ।

स्पुत्निक लाइट

तस्बिर स्रोत, Reuters

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारी छिमेकी मुलुकहरूमा सङ्क्रमण बढ्दै जानुको अर्थ नेपालका लागि पनि ठूलो चेतावनी रहेको बताउँछन्।

''विगतका तीन वटा लहर हामीले भोग्दा फेरि विशेषगरी भारतमा सङ्क्रमण बढेको केही हप्तामा त्यस्तै अवस्था हामीले भोगेका छौँ। अहिले पनि भारतमा सङ्क्रमण बढ्दै गरेको प्रारम्भिक तथ्याङ्क आइरहेका छन् त्यसले हामीलाई चिन्तित त पक्कै बनाउँछ,'' अधिकारीले भने।

''तर हामीले लिनुपर्ने सावधानीहरू, विगतको सिकाइ, सँगसँगै सङ्क्रमणको प्रकृति पनि हेरेर निगरानी बढाउने कुराहरू, खोप लगाउने बाँकी मानिसहरूलाई सकेसम्म चाँडो खोप लगाउन तर्फ केन्द्रित रहेर र जनस्वास्थ्यका मापदण्ड पालना गराउने हिसाबले सबैलाई सुसूचित गर्ने विषयमा र विशेषतः नाकाहरूबाट आउने मानिसहरूको निगरानी र त्यसै भित्रको जनस्वास्थ्यको मापदण्डको निगरानी र सङ्क्रमणको निगरानी गर्ने कुराहरूमा चनाखो भएर काम गर्नुपर्ने छ भन्ने कुरा पछिल्लो भारतको तथ्याङ्कले झकझक्याएको छ।"

"हामी त्यस अनुसार अझ परिष्कृत भएर काम गर्दैछौँ।''

कोभिडको तेस्रो लहर सुस्ताएको अवस्थामा नेपाल-भारतबीच आवागमनको अवस्था पनि महामारी अघिकै अवस्थामा पु्ग्ने क्रममा रहेको बताइएको छ।

नेपालबाट विभिन्न प्रयोजनका लागि भारत जाने र भारतबाट नेपाल आउनेहरूको सङ्ख्यामा व्यापक वृद्धि देखिन थालेको अधिकारीहरू बताउँछन्।

अध्यागमन विभागको मार्च महिनाको तथ्याङ्क अनुसार एक महिनामा १५,०१३ मानिस भारतबाट नेपाल आएका थिए। त्यस्तै १३,९४२ जना नेपालबाट भारत गएका थिए।

यस्तो अवस्थामा विभिन्न नाकाहरूमा विगतमा स्थापना गरिएका हेल्थ डेस्क, त्यहाँ राखिएका स्वास्थ्यकर्मीहरू सबै पूर्ण रूपमा फेरि पनि सञ्चालनमा ल्याउने गरी आवश्यक समन्वय गरिरहेको अधिकारी बताउँछन्।

त्यसबाहेक परीक्षणको दायरा पनि बढाउनुपर्ने देखिएको सरकारी भनाइ छ।

''हामीले होल्डिङ सेन्टरहरू जुन बनाएका छौँ तिनको व्यवस्थापन गर्दै सञ्चालनमा ल्याएर सर्वसाधारणलाई सहज हुने गरी हामीले काम गर्नुपर्ने छ।"

"सम्बन्धित निकायहरूसँग समन्वय गरेर अझ तीव्र गतिमा काम अघि बढाउँछौँ। पछिल्लो तथ्याङ्कहरूले पनि हामीलाई अझ केन्द्रित भएर काम गर्नुपर्ने छ भन्ने इङ्गित गरिरहेका छन्,'' अधिकारीले भने।

के भन्छन् विज्ञ?

वसन्तपुरमा होली
तस्बिरको क्याप्शन, अहिले नेपालमा मानिसहरूको भिडभाड फेरि बढ्न थालेको छ

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको क्लिनिकल रिसर्च युनिटका प्रमुख डा. शेरबहादुर पुन पनि खासगरी दिल्लीसहित भारतका विभिन्न सहरहरूमा सङ्क्रमण बढ्नु नेपालका लागि महत्त्वपूर्ण सङ्केत रहेको ठान्छन्।

तर कोभिडको पहिलो र दोस्रो लहरको तुलनामा अवस्थामा निकै फरक आएको उनी बताउँछन्।

''धेरैले खोप लगाइसकेको अवस्था छ। लक्षणसहित वा लक्षणविना धेरै जना एक पटकभन्दा बढी कोरोनाभाइरसबाट सङ्क्रमित भइसकेको पनि होला,'' पुनले भने।

तर उनले यो पटक सङ्क्रमण धेरै जोखिमपूर्ण नहुन सक्ने सम्भावना रहेको बताए।

''सङ्क्रमणको सङ्ख्यामा उतारचढाव देखिए पनि त्यसको अनुपातमा अस्पताल भर्ना हुने वा जटिल अवस्थामा पुग्नेहरूको सङ्ख्या कम हुन सक्छ।''

तर चीनको पछिल्लो अवस्था हेर्दा वृद्धवृद्धाहरूमा भने बढी प्रभाव पर्न सक्ने सङ्केत देखिएको उनको बुझाइ छ।

भारतमा हाल कोभिडको कुन भेरिअन्ट फैलिएको छ भन्ने कुरा अझै 'स्पष्ट नभइसकेको' बताउँदै कोभिडको डेल्टाक्रोन र एक्सइ भेरिअन्टले भने पुनः सङ्क्रमण गराउन सक्ने सम्भावना आफूले देखेको उनी बताउँछन्।

नेपालमा भएकै भेरिअन्टको जोखिम बढ्नसक्ने भन्दा पनि नयाँ भेरिअन्ट देखिनसक्ने सम्भावना रहेको अधिकारी ठान्छन्।

त्यसै कारण अर्को लहर तर्फ सङ्क्रमण उन्मुख भइसकेको हो होइन भन्न सकिने अवस्था नरहे पनि केही समय सम्बन्धित देशहरूमा भएको सङ्क्रमणलाई नजिकबाट निगरानी गरेर त्यसको आधारमा आवश्यक तयारी गर्नुपर्ने उनको भनाइ छ।

''त्यसतर्फ हामी सजग छौँ। र अरू सावधानी लिने, प्रतिकार्यका लागि योजना बनाउनका लागि स्वास्थ्य मन्त्रालय आवश्यक प्राविधिक छलफलमा जुटेको छ,'' उनले भने।