कोभिड नेपाल: लामो समयपछि सक्रिय सङ्क्रमित ५०० भन्दा कम, यस अवस्थालाई कसरी बुझ्ने?

तस्बिर स्रोत, Getty Images
नेपालमा शुक्रवार कोभिड-१९ को सक्रिय सङ्क्रमित सङ्ख्या ४३८ जना छ।
कोभिड महामारीको एक वर्षअघिको दोस्रो लहरयता बिहीवार पहिलो पटक सक्रिय सङ्क्रमितको सङ्ख्या ५०० भन्दा कम पुगेको हो।
यो अवस्थालाई स्वास्थ्य अधिकारीहरूले 'सजगतापूर्वक सामान्य जनजीवन कायम राख्नुपर्ने समय' भएको बताएका छन्।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी भन्छन्, "समयभित्रै दोस्रो मात्रा खोप लगाउन धेरै मानिसहरू आइसक्नुभएको छैन। कतिपयको खोप लगाएको धेरै समय भइसकेको छ तर बुस्टर लगाउन आउनु भएको छैन।"
अधिकारीहरूले भिडभाड बढेको भन्दै नयाँ किसिमको लहर देखा परेको अवस्थामा त्यो छिट्टै फैलन सक्ने अवस्था रहने पनि बताउँछन्।
छिमेकी देशहरूमा नयाँ भेरिअन्ट देखिएको र सङ्क्रमितहरू सङ्ख्या उच्च रहेको अवस्थामा नेपालमा समेत ह्वात्तै बढ्न सक्ने जोखिम कायम रहेको स्वास्थ्य अधिकारीहरू बताउँछन्।
जनस्वास्थ्यविद् डा. शरद वन्तले 'जोखिमको तीव्रताको आकलन गर्दै त्यसलाई न्यूनीकरण गर्ने विधि अपनाउने काम महत्त्वपूर्ण हुने' बताउँछन्।
उनी भन्छन्, "सरकारले बाहिरबाट आउन सक्ने सङ्क्रमणलाई नजिकबाट निगरानी गर्ने कामलाई उत्तिकै जोडबलसाथ कायम राख्नुपर्ने हुन्छ।"
खोप लगाउन अनुरोध
जनस्वास्थ्यविद् वन्तले सरकारले खोप पर्याप्त भइसकेको सोच्न नहुने र त्यसको व्यवस्थापनमा जोड दिनुपर्ने बताउँछन्।

तस्बिर स्रोत, Reuters
डा. अधिकारीले पछिल्लो खोप लगाएको तीन महिना पूरा भइसकेका सबैलाई बुस्टर मात्रा खोप लगाउन आग्रह गरे।
"समयमै त्यसरी खोप लगाउँदा रोगप्रतिरोधी क्षमता विकास हुन पुग्छ र नयाँ लहर आउन सक्ने अवस्थामा पहिल्यै बलियो भएर बस्न सकिन्छ," उनले भने।
सरकारी तथ्याङ्क अनुसार नेपालमा १८ वर्ष वा सोभन्दा माथिको लक्षित जनसङ्ख्यामा झन्डै ९४ प्रतिशतले कोभिड खोपको कम्तीमा एक मात्रा लगाएका छन् भने ८३ प्रतिशत जतिले पूर्ण मात्रामा खोप लगाएका छन्।
त्यसबाहेक १२ देखि १७ वर्ष उमेर समूहमा ७५ प्रतिशतले पूर्ण मात्रा खोप लगाए भने ९४ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन्।
बालबालिकाको हकमा १२ देखि १७ वर्ष उमेर समूहमा नेपालमा फाइजर र मोर्डर्ना खोप वितरण गरिएको छ।
अहिलेसम्म झण्डै २३ लाख ६९ हजारले मात्र बुस्टर मात्रा लिएका छन्।
५-११ उमेर समूहलाई खोप कहिले?
सन् २०२२ को पहिलो तीन महिनामै खोप दिइने भनिएको ५ देखि ११ वर्ष उमेर समूहका लागि समयसीमा नाघिसक्दा समेत अझै खोप आउन सकेको छैन।
सहप्रवक्ता अधिकारी भन्छन्, "हाल टाइफोइड विरूद्धको खोप कार्यक्रम समेत जारी छ। जसले गर्दा १२ देखि १५ वर्षबीचको उमेर समूहमा दुईवटा खोप कार्यक्रम एकसाथ सञ्चालन नगर्दा खोप कार्यक्रम केही सुस्ताएको जस्तो देखिएको हो।"

टाइफोइड विरुद्धको खोप नेपालमा अहिले १५ महिनादेखि १५ वर्षका बालबालिकाको लागि दिइँदै छ।
तर यस उमेर समूहका लागि ज्यानुअरी महिनाको तेस्रो साता विश्व स्वास्थ्य सङ्गठनले कोभिड खोपको अनुमति दिएपछि नेपालमा समेत त्यसबारे चर्चा थालिएको थियो।
अन्य उमेर समूहको तुलनामा ५ देखि ११ वर्षसम्मका बालबालिकाको लागि दुई भिन्नभिन्न डोजमा एकतिहाइ मात्रा कम गरेर लगाउन सिफारिस गरिएको छ।
सहप्रवक्ता अधिकारीले त्यसको लागि खोपहरू कोभ्याक्स कार्यक्रम अन्तर्गत, आंशिक वा पूर्ण अनुदान र खरिदसम्मको ढाँचामा खोप ल्याउन खोजिएको बताउँछन्।
"किन्नुपर्ने हकमा मन्त्रिपरिषद्बाट स्वीकृतिको प्रक्रिया रहन्छ तर अन्यको हकमा आवश्यक समन्वय पूरा भइसकेको छ। त्यो आउनसाथ मिति तोक्छौँ।"
बुस्टरलाई 'अभाव छैन'
वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि १८ वर्ष माथिका सबैलाई खोप लगाउन यसअघि निर्वाचन आयोगले सरकारलाई पत्राचार गरेको थियो।
स्वास्थ्य सहप्रवक्ताले यतिखेर बुस्टरका रूपमा प्रयोग गर्न समस्या नभएको बताउँछन्।
"उपलब्ध खोपको वितरण गर्दै क्रमशः सम्झौता भएका अन्य खोपहरू ल्याउने भएकाले बुस्टरका लागि खोपको चुनौती छैन," डा अधिकारी भन्छन्।
जनस्वास्थ्यविद् डा वन्तले महामारीका बेला भेरिअन्टहरू देखा परिरहनु सामान्य प्रक्रिया भएको भन्दै त्यसबाट नआत्तिने तर जोखिन नसकिएको सोचेर आफू सुरक्षित हुने उपाय कायम राखिराख्नुपर्ने बताउँछन्।
खोप अभियान सुरु भएयता नेपालमा झन्डै ४ करोड ७८ लाख मात्रा खोप प्राप्त भएकामा झन्डै ४ करोड ५ लाख लगाइसकिएको छ।
यसबीचमा लाख खोपको विवरण स्पष्ट नहुनुका साथै केही प्रयोग गर्न नसकिने गरी नष्ट भएका विवरण सार्वजनिक भएका थिए।








