क्रिप्टोकरेन्सी: अमेरिकी विज्ञलाई प्रतिबन्ध छल्न उत्तर कोरियालाई सघाएकोमा जेल सजाय

सन् २०१७ को परेडमा सलाम गर्दै उत्तर कोरियाली सैनिक

तस्बिर स्रोत, Reuters

एउटा क्रिप्टोकरेन्सी समूहमा कारम गरेका एक भूतपूर्व अमेरिकी अनुसन्धानकर्तालाई उत्तर कोरियालाई क्रिप्टोकरेन्सी प्रयोग गरेर अमेरिकी प्रतिबन्ध छल्न गरेको आरोपमा पाँच वर्षभन्दा बढीको जेल सजाय सुनाइएको छ।

भर्जिल ग्रिफिथ यसअघि पनि अमेरिकी कानुन उल्लङ्घन गर्न षड्यन्त्र गरेको अभियोगमा दोषी ठहर भएका थिए।

उनले पहिले इथीरीअम फाउन्डेशनका लागि काम गरेका थिए। उक्त संस्था क्रिप्टोकरेन्सी इथरबाहेक प्रविधिको क्षेत्रमा कार्यरत गैरनाफामुखी कम्पनी हो।

उनलाई अभियोजनकर्ताहरूले प्रस्ताव गरेको न्यूनतम सजाय ‍मात्रै दिइएको बताइएको छ।

न्यूयोर्कस्थित अदालतले उनलाई पाँच वर्ष तीन महिनाको जेल सजायबाहेक एक लाख डलर जरिवाना पनि तिर्न आदेश दिएको छ।

ती ३९ वर्षीय व्यक्तिलाई अधिकतम १० लाख डलरसम्मको जरिवाना र २० वर्ष जेल सजाय प्रस्ताव गरिएको थियो।

बिटकोइन

तस्बिर स्रोत, Reuters

उनका वकिलले एक विज्ञप्ति जारी गर्दै जेल सजायप्रति दुःख प्रकट गरेका छन्।

वकिलको विज्ञप्तिमा न्यायाधीशले "भर्जिलले आफ्ना आगामी दिनहरू उत्पादनमूलक रूपमा अगाडि बढाउने भनेका र उनी प्रतिभाशाली व्यक्ति भएकाले निकै योगदान दिन सक्ने स्वीकार गरेको" उल्लेख गरिएको छ।

अमेरिकी न्यायाधिवक्ता डामियन विलियम्सले एक विज्ञप्तिमा "न्याय" भएको टिप्पणी गरेका छन्।

सेप्टेम्बरमा ग्रिफिथलाई उत्तर कोरियाको राजधानी प्योङ्याङको यात्रा गरेर ब्लकचेन प्रविधिबारे प्रस्तुति दिएकोमा अमेरिकी इन्टर्न्याशनल इमर्जन्सी इकोनोमिक पावर्स एक्टको उल्लङ्घन गर्ने षड्यन्त्र गरेकोमा दोषी ठहर्‍याइएको थियो।

अभियोजनकर्ताहरूका अनुसार क्यालिफोर्निया इन्स्टिच्यूट अफ टेक्नोलजीबाट पीचएडी गरेका ग्रिफिथलाई अमेरिकी विदेश मन्त्रालयले उत्तर कोरिया जाने अनुमति दिन अस्वीकार गरेको थियो। तर उनले एप्रिल २०१९ मा चीन हुँदै उत्तर कोरियाको यात्रा गरेका थिए र प्योङ्याङ ब्लकचेन क्रिप्टोकरेन्सी सम्मेलनमा कार्यपत्र प्रस्तुत गरेका थिए।

अभियोजनकर्ताहरूका अनुसार सम्मेलनमा ग्रिफिथले भनेका थिए, "ब्लकचेनको सबभन्दा महत्त्वपूर्ण विशेषता के हो भने ती खुला छन्। त्यसैले अमेरिका वा संयुक्त राष्ट्रसङ्घले जे भने पनि उत्तर कोरियालाई बाहिर राख्न सकिँदैन।"

गत सेप्टेम्बरमा अमेरिकी न्याय मन्त्रालयले ग्रिफिथले प्रतिबन्धलाई बेवास्ता गरेर "अमेरिकाको राष्ट्रिय सुरक्षामा आँच आउने काम गरेको" बताएको थियो।

द इथिरीअम फाउन्डेशनले ग्रिफिथ गिरफ्तार गरिएका बेला उनको उत्तर कोरिया यात्रालाई समर्थन या स्वीकृति नदिइएको बताएको थियो।

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, उत्तर कोरियामा किम जङ-अनको १० वर्षे शासन
भिडिओ क्याप्शन सुरु हुँदैछ, सारा संसारलाई झुक्याउने जाली 'सुपरडलर' को कथा