नेपाल ऊर्जाः भारतमा बिजुलीको भाउ चार गुणाभन्दा धेरैले बढेपछि चिन्ता, कस्तो असर पर्न सक्छ

विद्युत्

भारतीय ऊर्जा सटही बजारमा विद्युत्‌को मूल्य निकै आकासिएपछि नेपालले बिहीवारबाट महँगोमै बिजुली किनेर माग सन्तुलन कायम गर्न लागेको नेपाल विद्युत्‌ प्राधिकरणका अधिकारीहरूले बताएका छन्।

मङ्गलवारयता भारतीय बजारमा नेपालले सामान्य अवस्थामा किनिरहेकोभन्दा चार गुणाभन्दा बढ्ता दरमा बिजुली महँगिँदा नेपालले गरेका धेरैजसो बोलपत्र स्वीकृत नभएको प्राधिकरणका प्रवक्ताले बीबीसीलाई बताए।

प्रवक्ता सुरेशबहादुर भट्टराईले कुनै बेला ८ रूपैयाँ हाराहारीमा किन्ने गरेको नेपालले यतिखेर ३८ रूपैयाँसम्म विद्युत्‌ किन्नुपर्ने अवस्थामा पुगेको बताउँछन्।

"आज (बिहीवार)बाट उद्योगहरूलाई पूर्ण रूपमा आपूर्ति दिन प्रतियुनिट ३८ रूपैयाँमै भए पनि उर्जा किन्ने भन्ने हामीलाई निर्देशन छ," भट्टराई बताउँछन्।

"केही समय, हाम्रो क्षमताले भ्याउँदासम्म उद्योगहरूलाई राहत दिने पक्षमा छौँ।"

महँगीको असर

भारतमा ऊर्जाको भाउ बढेपछि आयात गरिने विद्युत्‌ दुई तिहाईभन्दा कम हुनपुगेको प्राधिकरणले जनाएको छ।

चैत महिनामा विगतदेखि नै नेपालले सबैभन्दा धेरै बिजुली किन्नेगरेको पाइन्छ।

जसको असर स्वरूप गार्हस्थ्य खपतमा ठूलो असर नदेखिहाले पनि केही उद्योगहरूले पूर्ण मात्रामा विद्युत्‌ पाउन नसकेका विवरण सार्वजनिक भएका छन्।

नेपाल उद्योग वाणिज्य महासङ्घका एकजना उपाध्यक्ष दिनेश श्रेष्ठले बिनासूचना अनियमित विद्युत्‌ प्रवाह हुँदा उत्पादनहरू खेर जाने समस्या उद्योगहरूले बेहोर्नुपरेको बताए।

"हामीले विद्युत्‌ प्रभाव नरोकिने आश्वासनले गर्दा थर्मल प्लान्टजस्ता विकल्पको तयारी गरेका थिएनौँ, त्यसैले यसको समस्या छिटो समाधान गर्न सरकारकै भर परेका छौँ," श्रेष्ठ भन्छन्।

प्रसारण लाइन
तस्बिरको क्याप्शन, भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा नेपालले २४ घण्टाअघि मात्रै निर्णय गरेर चाहिने बिजुली खरिद-विक्री गर्न सकिने व्यवस्था छ।

"दुई देशका सरकारबीच छुट्टै सहमति गरेर भए पनि यसको समाधान छिटो होस् भन्ने हाम्रो धारणा हो।"

प्राधिकरणले स्वदेशी उत्पादनले थेग्ने अवस्था आउनका लागि जेठसम्म कुर्नुपर्ने बताएको छ तर आयात गर्नुपर्ने हिस्सा समेत अबका दिनमा बिस्तारै घट्दै जाने जनाइएको छ।

तर अबको केही महिना नेपालमा ऊर्जा माग समेत बढ्दै जाने विगतको प्रवृत्ति छ।

प्राधिकरणलाई चिन्ता

नेपालको लागि प्राधिकरण मात्र बिजुली खरिद-विक्री गर्ने एक मात्र निकाय हो।

अहिलेको दरमा विद्युत्‌ किन्दा प्राधिकरणको 'वित्तीय स्वास्थ्य नराम्ररी बिग्रने' समीक्षा भएको प्रवक्ता भट्टराई बताउँछन्।

जलविद्युत् आयोजना
तस्बिरको क्याप्शन, चैत महिनामा विगतदेखि नै नेपालले सबैभन्दा धेरै बिजुली किन्ने गरेको पाइन्छ।

उनको भनाइ छ, "ऊर्जाको भाउ बढेका कारण अहिले धेरै देशमा उद्योगहरूले आफ्नो क्षमता घटाएर उत्पादन गरिरहेका छन्।"

हाल नेपालको दैनिक औसत माग ३० हजार मेगावाट आवर रहेकोमा १२ हजार मेगावाट आवर आयात गर्नुपर्ने अवस्था छ।

प्राधिकरणले हालको समस्यालाई व्यवस्थापन गर्ने नाममा एउटा पक्षमा कटौती गर्दै अर्कोलाई लाभ दिने विकल्प भने नसोचेको जनाएको छ।

भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा नेपालले २४ घण्टाअघि मात्रै निर्णय गरेर चाहिने बिजुली खरिद-विक्री गर्न सकिने व्यवस्था छ।

बढ्दो माग

हाल नेपालमा ९ सय मेगावाटसम्म औसत विद्युत्‌ उत्पादन भइरहेको नेपाल विद्युत्‌ प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीवार आयोजित एक पत्रकार सम्मेलनमा बताए।

नेपालमा बर्खा याममा पूर्ण क्षमतामा विद्युत्‌ उत्पादन हुने गरे तापनि हिउँदमा ३० देखि ४० प्रतिशतसम्म उत्पादन भइरहेको उनले बताए।

तर माग बर्सेनि बढिरहेको बताउँदै उनले भने, "गत वर्ष यो समयमा १,३०० मेगावट माग रहेको अहिले १,६५० मेगावट पुगेको छ।"

गत साल वर्षा यामदेखि असोजसम्ममा ४ सयसम्म विद्युत्‌ धेरै भएको बताइएको थियो।