कोभिड नेपाल: थप १० हजारमा कोरोना भाइरस, काठमाण्डू जिल्लामा मात्रै ३० हजार सक्रिय सङ्क्रमित

मास्क

तस्बिर स्रोत, EPA

नेपालमा शुक्रवार थप १०,७०३ जना मानिसमा कोभिड पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

विगत २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणका कारण तीन जनाको मृत्यु भएको पनि मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

अहिलेको वृद्धिसँगै देशभरि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या ६५,००० नाघेको छ।

विगत दुई सातादेखि नेपालमा कोभिड-१९ निरन्तर बढिरहेको छ र १०,००० भन्दा बढी सङ्क्रमण पुष्टि भएको शुक्रवार लगातार चौथो दिन हो।

तथ्याङ्क के छ?

शुक्रवार अपराह्न प्रकाशित विवरण अनुसार विवरणअनुसार विगत २४ घण्टामा १८,६१८ वटा परीक्षण पीसीआर विधिबाट र ४,४७४ वटा एन्टिजन विधिबाट कुल २३,०९२ परीक्षण गरिएको थियो।

पीसीआर विधिबाट गरिएका परीक्षणमध्ये ४७.३ प्रतिशतमा र एन्टिजन परीक्षणमा ४२.२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो।

हाल देशभरि सङ्क्रमितको सङ्ख्या ६५,३७४ रहेको तथ्याङ्कले देखाउँछ। तीमध्ये झन्डै दुईतिहाई काठमाण्डू उपत्यकामा रहेको तथ्याङ्कले देखाउँछ।

सक्रिय सङ्क्रमितमध्ये ३०,६८८ जना काठमाण्डूमा, ७,१४५ जना ललितपुरमा र ४,२२३ जना भक्तपुरमा छन्।

विगत २४ घण्टामा काठमाण्डूमा ४,२७९ जना, ललितपुरमा ५६७ र भक्तपुरमा ४५६ जना नयाँ सङ्क्रमित थपिएका हुन्।

त्यस्तै मोरङमा ६४६ जना, सुनसरीमा ३३२ जना, झापामा २७६ जना, कास्कीमा २५४ जना र रुपन्देहीमा २७२ जना नयाँ सङ्क्रमित थपिएका छन्।

Nepal_daily_covid_Cases

अहिले आईसीयूमा १९४ जना र भेन्टिलेटरमा ३५ जना बिरामी भएको मन्त्रालयले जनाएको छ।

विगत २४ घण्टामा निको हुने सङ्क्रमितको सङ्ख्या ७६६ रहेको छ। नेपालमा कुल सङ्क्रमितमध्ये ९१.४ प्रतिशत निको भएका छन्।

अहिले सङ्क्रमित भइरहेका मध्ये अधिकांश २१ देखि ४० वर्ष उमेर समूहका मानिसहरू रहेका छन्।

सङ्क्रमित अझै बढ्ने सरकारी प्रक्षेपण

डेल्टा भेरिअन्टका कारण गएको चैत वैशाखमा दोस्रो लहरमा फैलिएकोमा यसपालि ओमिक्रोनका कारण सङ्क्रमितको सङ्ख्या बढेको हुनसक्ने विज्ञहरू बताउँछन्।

तर सरकारले ओमिक्रोनबाट सङ्क्रमित व्यक्तिहरूका बारेमा छुट्टै तथ्याङ्क भने दिएको छैन।

पौष १८ मा देशभरि केवल २१६ जनामा कोभिड पुष्टि भएकोमा पुस २५ गतेदेखि १,००० भन्दा बढीमा सङ्क्रमण पुष्टि हुन थालेको हो।

खोप लगाउने लाइन

तस्बिर स्रोत, Reuters

सङ्क्रमणदर वृद्धि भएसँगै उक्त सङ्ख्या गएको मङ्गलवार १०,००० नाघेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको थियो।

त्यसयता दैनिक सङ्क्रमितहरूको सङ्ख्या उकालो लागिरहेको देखिन्छ।

मन्त्रालय अन्तर्गतको सरुवा रोग महाशाखाले आगामी हप्ता सङ्क्रमण उत्कर्षमा पुग्ने र एक दिनमै २०,००० सम्म सङ्क्रमण पुष्टि हुनसक्ने प्रक्षेपण गरेको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोभिड खोप लिन किन सन्देहः तपाईँको प्रश्नको उत्तर

सबैभन्दा बढी सक्रिय सङ्क्रमित देखिएका काठमाण्डू उपत्यकामा शुक्रवार मध्यरातबाट लागु हुने गरी थप निषेधात्मक आदेश जारी गरिएको छ।

त्यसमा भिडभाड हुने गतिविधिमाथि प्रतिबन्ध लगाइनुका साथै जोरबिजोर प्रणाली अन्तर्गत सवारीसाधन सञ्चालन गर्नुपर्ने व्यवस्था राखिएका छन्।

घरबाट बाहिर निस्कँदा मोबाइलमा भए पनि खोप कार्ड अनिवार्य रूपमा राख्न भनिएको छ।

कोरोनाभाइरस ब्यानर

अनि यो पनि

कोरोनाभाइरस ब्यानर