कोरोनाभाइरस: चीनको शून्य कोभिड नीति कति सफल देखिएको छ?

सुरक्षाकर्मी

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, बेइजिङस्थित शीतकालीन ओलिम्पिक्स कम्प्लेक्स बाहिर एक सुरक्षाकर्मी
    • Author, काइ वाङ र वानयुआन सोङ
    • Role, बीबीसी रियालिटि चेक

चीनले अर्को महिना सुरु हुने सन् २०२२ शीतकालीन ओलिम्पिक्सका लागि कोभिडविरुद्ध सुरक्षाका सबै उपाय अवलम्बन गरिएको बताएको छ।

हिउँदे ओलिम्पिक्स फेब्रुअरी ४ मा बेइजिङमा सुरु हुँदै छ।

उक्त खेल मेलाका लागि के योजना गरिएको छ?

चीनको 'शून्य कोभिड' नीति कतिको सफल छ?

टोक्यो ओलिम्पिक्सभन्दा कडा व्यवस्थापन

चीनले ओलिम्पिक्सलाई कोरोनाभाइरसबाट टाढा राख्न ठूलो प्रयत्न गरिरहेको छ।

चीनले विदेशी दर्शकहरूलाई खेलस्थलमा प्रवेश नदिने बताएको छ।

चिनियाँ नागरिकले खेल हेर्न पाउने छन् तर प्रतियोगिता स्थलबाट घर फर्कनुअघि उनीहरूले क्वारन्टीनमा बस्नुपर्नेछ।

बेइजिङबाहिरका मानिसहरूलाई राजधानीसम्म यात्रा नगर्न भनिएको छ।

चीनले सञ्चारकर्मी, खेलाडी र पर्यवेक्षकहरूका लागि तीन ओलिम्पिक बबल तयार पारिसकेको छ। त्यहाँ प्रवेश गर्नका लागि पूर्ण मात्रा खोप लगाएको वा २१ दिन क्वारन्टीनमा बसेको हुनुपर्ने नियम राखिएको छ।

ती सबैले दैनिक कोभिड परीक्षण गराउनुपर्नेछ र अनुहार ढाक्ने मास्क जुनसुकै समयमा लगाउनुपर्नेछ।

शीतकालीन ओलिम्पिक्सका लागि बनाइएको एउटा रेल

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, तीव्र गतिका रेलहरू सञ्चालन गरिनेछ

विदेशी सहभागीहरूले चीनमा प्रवेश गर्ने बित्तिकै बबलमा प्रवेश गर्नेछन् र चीन नछाडुन्जेलसम्म उनीहरू त्यहाँ नै बसिरहनुपर्नेछ।

स्थानीय सहयोगी कामदारहरू, स्वयंसेवक, भान्से र चालकहरू पनि सुरक्षित बबलका हिस्सा हुनेछन्।

उनीहरूले बाहिरको विश्वसँग भौतिक सम्पर्क कायम गर्ने छैनन् र आफ्नो परिवारका सदस्यलाई समेत भेट्न पाउने छैनन्।

यो प्रणाली आवास, अस्पताल वा ओलिम्पिक्सका लागि तय गरिएका स्थानहरूमा मात्रै होइन, यातायातमा पनि लागु गरिएको छ।

अधिकांश खेल स्थलहरू बेइजिङ बाहिर रहेकाले विमानस्थल र तीव्र गतिको रेल प्रणालीहरूमा विशेष व्यवस्था मिलाइएको छ।

सबै अन्तर्राष्ट्रिय यात्रुहरूले विमानबाट झर्नु अघि तापक्रम जाँच्नुपर्ने भनिएको छ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सबै अन्तर्राष्ट्रिय यात्रुहरूले विमानबाट झर्नु अघि तापक्रम जाँच्नुपर्ने भनिएको छ

ओलिम्पिकसँग जोडिएका सबै व्यक्तिहरूका लागि निश्चित गरिएका सवारीसाधनमा विशेष किसिमको रातो चिन्ह अगाडि राखिएको छ।

स्थानीय ट्राफिक निकायहरूलाई त्यस्ता सवारीसाधनसँग दुर्घटना भएको अवस्थामा मानिसहरूलाई उनीहरूसँग 'सम्पर्कमा नजान' सुझाव दिन भनिएको उल्लेख गरिएको छ।

सङ्क्रमण नफैलियोस् भन्नका लागि फोहोर अस्थायी भण्डारण केन्द्रमा राखिनेछ।

अन्य के व्यवस्था गरिएको छ?

विदेशीहरूका लागि यात्रामा कडाइ गरिएको छ र आन्तरिक यात्रामा पनि नियन्त्रण कायम गरिएको छ।

विदेशबाट चीन प्रवेश गर्ने अनुमति भएका कुनै पनि यात्रुलाई आइपुग्ने बित्तिकै परीक्षण गर्ने र सरकारले तोकेका होटलहरूमा कम्तीमा दुई साता क्वारन्टीनका लागि पठाउने गरिएको छ।

सबै अन्तर्राष्ट्रिय यात्रुहरूले विमानबाट झर्नुअघि तापक्रम परीक्षण गराउनुपर्छ।

अधिकांश सहरहरूमा यसबाहेक थप सात दिन होटल वा घरमा क्वारन्टीनमा बस्नुपर्ने व्यवस्था छ।

त्यसबाहेक अर्को सात दिन निरन्तर अनुगमनमा बस्नुपर्छ जुन अवधिमा सामाजिक रूपमा घुलमिल हुन प्रतिबन्ध लगाइएको छ र स्थानीय स्वास्थ्य कर्मचारीहरूसँग नियमित सम्पर्कमा रहन भनिएको छ।

चीनले अन्तर्राष्ट्रिय यात्रामा कटौती गर्नका लागि आफ्नै नागरिकका लागि पनि 'अत्यावश्यक बाहेकका कामका लागि' राहदानी जारी गर्न र नवीकरण गर्न बन्द गरेको छ।

एउटाबाट अर्को सहरमा यात्रा गर्न वा कतिपय अवस्थामा एउटा टोलबाट अर्को टोलमा जान पनि बाध्यकारी रूपमा एकान्तवास बस्नुपर्ने व्यवस्था गरिएको छ।

ओलिम्पिक्स नजिकिँदै गर्दा चीनले सङ्क्रमणहरू देखिएका सहरहरूमा लकडाउन लगाएको छ।

सीआनका बासिन्दा

तस्बिर स्रोत, Getty Images

लकडाउनको अवधिमा मानिसहरूलाई अस्पताल जाने जस्ता अत्यावश्यक काम लागि मात्रै बाहिर निस्कन दिने गरिएको छ।

प्रहरी र स्थानीय स्वयंसेवकहरूले निगरानी बढाएका छन् र नियम तोड्नेलाई कडा कारबाही गर्ने गरिएको छ।

आम परीक्षण अभियान अन्तर्गत स्थानीय बासिन्दामा सङ्क्रमण देखिएका उनीहरूलाई तुरुन्तै घर छाडेर क्वारन्टीन केन्द्रमा पठाउने गरिएको छ।

अत्यावश्यक बाहेकका सबै उद्योगधन्दाहरू बन्द छन् एवम् खानेकुरा र अत्यावश्यक सामग्री आपूर्तिकर्ताहरूलाई मात्रै व्यवसाय सञ्चालन गर्न दिइएको छ।

विद्यालयहरू बन्द गरिएका छन् र सार्वजनिक यातायात निलम्बित गरिएको छ। लगभग सबै सवारीसाधनको आवतजावतमा प्रतिबन्ध छ।

'शून्य कोभिड' कति सफल?

चीनले महामारी नियन्त्रणमा उल्लेख्य सफलता हासिल गरेको छ।

सन् २०१९ को अन्त्यदेखि चीनले कोभिडका कारण ४,६०० भन्दा केही बढी मृत्यु भएको पुष्टि गरेको छ।

कोभिडका कारण अमेरिकामा आठ लाख ३० हजारभन्दा बढी र यूकेमा एक लाख ५० हजारभन्दा बढीले ज्यान गुमाएका छन्।

वुहान

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, महामारी सुरू भएपछि तीन महिना वुहान शहर लकडाउनमा थियो

प्रति १० लाख जनसङ्ख्यामा यो आँकडा तुलना गर्दा चीनमा तीन जनाले ज्यान गुमाउँदा अमेरिकामा २,५०० र यूकेमा २,१९० ले ज्यान गुमाएका छन्।

चीनमा सङ्क्रमणका विवरणहरू पनि एकदमै न्यून छ।

महामारीको अवधिभर सङ्क्रमितको दैनिक सङ्ख्या विरलै १५० नाघेको पाइएको छ।

यी तथ्याङ्कको सत्य भएकोमा शङ्का गरिन्छ।

तर अरू देशको तुलनामा चीनमा सङ्क्रमण र मृत्युदर दुवै कम भएको प्रस्ट देखिन्छ।

चीनको न्याश्नल हेल्थ कमीशनले अहिले देशको ८५ प्रतिशत जनसङ्ख्याले पूर्ण मात्रा खोप लगाइसकेको जनाएको छ।

व्यक्तिगत स्वतन्त्रता र अर्थतन्त्रमा जस्तोसुकै मूल्य चुकाउनु परेपनि शून्य कोभिड नीतिमा कायम रहने चीन लगभग एकमात्र देश बनेको छ।

सीआनका सुरक्षाकर्मी

तस्बिर स्रोत, Getty Images

अस्ट्रेलिया, न्यूजील्यान्ड र सिङ्गापुरजस्ता अन्य देशहरूले सन् २०२१ को अन्त्यतिर आफ्नो शून्य कोभिड कायम गर्न लागु गरिएका कडा नीतिमा परिमार्जन गरेका थिए।

डेल्टा भेरिअन्टले प्रभाव देखाइरहँदा यी देशहरूले खोप दर वृद्धि गर्न सफलता हासिल गरिसकेका थिए।

यी तीनवटा देशहरूमा सङ्क्रमितका सङ्ख्यामा वृद्धि देखिएपनि पर्याप्त खोपले गम्भीर बिरामी र मृत्यु हुने अवस्थालाई व्यवस्थापन गर्न सकिने तहमा राख्ने अपेक्षा गरिएको छ।

चीनको सन्दर्भमा कडा नियन्त्रणहरू एकदमै चाँडो खुकुलो बनाउँदा व्यापक रूपमा महामारी फैलनसक्ने चिन्ताहरू प्रकट भएका छन्।

"अहिलेका (चीनमा निर्मित) खोप र भेरिअन्टहरूका कारण चाँडै आफूलाई खुल्ला गर्दा चीनमा एउटा नयाँ लहर देखिने कुरा निश्चित जस्तै छ," हङ्कङ विश्वविद्यालयका प्राध्यापक बेन कोविङ भन्छन्।