चार लेनको बुटवल-नारायणघाट सडकको काम ठेक्काको म्याद सकिने बेलामा १० प्रतिशत

पूर्व-पश्चिम राजमार्ग
    • Author, माधव नेपाल
    • Role, बुटवल

बुटवल-नारायणगढ सडक विस्तार गर्न दिइएको समय सकिनै लाग्दा १० प्रतिशत हाराहारी काम मात्र पूरा भएको छ।

आउँदो साउन महिनाभित्र सक्ने गरी एक चिनियाँ कम्पनीलाई सडक बिस्तारको ठेक्का दिइएको थियो।

तर निर्धारित समयभित्र एकचौथाइ काम पनि सम्पन्न हुने अवस्था नदेखिएपछि आयोजनाको म्याद थप्ने प्रक्रिया सुरु गरिएको सडक विभागका अधिकारीहरूले बताएका छन्।

बुटवल-दाउन्ने र दाउन्ने-गैँडाकोट गरी दुई खण्डमा विभाजन गरिएको सडकको कूल लम्बाई ११३ किलोमिटर छ।

थप दुई वर्ष माग

त्यसको करिब साढे तीन वर्षमा कार्य सम्पन्न गर्ने गरी २०७५ चैत्रमा चाइना स्टेट कन्स्ट्रक्सनलाई ठेक्का दिइएको थियो।

तर कोरोनाभाइरसको महामारीदेखि रुख कटानमा भएको केही अवरोधलाई कारण देखाउँदै ठेकेदार कम्पनीले अरू दुई वर्ष म्याद थप्न अनुरोध गरेको सो सडक विस्तार आयोजनाको पश्चिम खण्डका प्रमुख प्रदीपराज शाक्यले जानकारी दिए।

उनले भने, "ठेकेदार पक्षबाट दुई वर्ष म्याद थप्न अनुरोध आएको छ।"

"अब कति समय थप गर्ने भन्नेबारेमा परामर्शदाताले दिएको रायको आधारमा सडक विभागले निर्णय गर्ने छ।"

सडक

अहिलेसम्म पश्चिम खण्डमा करिब एक सयवटा कल्भर्ट, १२ वटा पुल र २५ किलोमिटर जति सडकमा माटो भर्ने काम भएको बताइएको छ।

शाक्यका अनुसार त्यो सबै कार्यको अनुपातमा करिब १२ प्रतिशत मात्र हो।

पूर्वमा अझै सुस्त

अर्को खण्ड दाउन्ने-गैँडाकोटको काम भने अझै सुस्त रहेको सो आयोजनाका प्रमुख रमेश कुमार दृष्टिले बताए।

पूर्वी खण्डमा अहिलेसम्म करिब नौ प्रतिशत मात्र काम भएको उनको भनाइ छ।

आयोजना प्रमुख दृष्टिका अनुसार अब सरासर काम भएमा दुई वर्षमा सडक बिस्तार सम्पन्न हुन्छ।

सडक

ब्रिटिश सरकारले २०२८ सालमा बनाइदिएको दुई लेनको यो सडक अहिले चार लेन बन्न लागेको हो।

यो सडकका लागि लाग्ने करिब १७ अर्ब रुपैयाँमध्ये एशियाली विकास बैङ्कले ८५ प्रतिशत ऋण लगानी गरेको छ भने बाँकी १५ प्रतिशत नेपाल सरकारको लगानी छ।