क्रिप्टो टोकनः फुटबल क्लबका प्रशंसकहरूद्वारा करोडौँ डलर खर्च, यो के हो र कति सुरक्षित छ

क्लबहरूले फ्यान टोकनहरू बेचिरहेका छन्

तस्बिर स्रोत, Socios

तस्बिरको क्याप्शन, क्लबहरूले फ्यान टोकनहरू बेचिरहेका छन्
    • Author, जो टाइडी र एड्विन लेन
    • Role, बीबीसी न्यूज

फुटबल क्लबहरूले विवादास्पद क्रिप्टो "फ्यान टोकन" विक्री गरेर सम्भवत: लाखौँ पाउन्ड कमाएका छन्।

बीबीसी न्यूजले गराएको एउटा विश्लेषणमा २६ करोड २० लाख पाउन्ड अर्थात् ३५ करोड डलरभन्दा बढी रकम उक्त भर्चूअल मुद्रामा खर्च आकलन गरिएको छ।

वास्तविक विश्वमा निकै प्रतिफलयुक्त भए जस्तो गरी केही त्यस्ता टोकनको बजारीकरण गरिएको छ।

तर आलोचकहरू त्यस्ता प्रतिफलहरू महत्त्वहीन हुने बताउँछन्। उनीहरूका भनाइमा एउटाले रङ्गशाला बजाइने गीतका लागि भोट हाल्ने अवसर दियो तथापि क्लबहरूले समर्थकका लागि पर्याप्त सुरक्षाको प्रत्याभूति गरेका छैनन्।

क्लब विशेषको क्रिप्टोकरेन्सी

हालसम्म पाँचवटा मुख्य युरोपेली लीगका क्लबमध्ये २४ वटाले त्यस्ता करेन्सी सुरु गरेका छन् वा फ्यान टोकनबारे विचार गरिरहेका छन्।

त्यस्तै प्रीमीअर लीगतर्फका आठवटा क्लब पनि त्यो बाटोमा छन्।

अधिकांश क्बलहरूले क्रिप्टोकरेन्सीजस्ता क्लबविशेषका टोकनहरू प्रदान गर्छन्। ती भर्चूअल सिक्कालाई किनबेच गर्न सकिन्छ र माग तथा आपूर्तिअनुसार तिनको भाउ घटबढ पनि हुन्छ।

म्यान्चेस्टर सिटीजस्ता केही क्लबहरू सङ्ग्रह गर्न मिल्ने डिजिटल वस्तुहरू पनि विक्री गर्छन्।

तिनलाई 'एनएफटी (नन-फन्जिबल टोकन) भनिन्छ। फ्यान टोकन वितरण गर्ने अधिकांश क्लबहरू सोसिओज नामक कम्पनीको सदस्य बनेका छन्।

उक्त कम्पनीले त्यस्ता भर्चूअल सिक्काको प्रारम्भिक विक्री गर्छ र बिस्तारै तिनको व्यापार गर्छ।

त्यस्तै व्यवसाय गर्ने बाइनान्स एन्ड बिट्सीजस्ता अन्य कम्पनीहरू पनि थपिँदै गएका छन्।

सोसिओजले बीबीसी न्यूजलाई बताएअनुसार उसले २७ करोडदेखि ३० करोड डलर बराबरका सिक्का आफ्नो एपबाट बेचिसकेको छ।

उसले त्यसको कति रकम क्लबहरूमा जान्छ भन्ने चाहिँ बताएन।

फ्यान टोकन एप

तस्बिर स्रोत, Socios

तस्बिरको क्याप्शन, फ्यान टोकन एप

क्रेताहरूले सुरुमा आफ्नो पैसालाई उक्त कम्पनीको चिलिज नामक क्रिप्टोकरेन्सीमा रूपान्तरण गर्नैपर्छ।

क्रिप्टोकरेन्सीको विश्लेषण गर्ने प्रोटोज नामक संस्थाले गरेको एउटा अध्ययन अनुसार कैयौँ क्रेताले रकम आर्जनका लागि त्यस्ता टोकनलाई पनि अन्य क्रिप्टोकरेन्सीजस्तै गरी किनबेच गरिरहेका छन्।

तर धेरै फ्यान टोकनको मूल्य क्लबहरूले सुरुमा विक्री गरेका बेलाको तुलनामा तल झरेको छ।

बीबीसी न्यूजले हरेक प्रीमीअर लीग समूह र केही मुख्य युरोपेली पक्षलाई ती टोकनबारे उनीहरूको योजना, धारणा र नयाँ चलनबारे सोधेको थियो।

त्यसमध्ये एउटाले मात्र प्रतिक्रिया दिएको छ।

ब्राइटन एन्ड होभ एल्बिअनका प्रवक्ताले भने, "हामीले ती कुराहरू विक्री गरेका छैनौँ र त्यस्तो बजारमा प्रवेश गर्ने हाम्रो योजना पनि छैन।"

क्रिप्टोकरेन्सीयुक्त उत्पादनहरू सार्वजनिक खातामा आधारित हुन्छन्। त्यसलाई ब्लकचेन भनेर चिनिन्छ।

त्यसकै आधारमा प्रोटोजले यस्ता कुरा पत्ता लगाएको छः

  • लाजिओ, म्यान्चेस्टर सिटी, प्रोटो र सान्टोस सबैभन्दा धेरै विक्री गर्न सफल भए
  • लाजिओले फ्यान टोकनबाट सबैभन्दा बढी आय गर्‍यो। उसले १ करोड ३० लाख डलरसम्म आम्दानी गर्‍यो
  • पहिलो दिनको व्यापारपछि म्यान्चेस्टर सिटी र लाजिओका टोकनको मूल्य ७० प्रतिशतसम्म घटेको छ
  • इन्टर मिलान र टर्कीको ट्राब्जोन्स्पोर क्लबका टोकनको मूल्य पोहोर बिटकोइनको भन्दा पनि धेरै बढेको छ।

"समर्थकहरूलाई सहभागी गराउने खालका उत्पादनमा फ्यान टोकनहरू तपाईँले सोचेभन्दा निकै तीव्र रूपमा किनबेच भएका छन्," प्रोटोजका समाचार निर्देशक डेभिड क्यानेलिस भन्छन्।

"साना क्रिप्टोकरेन्सीजस्तै यी फ्यान टोकनहरू पनि एकदमै उतारचढावमा छन् किनकि सानो सङ्ख्यामा मात्र मानिसहरू किनबेच गर्न चाहन्छन्। सट्टेबाजहरूलाई त्यो थाहा छ, त्यसैलाई मलाई के लाग्छ भने धेरै फ्यान टोकनको बजार त्यस्ता सट्टेबाजद्वारा छोटो समयका लागि नाफा गर्ने हिसाबले नियन्त्रित छन्।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, न सिक्का न नोटः बिटकोइन के हो?

क्रेता

अहिलेको प्रणालीप्रति अर्को आलोचना भनेको अधिकांश टोकनहरू फ्यानलाई विक्री गर्नुको साटो क्लबहरूले राख्नु पनि हो। त्यसले गर्दा बजार विकृत बन्छ।

मुख्य १३ वटा क्लबसँग भएका टोकनको मूल्य १ अर्ब ९० करोडभन्दा माथि छ। तर व्यक्तिगत क्रेताहरूसँग भएका टोकनको हालको मूल्य ३७ करोड ६० लाख डलर बराबर मात्र छ।

औसतमा क्लबहरूले फ्यान टोकनको आपूर्तिको ८० प्रतिशत हिस्सा ओगट्छन्।

"क्लबहरूले एकै पटकमा धेरै विक्री नगरी सन्तुलित गर्नुपर्ने हुन्छ," क्यानेलिसले भने।

फ्यान टोकन

तस्बिर स्रोत, MakersPlace

"यदि उनीहरूले एकै पटकमा धेरै विक्री गरे भने उनीहरूले मूल्यलाई दुर्घटनामा पार्ने जोखिम निम्त्याउनेछन्।"

उनले केही क्लबहरूको टोकनमा त्यस्तो देखिइसकेको बताए।

फुटबल समर्थक

केही फुटबल फ्यान समूहहरू पनि सम्भावित शोषणबारे चिन्तित छन्।

वेस्ट ह्याम यूनाइटेड सपोटर्स ट्रस्टका अध्यक्ष सुई वाट्सनका भनाइमा टोकनहरूको नियमन भइरहेको छैन र ती सुरक्षित पनि छैनन्। अनि त्यसले क्लबहरूले आफ्ना समर्थकहरूको सुरक्षाका लागि के गरेका छन् भन्ने प्रश्न पनि उठेको उनको धारणा छ।

सोसिओज एपमा अन्य क्रिप्टो बजारको जस्तै क्लब टोकनहरूको सूचना व्यवस्थित गरिएको छ। त्यहाँ मूल्य घटबढका साथै खरिद र विक्रीको विकल्प पनि दिइएको छ।

तर सोसिओजका म्याक्स रोबिनोभिच टोकनहरू बेच्नका भन्दा पनि कुनै पनि क्लबका समर्थकलाई पुरस्कृत गर्नका लागि बनाइएको बताउँछन्।

काम लाग्ने सुविधा

उनी कुनै टोकन बेचेर पैसा कमाउनुभन्दा पनि डिजिटल पसलमा स्थायी रूपमा पाइने पाँच प्रतिशत छुट र टिकट जित्न सक्ने अवसरजस्ता सुविधा लाभदायक हुने बताउँछन्।

उनी ती टोकनहरूको व्यापारबाट कुनै लाभ हुनेभन्दा पनि अन्य फाइदा रहेको बताउँछन्।

उनका भनाइमा टोकन प्रयोग गरेर समर्थकहरूले क्लबहरूको "लोयल्टी पोइन्ट" सङ्कलन गर्न गर्न र क्लबका पक्षमा मत हाल्न पाउँछन्।

उनी भन्छन्, "खास कुरा के हो भने यी टोकनहरू किन्नुहोस् र आफैँसँग राख्नुहोस्।"

तर उनी क्लबहरूले काम लाग्ने खालका सुविधाहरू थप्नुपर्ने मत राख्छन्।

डिजिटल एनिमेशन

क्लबहरू अर्को माध्यमबाट क्रिप्टो उत्पादनमा प्रवेश गरिरहेका छन्। उनीहरू नन्-फन्जिबल टोकनहरू वा एनएफटी पनि बेच्छन्।

म्यान्चेस्टर सिटी, रेन्जर्स र यूभेन्टस सबैले आधिकारिक एनएफटीहरू जारी गरेका छन्।

केहीले त्यस्ता नौलाखाले डिजिटल तस्बिर र भिडिओ बनाउन दशौँ हजार डलर खर्च गरेका छन्।

फ्यान टोकन

तस्बिर स्रोत, NurPhoto

एनएफटी सङ्कलक तथा धनाढ्य माइक बोउसिस आफूले पाँचवटा त्यस्ता एनएफटी किन्न करिब ४० हजार डलर खर्चेको बताउँछन्।

उनले आफू म्यान्चेस्टर यूनाइटेडको समर्थक रहेको र उक्त क्लबले आधिकारिक एनएफटीहरू जारी गरेको थाहा पाएपछि किन्न मन लागेको बताउँछन्।

अमेरिकाको न्याश्नल बास्केटबल एशोसिएशन (एनबीए) बास्केटबल खेलका भिडिओ क्लिपहरू राखेर एनएफटी जारी गर्ने विश्वकै पहिलो खेलसम्बन्धी संस्था हो।

तर प्रोटोजको अनुसन्धानले त्यस्ता एनएफटीको मूल्य सन् २०२१ को सुरुयता ९० प्रतिशत घटिसकेको देखाएको छ।

केही त्यस्ता एनएफटीको मूल्य बढेको पनि छ।

तर फुटबल लेखक मार्टिन क्याल्डिनका भनाइमा समर्थकहरूले त्यस्ता एनएफटीहरूमा लगानी गर्न सावधानी अपनाउनुपर्छ।

"क्रिप्टोकरेन्सी नियमनभित्र छैन। फुटबलमा कानुनी निगरानी नभएको यो मात्र एउटा उत्पादन हो। पैसा कमाउने यो एउटा तरिका हो भन्ने लाग्छ भने तपाईँ यसलाई किन्दै नकिन्नुहोला," उनी भन्छन्।

"तर निश्चित रूपमा नै यस्ता चिज भएको व्यक्ति सडकमा भएको औसत फुटबल समर्थक मात्र चाहिँ रहनेछैन।"