दिल्ली वायु प्रदूषण: बाली भित्र्याएपछि खेतमा आगो लगाउँदा वायु कति प्रदूषित हुन्छ?

तस्बिर स्रोत, Getty Images
- Author, रीयालिटी चेक टीम
- Role, बीबीसी न्यूज
भारत सरकारले राजधानी दिल्लीमा चरम स्तरमा पुगेको वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले आकस्मिक उपायहरू लागु गरेको छ।
प्राय: जाडो महिनामा विभिन्न कारणले दिल्लीको तुवाँलो सबैभन्दा नराम्रो अवस्थामा पुग्छ।
कृषकहरूले धानका ठुटा पोल्ने परम्परा, कारखानाबाट हुने उत्सर्जन, यातायातका साधनबाट निस्किने धुवाँ, दीपावलीका अवसरमा पड्काइने पटाका आदिका कारण वायु प्रदूषण बढ्ने गरेको छ।
तर ती कुराहरूले प्रदूषणको समस्यामा कति योगदान गरेका छन् त?
दिल्लीको प्रदूषण कति खराब?
ग्रीन पीसका अनुसार कोभिड रोकथामका लागि लकडाउन लगाइएको बेलामा प्रदूषणको सम्पर्कमा पुगेका कारण गत वर्ष दिल्लीमा झन्डै ५७,००० जनाको अकालमृत्यु भएको थियो।
अहिले देखिएको चरम अवस्थाका कारण दिल्लीमा अधिकारीहरूले विद्यालयहरू बन्द गर्ने, निर्माणको कार्य बन्द गराउने र कर्मचारीलाई घरैमा बसेर काम गर्ने वातावरण मिलाउन सरकारी र निजी कार्यालयलाई आदेश दिने जस्ता उपाय घोषणा गरेका छन्।
त्यसलाई आंशिक लकडाउन भनिएको छ र बीबीसीका दक्षिण एशिया क्षेत्रीय सम्पादक अनबरसन इथिराजनका भनाइमा अधिकारीहरूले प्रदूषणलाई लिएर सम्भवत: पहिलो पटक लकडाउन भन्ने शब्द प्रयोग गरेका हुन्।
सर्वोच्च अदालतले पनि केन्द्र र प्रदेश सरकारहरूलाई आकस्मिक उपायहरू अवलम्बन गर्न आदेश दिइसकेको छ।
दिल्लीमा वायुमण्डलमा पाइने खराब तत्त्वहरू विश्व स्वास्थ्य सङ्गठनले तोकेको अन्तर्राष्ट्रिय मापदण्डभन्दा निकै बढी छन्। तिनलाई पीएम२.५ भनेर चिनिन्छ।
केन्द्र सरकारका अनुसार कृषकहरूले बाली भित्र्याइसकेपछि खेतमा धानका ठुटा जलाउँदा प्रदूषणमा १० प्रतिशत जति योगदान गर्छ।
जाडो सुरु हुन लागेपछि दिल्ली नजिकका राज्यमा किसानहरूले धानका ठुटा र अन्य बालीका अवशेषहरू जलाउन थाल्छन्।
त्यस्तो कार्यलाई सन् २०१५ मै प्रतिबन्ध लगाइएको भए पनि कार्यान्वयन एकदमै कमजोर छ।
सरकारको आफ्नै अनुगमनसम्बन्धी विवरणले कृषकले जलाउने त्यस्ता तत्त्वको प्रदूषणमा हुने योगदान दैनिक रूपमा तलमाथि पर्ने गरेको देखाउँछन्।
नोभेम्बर १५ मा त्यस्तो अंश १० प्रतिशत थियो तर एक साताअघि ४८ प्रतिशत थियो।

तस्बिर स्रोत, AFP
भू-उपग्रहरूले पञ्जाब र हरियाणा राज्यका धेरै स्थानमा गत वर्षभन्दा बढी आगो बलेको देखाएका छन्।
नोभेम्बरका पहिला दुई सातामा ती दुई राज्यमा कृषकका खेतमा ५७,००० बटा आगो बालिएको देखिएको छ। त्यो सन् २०१२ यताकै सबैभन्दा बढी हो।
कैयौँ राज्यहरूले दीपावलीका बेला पटाका बेच्न र पड्काउन प्रतिबन्ध लगाएका छन्। तर त्यसको कार्यान्वयन पनि निकै कमजोर छ।
सन् २०१८ को एउटा अध्ययनअनुसार दीपावलीका बेला पड्काइने पटाकाका कारण सानो तर तथ्याङ्कीय रूपमा महत्त्वपूर्ण असर देखिन्छ।
उक्त अध्ययन दिल्लीका पाँचवटा स्थानमा केन्द्रित थियो र त्यसमा सन् २०१३ देखि २०१६ सम्मको विवरण हेरिएको थियो।
दीपावली प्राय: अक्टोबरको अन्त्य वा नोभेम्बरको सुरुमा पर्ने गर्छ।
फरकफरक मितिहरू महत्त्वपूर्ण छन् किनभने अनुसन्धानकर्तालाई धानका ठुटा र बालीको रहलपहल जलाउँदा बढ्ने प्रदूषणबारे अध्ययन गर्न सहज हुन्छ। किनभने त्यस्तो कार्य सधैँ वर्षको लगभग उस्तै मितिमा सुरु हुन्छ।
"हामीले उत्तरी भारतमा कहिले बालीका अवशेषहरू जलाइन्छ भन्ने हेर्नका लागि नासाको भू-उपग्रह प्रयोग गर्यौँ," उक्त अनुसन्धानका लेखक धनञ्जय घईले बीबीसीसँग भने।
चारमध्ये दुई वर्षमा दीपावली र बालीका अवशेष जलाउने समय एउटै थिएन, फरकफरक थियो।
अनि बिदाका कारण एउटा स्थानमा औद्योगिक कार्यहरू पनि भएका थिएनन्।

तस्बिर स्रोत, Getty Images
उनीहरूले मौसमको अवस्थालाई पनि आफ्नो अध्ययनको गणनामा समाविष्ट गरे।
उनीहरूले दीपावलीको भोलिपल्ट पीएम२.५ झन्डै ४० प्रतिशत जम्मा भएको पत्ता लगाए।
त्यसपछि दीपावली सकिएसँगै त्यो बिस्तारै पुरानै औसत अवस्थामा फर्किएको पाइयो।
तर दीपावलीको मुख्य दिन र सबैभन्दा धेरै पटाका पड्काइने दिनमा घण्टाका हिसाबले हेर्दा साँझको ६ बजेपछि सो रात उक्त मात्र १०० प्रतिशत बढेको भेटियो।
दिल्लीस्थित एउटा गैरनाफामूलक विज्ञान तथा पर्यावरण केन्द्रले निकालेको प्रतिवेदनअनुसार दीपावलीका बेला दिल्लीमा सन् २०१८, २०१९ र २०२० मा पीएम२.५ को मात्रा बढेको थियो।
सबै पटाकाले पीएम२.५ का कणहरू उत्सर्जन गर्दैनन् तर ठूला पटाकाले धेरै गर्छन्।
तर त्यस्ता पटाकामा हेभी मेटल भनिने गह्रुङ्गा धातुसहित विषाक्त तत्त्वहरू पनि हुन्छन्।
भारतीय सहर जमशेदपुरमा गरिएको अर्को एउटा छुट्टै अध्ययनले दीपावलीका बेला निम्न तत्त्वहरू पाइएको देखाएको छ:
- पीएम१० कण
- सल्फर डाईअक्साइड
- नाइट्रोजन डाईअक्साइड
- ओजोन
- फलाम
- सिसा
- म्यागनीज
- तामा
- बेरिलियम
- निकल
सरकारको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डले पटाकामा हुने १५ वटा पदार्थलाई "घातक र विषाक्त" भनेको छ।

तस्बिर स्रोत, Getty Images
यद्यपि तीमध्ये कतिपय पदार्थ सवारीसाधनबाट उत्पन्न हुने प्रदूषणका कारण पनि पाइन्छन्।
दीपावलीका बेला मानिसहरू किनमेल गर्न निस्किँदा तथा परिवार र नातागोतासँग भेटघाटका लागि घरबाट निस्किने गर्छन्। त्यसले सवारीसाधनहरूको सञ्चालन पनि धेरै हुन्छ।
यद्यपि यो समयमा किन प्रदूषण बढ्छ र कुन कुराको योगदान कति छ भन्नेबारे एकदमै थोरै अध्ययन भएको छ।
यो पनि हेर्नुहोस्









