बेलारुस आप्रवासी सङ्कटको मुख्य योजनाकार पुटिन रहेको पोल्याण्डको आरोप

तस्बिर स्रोत, Reuters
पोल्याण्डका प्रधानमन्त्रीले आफ्नो देशको बेलारुससँगको सीमामा उत्पन्न आप्रवासी सङ्कटको पछाडि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन रहेको आरोप लगाएका छन्।
माटयुस मोराभियस्कीले पुटिनका निकट साझेदार बेलारुसी राष्ट्रपति एलेक्जेन्डर लुकासेन्कोले यस्तो सङ्कट सिर्जना गराएको तर 'त्यसको मुख्य योजनाकार मस्कोमा रहेको' बताएका छन्।
ब्रसल्स र वार्साले युरोपेली सङ्घले बेलारुसमाथि प्रतिबन्धहरू लगाएपछि मिन्स्कले गैरकानुनी आप्रवासीहरूलाई हतियारका रूपमा प्रयोग गरेको आरोप लगाएका छन्।
बेलारुसी नेता एलेक्जेन्डर लुकासेन्कोले युरोपेली सङ्घको प्रतिबन्धको बदलामा मानिसहरू सीमातर्फ पठाइएका भन्ने आरोपलाई अस्वीकार गरेका छन्।
तर बेलारुसका नेताले अवस्था बिग्रिएमा आफूले रुसको सहायता लिने चेतावनी दिएका छन्।
पोल्याण्डका प्रधानमन्त्रीले के भने?
मङ्गलवार पोल्याण्डका प्रधानमन्त्री मोराभियस्कीले सीमामा फौजहरूलाई भेटेपछि संसद्को एउटा आपत्कालीन सत्रमा बोलेका थिए।
त्यहाँ उनले भने, "लुकासेन्कोले सञ्चालन गरिरहेको हमलाका योजनाकार मस्कोमा छन्। ती मुख्य योजनाकार राष्ट्रपति पुटिन हुन्।"

तस्बिर स्रोत, Polish Prime Minister
उनले ३० वर्षमा पहिलोपटक पोल्याण्डको सीमा सुरक्षामाथि 'निर्दयी हमला' भएको बताए।
भिडिओ फुटेजहरूमा काँडेतारले छुट्याइएको पोल्याण्डसँगको सीमामा बेलारुसतर्फ मानिसहरूको भिड देख्न सकिन्छ।
सङ्कट
निकै चिसो मौसमकाबीच यतिखेर कम्तीमा २ हजार आप्रवासीहरू सीमामा रोकिएका छन्।
ती आप्रवासीहरूमा धेरैजसो मध्यपूर्व, अफगानिस्तान र अफ्रिकाका मानिसहरू छन्।
तिनमा युवा पुरुषहरू भए पनि महिला र बालबालिकाहरू समेत छन्।

तस्बिर स्रोत, Shwan Kurd
भिडिओमा केहीले सीमामा रहेको काँडेतारलाई काटेर, रूखको मुढा ढलाएर र सामूहिक बल लगाएर जबर्जस्ती सीमा पार गर्न अगाडि बढ्न खोजेको देखिन्छ।
जबकी पोल्याण्डका सुरक्षाकर्मीहरूले अश्रुग्यासको प्रयोग गर्दा तिनलाई पछाडि धकेल्न खोजेका देखिन्छ।
आप्रवासीमाथिको व्यवहारको निन्दा
एकातर्फ पोल्याण्ड र अर्कोतर्फ बेलारुसका सुरक्षाकर्मीबीच फसेका उनीहरू बेलारुसतर्फ टेन्ट टाँगेर बसेका छन्।
नर्वेली शरणार्थी परिषद्का महासचिव यान एगल्याण्डले आप्रवासीहरूमाथि गरिएको व्यवहारको निन्दा गरेका छन्।

तस्बिर स्रोत, Shwan Kurd
उक्त सीमा क्षेत्रमा रातीको तापक्रम शून्य डिग्री सेल्सिअसभन्दा तल झर्ने गर्छ र पछिल्ला सातामा कयौँको मृत्यु समेत भइसकेको छ।








