बिहीवारबाट मौसममा सुधार हुने, अवरुद्ध सडकहरू खुल्न अझै केही दिन लाग्ने

इनरूवामा बाढी पीडित

तस्बिर स्रोत, RSS

कम्तीमा ७७ जनाको ज्यान जानेगरी आएको बेमौसमी भनिएको पछिल्लो वर्षाको प्रवृत्ति बुधवारबाटै कमजोर बनेको र बिहीवारबाट त्यसमा उल्लेख सुधार आउने मौसमविद्हरूले बताएका छन्।

आइतवारयता आएको वर्षाले नेपालका १९ जिल्ला प्रत्यक्ष असर परेकोमा १३ जिल्लामा मानवीय क्षति भएको गृह मन्त्रालयका प्रवक्ताले बताएका छन्।

अस्तव्यस्त यातायात

यसले खासगरी देशका प्रदेश नं १ र सुदुरपश्चिम प्रदेशका पहाडी भेगमा कयौँ सडक खण्डहरू अवरुद्ध भएको अधिकारीहरूले बताएका छन्।

त्यसरी अवरूद्ध भएका सडकहरू अधिकांशजसो दुई-तीन दिनभित्र सञ्चालनमा ल्याउन सकिने आफूहरूको अपेक्षा रहेको अधिकारीहरूको भनाइ छ।

सडक विभागका अनुसार अवरुद्ध भएका मुख्य सडकहरूमा धरान-धनकुटा, खोड्पे-बझाङ, स्याउले-डोटी, अछाम-मार्तडी लगायत छन्।

मनसुनी वर्षाबाट बिग्रिएर केहीअघि मात्र सञ्चालनमा आएको गण्डकी प्रदेशको बेसीशहर-मनाङ सङक खण्डका पुरानै ठाउँमा असर देखिएर अवरुद्ध भएको विभागका अधिकारीहरूको भनाइ छ।

कर्णाली राजमार्ग तथा मध्य पहाडी राजमार्गको सिन्धुली र ओखलडुङ्गामा समेत पहिरोले अवरोध पुर्‍याएको बताइएको छ।

सामान्य भासिएको वा पहिरो मात्र पन्छाउनुपर्ने ठाउँका हकमा दुईदेखि तीन दिनभित्र सडक खुलाउन सकिने सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले बताए।

"यो दुई तीन दिनभित्र खुलाउन सकिने देखिन्छ। धेरै ठूलो क्षति छैन। अघिल्लो बर्खाका बेला भएको जस्तो क्षति भएको छैन," थापाले भने।

बझाङ पहिरो

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, बझाङमा पहिरोमा परि वेपत्ता भएकाहरूको खोजीकार्य

उनका अनुसार धेरै क्षति भएको सडकमा हुलाकी राजमार्गको राजापुर र टीकापुर जोड्ने खण्ड पर्छ जहाँ एक ठाउँमा कर्णाली नदीले धार नै परिवर्तन गरेको हुँदा बनाउन एक महिनासम्म लाग्नसक्छ।

पूर्वी पहाडमा मुख्य सडक जोड्ने ससाना सडक खण्डहरू धेरैतिर अवरुद्ध रहेको नेपाल प्रहरीका प्रवक्ता बसन्तबहादुर कुँवरले बताएका छन्।

मौसममा सुधार

नेपालमा पूर्वबाट प्रवेश गरेको बङ्गालको खाडीमा विकसित प्रणाली र पश्चिमबाट प्रवेश गरेको मध्य भारतमा रहेका न्यून चापीय पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव यो साता देखिएको बताइन्छ।

त्यसैले त्यसको प्रभाव ती दुवैको प्रवेश विन्दुमा उच्च देखिएको मौसमविदहरू बताउँछन्।

तर बिहीवारबाट त्यो कमजोर हुने बताउँदै जल तथा मौसम विज्ञान विभागका मौसमविद् वरुण पौडेल भन्छन्, "सुदूर पश्चिम र कर्णाली प्रदेशमा बुधवारबाटै पानी पर्ने क्रम रोकिएको छ। पानी पार्ने मौसम प्रणाली पश्चिमबाट क्रमश: पूर्वतिर सरिरहेको छ। बिहीवारबाट मौसममा सुधार हुनेछ र धेरै ठाउँमा घाम लाग्नेछ।"

राहत घोषणा

बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले यस विपदमा ज्यान गुमाउनेका परिवारलाई आर्थिक सहयोग, जमिन गुमाउनेलाई जग्गा र घाइतेको निःशुल्क उपचार गर्ने जनाएको छ।

"परिवारको कोही दिवंगत भएको भए दुई लाख रुपैयाँ राहत दिने र सोही परिवारका थप अरू दिवंगत भएको भए थप एक लाख दिने निर्णय भएको छ," गृहमन्त्री बालकृष्ण खाँणले बताए।

उद्धार तथा राहतमा यतिखेर तीनवटै सरकार मिलेर काम गरिरहेको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले बताएका छन्।

"जिल्ला विपद्‌ व्यवस्थापन समिति, प्रदेश सरकार र स्थानीय तह मिलेर उद्धारकार्य भइरहेको छ," उनले भने।

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'अविरल वर्षाका कारण करिव १०० उडान रद्ध, विराटनगर उडान हुन एक-दुई दिन लाग्न सक्ने'