कोभिडः सन् २०२२ सम्मै महामारी लम्बिन सक्ने डब्ल्यूएचओको चेतावनी

तस्बिर स्रोत, Getty Images
"विपन्न मुलुकहरूले आफूलाई चाहिने कोभिड खोपहरू नपाइरहेकाले" कोभिड महामारी सोचेभन्दा एक वर्ष बढी समय रहन सक्ने विश्व स्वास्थ्य सङ्गठनले चेतावनी दिएको छ।
डब्ल्यूएचओस्थित वरिष्ठ अधिकारी डा. ब्रुस एल्वर्डले त्यसको अर्थ कोभिड सङ्कट "सन् २०२२ को अन्त्यसम्मै मजाले लम्बिने" देखिएको बताए।
अफ्रिकाको पाँच प्रतिशतभन्दा कम जनसङ्ख्याले कोभिड खोप पाएको छ जबकि अरू अधिकांश महादेशमा ४० प्रतिशतले खोप पाइसकेका छन्।
खोपको आवश्यकता रहेका देशहरूलाई यूकेले एक करोड मात्राभन्दा बढी खोप उपलब्ध गराएको छ।
समीक्षा गर्ने बेला
यूके सरकारले कोभिड खोपको कुल १० करोड मात्रा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
डा. एल्वर्डले सम्पन्न देशहरूलाई खोपका लागि दिएको अर्डर छोड्न आग्रह गरे ताकि उत्पादक कम्पनीहरूले कम आय भएका मुलुकलाई प्राथमिकतामा राख्न सकून्।
सम्पन्न देशहरूले ठूला औद्योगिक राष्ट्रहरूको समूह जी ७ लगायतका बैठकमा कोभिड खोप सहयोगबारे आफूहरूले जनाएको प्रतिबद्धताबारे "समीक्षा गर्न आवश्यक रहेको" उनले औँल्याए।
डा. एल्वर्डले भने, "म भन्न सक्छु कि तपाईँहरू सही बाटोमा हुनुहुन्न।"
"हामीले साँच्चिकै गति बढाउन जरुरी छ नभए तपाईँहरूलाई थाहा छ कि यो महामारी जानुपर्ने समयभन्दा एक वर्ष ढिलो गरी जानेछ।"

तस्बिर स्रोत, Getty Images
परोपकारी संस्थाहरूको एउटा गठबन्धन द पिपुल्स च्यारिटिजले कोभिड खोपसम्बन्धी नयाँ तथ्याङ्क सार्वजनिक गरेको छ।
उसको तथ्याङ्क अनुसार उत्पादक कम्पनी र सम्पन्न राष्ट्रहरूले प्रतिबद्धता जनाएका कोभिड खोपका सातमध्ये एउटा मात्रा मात्रै अति गरीब देशहरूमा पुग्न सकेको छ।
अधिकांश कोभिड खोप उच्च अथवा मध्यम आय भएका देशहरूले पाएका छन्।
विश्वभरि दिइएका खोपमध्ये अफ्रिकाले २.६ प्रतिशत मात्रै पाएको छ।








