कश्मीर तनावः सुरक्षाकर्मीले किन गरे सयौँ मानिसलाई पक्राउ

सुरक्षाकर्मी

तस्बिर स्रोत, EPA

भारतप्रशासित कश्मीरमा सन्दिग्ध विद्रोहीद्वारा भएका हत्याका घटनापछि सुरक्षाकर्मीले सयौँ स्थानीय बासिन्दालाई पक्राउ गरेका छन्।

पछिल्लो हप्तामा सातजना नागरिकको हत्या भएएपछि त्यसले धेरैमा आक्रोश निम्त्याएको छ।

एक भारतीय अधिकारीले बीबीसीलाई बताएअनुसार पाँच सय जनाभन्दा बढी मानिसलाई पक्राउ गरिएको छ।

प्रतिबन्धित लडाकु समूहसँग सम्बन्ध रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको अधिकारीहरूको दाबी छ।

लडाकु समूहको दाबी

तुलनात्मक रूपमा नयाँ देखिएको एउटा समूहले आक्रमणहरू आफूले गराएको जिम्मेवारी लिएको छ।

सो समूहको दाबी छ- हत्या गरिएका मानिसहरू भारतीय फौजका लागि काम गर्थे।

हत्या गरिएका मानिसमध्ये अल्पसङ्ख्यक हिन्दू र शिख समुदायका दुईजना शिक्षक पनि भएको अधिकारीहरूले बताएका छन्।

मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले शनिवार भनेको थियो- विद्रोहीहरूको आक्रमण र सरकारी फौजको दमनका कारण कश्मीरका मानिसहरू अन्तहीन हिंसाको शिकार भएका छन्।

सुरक्षाकर्मी

तस्बिर स्रोत, EPA

सन् २०१९ को अगस्टमा नयाँ दिल्लीले मुस्लिम बहुल कश्मीरको अर्धस्वायत्त हैसियत खोसेयता त्यहाँ तनाव जारी रहेको छ।

हिन्दू राष्ट्रवादी सरकारले जम्मू-कश्मीर राज्यको विशेष संवैधानिक मान्यता खारेज गरेर त्यसलाई दुईवटा केन्द्रशासित भूभागमा परिणत गरिदिएको थियो।

सो निर्णयानुसार जम्मू-कश्मीर एउटा र लद्दाख अर्को केन्द्रशासित भूभाग बनेका छन्।

भारत-पाकिस्तान विभाजनपछि भएका महत्त्वपूर्ण घटना

सन् १९४७ मा ब्रिटिश शासनबाट मुक्त भएसँगै भारत र पाकिस्तान छुट्टिएर नयाँ स्वतन्त्र राष्ट्र बने।

स्थापनाकालदेखि नै यी दुई छिमेकी देशबीच कहिल्यैपनि सम्बन्ध सुमधुर हुन सकेन। सम्बन्धमा तिक्तताको केन्द्रमा सधैँ कश्मीर रह्यो।

यस अवधिमा दुई देशबीच कैयौँ यस्ता घटना भए जसले कहिले युद्ध नै निम्त्यायो त कहिले चर्को तनाव।

कश्मीर

हाल भारत र पाकिस्तानमाझ पुन: चर्किएको तनावका माझ यी दुई दक्षिण एशियाली मुलुकहरूबीच यस अवधिमा भएका महत्त्वपूर्ण घटनाको सङ्क्षिप्त विवरण -

अक्टोबर १९४७: भारत र पाकिस्तानबीच पहिलो युद्ध। स्वतन्त्र भएको केवल दुई महिनापश्चात् दुई छिमेकी कश्मीरलाई लिएर युद्धमा होमिए।

भारतका जवाहरलाल नेहरु(बायाँ), ब्रिटिश इन्डियाका भाइसरोय लर्ड लुई माउन्टब्याटेन (बीचमा) र अल इन्डिया मुस्लिम लीगका अध्यक्ष महुम्मद अलि जिन्नाह(दायाँ) सन् १९४७ मा विभाजनबारे कुरा गर्दै

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, भारतका जवाहरलाल नेहरु(बायाँ), ब्रिटिश इन्डियाका भाइसरोय लर्ड लुई माउन्टब्याटेन (बीचमा) र अल इन्डिया मुस्लिम लीगका अध्यक्ष महुम्मद अलि जिन्नाह(दायाँ) सन् १९४७ मा विभाजनबारे कुरा गर्दै

अगस्ट १९६५: कश्मीरलाई नै लिएर दुई छिमेकीबीच अर्को छोटो युद्ध

डिसेम्बर १९७१: भारतद्वारा पूर्वी पाकिस्तान (वर्तमान बाङ्ग्लादेश) मा अतिक्रमण। इस्लामाबादको शासनविरुद्ध स्वतन्त्रताको लडाइँमा भारतको समर्थन। भारतीय वायुसेनाद्वारा पाकिस्तानी भूभागमा बम आक्रमण। बाङ्ग्लादेशको स्थापनासँगै युद्धको अन्त्य

सन् १९८९: कश्मीर उपत्यकामा भारतीय शासनविरुद्ध सशस्त्र विद्रोहको थालनी

फेब्रुअरी १९९९: भारतीय प्रधानमन्त्री अटल बिहारी वाजपेयीद्वारा पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफसँग भेट्न र शान्ति सम्झौता गर्न बस चढेर पाकिस्तानको लाहोर प्रस्थान

मे १९९९: पाकिस्तानी सेना तथा विद्रोहीद्वारा कार्गिल पर्वतमा रहेका भारतीय सैनिक शिविर कब्जा। सीमित द्वन्द्व सुरु। भारतद्वारा हवाई तथा स्थल आक्रमणपश्चात् अतिक्रमणकारीहरू फिर्ता

मे २००१: भारतको आगरामा भारतीय प्रधानमन्त्री वाजपेयी र पाकिस्तानी राष्ट्रपति परवेज मुशर्रफको भेटवार्ता। कुनै सम्झौता हुन सकेन।

अक्टोबर २००१: श्रीनगरस्थित कश्मीरको विधानसभामा आक्रमण, ३८ जनाको मृत्यु

१३ डिसेम्बर २००१: दिल्लीस्थित भारतीय संसद्‌मा भएको सशस्त्र आक्रमणमा १४ जनाको मृत्यु

भिडिओ क्याप्शन सुरु हुँदैछ, विभाजन गर्ने रेखा

फेब्रुअरी २००७: भारत र पाकिस्तानबीच चल्ने सम्झौता एक्सप्रेस रेलमा बम विस्फोट। ६८ जनाको मृत्यु

२६ नोभेम्बर २००८: विद्रोहीहरूद्वारा मुम्बईस्थित मुख्य रेलवे स्टेशन, विलासी होटलहरू तथा एक यहुदी सांस्कृतिक केन्द्रमा आक्रमण, ६० घण्टे घटनामा १६६ जनाको मृत्यु। भारतद्वारा पाकिस्तानमा रहेको लश्कर-ए-तइबा समूहमाथि दोष

भारत-पाकिस्तान विभाजन

तस्बिर स्रोत, Getty Images

ज्यानुअरी २०१६: पठानकोटस्थित भारतीय वायुसेनाको अखाडामा भएको चार दिन लामो आक्रमणमा सात भारतीय सैनक र छ विद्रोहीको मृत्यु

१८ सेप्टेम्बर २०१६: भारत प्रशासित कश्मीरस्थित उरीमा रहेको सैन्य अखाडामा विद्रोहीद्वारा हमला। १९ सैनिकको मृत्यु

३० सेप्टेम्बर २०१६: भारतद्वारा पाकिस्तानी कश्मीरमा सैन्य कारबाही 'सर्जिकल स्ट्राइक' गरेको दाबी, पाकिस्तानद्वारा त्यस्तो कारबाही भएको अस्वीकार

१४ फेब्रुअरी २०१९: कश्मीरको पुलवामामा विद्रोहीद्वारा आत्मघाती विस्फोट, अर्धसैनिक बल सीआरपीएफका ४० भन्दा धेरैको मृत्यु। पाकिस्तानमा रहेको जैश-ए-मोहम्मद समूहद्वारा जिम्मेवारी स्वीकार

कश्मीर

तस्बिर स्रोत, Abid Bhat

तस्बिरको क्याप्शन, कश्मीरमा हजारौँ सुरक्षाकर्मी परिचालित छन्

२६ फेब्रुअरी २०१९: भारत-पाकिस्तान सीमा उल्लङ्गघन गरेर भारतीय वायुसेनाद्वारा पाकिस्तानी भूभागमा आक्रमण, लडाकु समूह जैश-‍ए-मोहम्मदको शिविर नष्ट गरिएको भारतको दाबी

५ अगस्ट २०१९: भारतद्वारा भारत-प्रशासित जम्मू-कश्मीर राज्यलाई दिइएको संवैधानिक मान्यता खारेज।