साफ च्याम्पियनशिप: भारतसँग हारे पनि नेपाल कुन अवस्थामा फाइनलमा पुग्न सक्छ?

तस्बिर स्रोत, NSJF
- Author, निरञ्जन राजवंशी
- Role, काठमाण्डू
नेपाली राष्ट्रिय फुटबल टोली भारतसँग आइतवार पराजित भएसँगै साफ च्याम्पियनशिप फुटबल प्रतियोगिताको शीर्ष दुईमा उक्लिने चार राष्ट्रबीचको प्रतिस्पर्धा थप रोचक बन्न पुगेको छ।
नेपाल साफ च्याम्पियनशिपको फाइनलमा पुग्ने यात्राबाट आठ मिनेट मात्रै टाढा थियो।
तर खेलको ८२ औँ मिनेटमा नेपाली मूलका भारतीय खेलाडी सुनिल क्षेत्रीले गरेको गोलसँगै नेपाल भारतसँग १-० ले पराजित हुन पुग्यो।
र, यसले १३ औँ संस्करणसम्म पुगेको साफ च्याम्पियनशिपमा नेपालको फाइनल पुग्ने यात्रा फेरि पर धकेलिएको छ।
खेलको नतिजाले नेपाललाई सोझै फाइनल पुग्नबाट रोक्यो नै, साफ च्याम्पियनशिपको शीर्ष दुई स्थानमा पुग्ने टोलीहरूको समीकरणमा पनि निकै फरक परिस्थिति सिर्जना हुन पुगेको छ।
अब लिग चरणको अन्तिम दिन माल्दिभ्सका दुई रङ्गशालामा हुने खेलको नतिजाले नेपाल, भारत, माल्दिभ्स र बाङ्ग्लादेशमध्ये कुनै पनि टोली उक्लिने वा कुनै पनि टोली प्रतियोगिताबाट बाहिर हुन सक्नेछ।
लिग तालिकामा समान ६ अङ्क भए पनि गोल भिन्नताको आधारमा माल्दिभ्स पहिलो र नेपाल दोस्रो स्थानमा छ।
नेपालको रणनीति
बराबरीले मात्र पनि प्रतियोगिताको फाइनल यात्रा निश्चित देखिएको नेपाल आइतवार राति रक्षात्मक रणनीति लिएर मैदानमा उत्रिएको थियो।
प्रतियोगितामा जीवित रहन भारतसँग भने जितको विकल्प थिएन। यस्तोमा दबावको मात्रा भारतीय पक्षमा धेरै थियो।
नेपाली प्रशिक्षक कुवेतका अब्दुल्लाह अल्मुताइरीले त्यसकै फाइदा उठाउन खोजे।
उनले पाँचजना रक्षापङ्क्तिको पर्खाल राखेर एक मात्र स्ट्राइकरलाई मैदानमा उतारेका थिए।
स्वाभाविक रूपमा भारत पक्षले नेपाली पोस्टमा आक्रमणहरूका योजना बुनेको देखियो। जसलाई नेपाली रक्षकहरूले अन्तिम सम्म रोक्ने प्रयास गरे।
भारतीय कप्तान सुनिल क्षेत्री पहिलो हाफमा गोलपोस्टनजिक पाएको सहज अवसरमा गोल गर्न चुकेका थिए।
दोस्रो हाफमा नेपाली कप्तान गोलकिपर किरण लिम्बुले मनवीर सिंहको एउटा प्रहार उत्कृष्ट बचाए।
उनले अन्य दुई प्रहारलाई पनि रोकेका थिए। तर ८२ औँ मिनेटमा खेलले अर्कै मोड लियो।
फारुक चौधरीले डि बक्सभित्र मिलाएको 'फ्लिक हेड' मा भारतीय कप्तान सुनिलले बायाँ खुट्टाको प्रयोग गरी गोल गरेका हुन्।
अब समीकरण कस्तो?
साफ च्याम्पियनशिप फुटबल प्रतियोगितामा नेपालसहित भारत, माल्दिभ्स, बाङ्ग्लादेश र श्रीलङ्का गरी पाँच राष्ट्र सहभागी छन्।
सबै टिमले एक अर्कासँग (राउण्ड रोविन लिग) खेलेपछिका शीर्ष दुई टोलीले सीधै फाइनल खेल्नेछन्। बाँकी टोली प्रतियोगिताबाट बाहिरिनेछन्।
श्रीलङ्का प्रतियोगिताबाट पहिल्यै बाहिरिसकेको छ।
अब बुधवार एकै समयमा हुने नेपाल र बाङ्ग्लादेश तथा माल्दिभ्स र भारतबीचको खेलबाट निस्किने नतिजाले दुई टोली छानिने छन्।

तस्बिर स्रोत, NSJF
छ अङ्क नेपाल अहिले तालिकाको दोस्रो स्थानमा छ। तर यदि बाङ्ग्लादेशसँगको हारेमा टोली प्रतियोगिताबाटै बाहिरिनेछ।
यदि खेल बराबरी भएमा भने नेपाल ७ अङ्कका साथ फाइनलमा प्रवेश गर्नेछ, जित्ने टोली ९ अङ्कसहित तालिकाको शीर्ष स्थानमा रहेर फाइनल पुग्नेछ।
बाङ्ग्लादेश भने पराजित हुनासाथ प्रतियोगिताबाट बाहिरिनेछ। किनकि उसको अङ्क ४ मात्र छ।
हारपछि भारत-माल्दिभ्सको खेलको नतिजाले बाङ्ग्लादेशलाई कुनै असर पर्नेछैन। यदि बाङ्ग्लादेशले नेपाललाई हराएमा ऊ फाइनलमा प्रवेश गर्नेछ।
यता आयोजक भारत र माल्दिभ्सबीच हुने खेलमा जो पराजित हुन्छ, त्यो टोली प्रतियोगिताबाट बाहिरिनेछ।
बराबरी भएमा भारत आउट हुनेछ। ऊसँग अहिले पाँच अङ्क मात्र छ।
माल्दिभ्सको स्थिति पनि उस्तै छ। हारले उसलाई प्रतियोगिताबाटै बाहिर गराउनेछ।
नेपाल र बाङ्ग्लादेशबीचको नतिजा जे आए पनि माल्दिभ्सलाई त्यो नतिजाले केही प्रभाव पर्नेछैन, अर्थात् बुधवारको खेल चारैवटा टोलीका लागि 'गर या मर' को अवस्थाको हुनेछ।
नेपाली समय अनुसार साँझ पौने पाँच बजे एकसाथ दुवै खेल हुनेछ।
नेपाली प्रशिक्षक अल्मुताइरीले खेलपछिको पत्रकार सम्मेलनमा अब सम्पूर्ण ध्यान बाङ्ग्लादेशसँगको खेलमा केन्द्रित गर्ने बताएका छन्।
नेपाल-भारत नतिजा
सात पटक साफ च्याम्पियनशिप जितिसकेको भारतले साफमा नेपालविरुद्ध राम्रै प्रदर्शन गर्दै आएको देखिन्छ।
साफको अहिलेसम्म भएको सात भेटमा भारतले छ खेलमा जितेको छ। एक खेल नेपालले जितेको थियो।
सन् २०१३ मा काठमाण्डूमा भारतलाई २-१ ले हराएको सो खेल जुमानु राई र अनिल गुरुङको गोलको नामले चर्चित छ।
माल्दिभ्स टापुमा त झन् नेपाल- भारत भेटको नतिजा राम्रो छैन।
सन् २००८ मा मालेमा भएको भेटमा नेपालले भारतसँग ४-० गोलले हार बेहोर्नु परेको थियो।
समग्रमा भने नेपालले भारतलाई जम्मा तीन पटक पराजित गरेको छ।

तस्बिर स्रोत, NSJF
सन् १९८५ बाट खेल्न थालेको नेपाल/भारतबीच अहिलेसम्म २३ खेलमा जम्काभेट भइसक्यो। जसमा तीन खेलमा मात्र नेपालले जित हात पारेको छ।
१६ खेलमा भारतले जितेको छ अनि ४ खेल मात्र बराबरीमा टुङ्गिएको छ।
नेपालले पाएको तीनवटा जितमध्ये दुई खेल साफ च्याम्पियनशिप बाहेकका प्रतियोगिता हुन्।
नेपालले भारतलाई पहिलो पटक हराएको थियो सन् १९९३ मा ढाकामा भएको दक्षिण एसियाली खेलकुद प्रतियोगितामा।
त्यति बेला सागमा (त्यो बेला साफ) राष्ट्रिय टोलीले प्रतिस्पर्धा गर्दथ्यो।
मणि शाह र उमेश प्रधानको गोलबाट निर्धारित समयमा २-२ गोलको बराबरी भएपछि नेपालले टाइब्रेकरमा जित हात पार्दै सागमा स्वर्ण जितेको थियो।
नेपालले भारतलाई दोस्रो पटक एएफसी च्यालेन्ज कपमा हरायो।
बाङ्ग्लादेशको चिट्टगोङ्गमा भएको सो प्रतियोगितामा नेपाल र भारतको भेट क्वार्टर फाइनलमा भएको थियो।
प्रदिप महर्जनको २ गोल र वसन्त थापाले १ गोल गरेपछि नेपालले भारतलाई ३-० ले पराजित गर्यो।
आफ्नो खेलस्तर निकै माथि पुगिसकेको ठानेको भारतले टोलीमा सिनियर खेलाडीहरूलाई पठाएको थिएन।










