सुन तस्करी काण्ड: ८ जना दोषी ठहर, छ जनालाई जन्मकैद, आरोप लागेका सबै प्रहरीलाई सफाइ

तस्बिर स्रोत, RSS
- Author, बिक्रम निरौला
- Role, विराटनगर
चार वर्षअघिको एउटा चर्चित "३३ किलो सुन तस्करी प्रकरण" र त्यसमा जोडिएको हत्यासम्बन्धी मुद्दामा संलग्न ८ जनालाई मोरङ जिल्ला अदालतले दोषी ठहर गरेको छ।
उक्त मुद्दामा जोडिएका नेपाल प्रहरीका पूर्व उच्च अधिकारीहरूसहित ४८ जनाले भने अदालतबाट सफाइ पाएको बताइएको छ।
२०७४ साल माघ अन्तिम साता युएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्र्याइएको भनिएको तस्करीको साढे ३३ किलो सुन सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएको बताइएको थियो।
उक्त सुन बोक्ने भनिएका मोरङको उर्लाबारीका सनम शाक्यको हत्या भएपछि उक्त प्रकरणमा दर्जनौँ मानिसहरूको संलग्नता देखिएको प्रहरीले दाबी गरेको थियो ।
सङ्गठित रूपमा सुनको अवैध चोरी निकासी, पैठारी र अपहरण तथा कर्तव्य ज्यान मुद्दामा संलग्न भएको आरोपमा तत्कालीन सात जना बहालवाला प्रहरी अधिकारीसहित ७७ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको थियो।
कसलाई के सजाय?
उक्त मुद्दामा फैसला सुनाउँदै मोरङ जिल्ला अदालतले मङ्गलवार सुन तस्करी प्रकरण र सनम शाक्यको हत्यामा संलग्न मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेतीसहित ६ जनालाई जन्मकैदको सजाय सुनाइएको अदालतका स्रेस्तादार टिकेन्द्रबीर जंग राणाले बताए।
हत्याको कसुरमा जन्मकैदको सजाय सुनाइएका अन्यमा टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारी रहेका छन्।
अन्य दुई जना अभियुक्तहरू मध्ये राजन कुमारलाई तीन वर्ष र माधव भन्ने मदनकुमार घिमिरेलाई ६ महिना कैद सजाय सुनाइएको अदालतले जनाएको छ ।
गोरे नामले समेत चिनिएका चुडामणि उप्रेती भने दुईवटै मुद्दामा दोषी ठहर भएका छन्।
कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय सुनाइएका उप्रेतीलाई अपहरण तथा शरीर बन्धक मुद्दामा पनि अदालतले कसुरदार ठहराएको छ।
उक्त मुद्दामा भने केही समयपछि सजाय निर्धारण गरिने बताइएको छ।

सबै प्रहरीलाई सफाइ
उक्त प्रकरणमा मुछिएका नेपाल प्रहरीका उच्च अधिकारीसहित सबै प्रहरीलाई भने अदालतले सफाइ दिएको देखिएको छ।
सफाइ पाउनेहरूमा पूर्व एआइजी गोविन्दप्रसाद निरौला, तत्कालीन एसएसपी दिवेश लोहनी (हाल डीआईजी), श्यामबहादुर खत्री र प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाल लगायत ९ जना रहेको अदालतले जनाएको छ।
सुन तस्करीमा उनीहरूको पनि मिलेमतो देखिएको भन्दै मुद्दा दायर गरिएको थियो।
अभियोग दाबी पुग्न नसकेकाले उनीहरूले सफाइ पाएको अदालतले जनाएको छ।
उक्त प्रकरणमा संलग्न भनिएका तर फरार रहेका २१ जनाको मुद्दा मुल्तबीमा राखिएको स्रेस्तादार राणाले जानकारी दिए।








