जाकार्ता: राष्ट्रपतिको लापरबाही प्रदूषित वायुका लागि जिम्मेवार रहेको अदालतको ठहर

तस्बिर स्रोत, Getty Images
इन्डोनेशियाको अदालतले राष्ट्रपति जोको उदोदो र अरू उच्च अधिकारीहरूले जाकार्ताको वायु प्रदूषणका नियन्त्रणका लागि लापरबाही गरेको भन्ने आदेश दिएको छ।
एउटा महत्त्वपूर्ण फैसलामा अदालतले अनुगमन केन्द्र स्थापना सहित थप कदमहरू चालेर वायुको गुणस्तर सुधार गर्न निर्देशन दिएको छ।
सन् २०१९ मा जाकार्ताका बासिन्दाले उक्त मुद्दा दायर गरेका थिए।
सो वर्ष इन्डोनेशियाको एउटा हवाई गुणस्तर अनुगमन गर्ने निकायले उक्त शहरलाई विश्वकै सबैभन्दा प्रदूषित शहरका रूपमा सूचिकृत गरेको थियो।
वायु प्रदूषणबारेको फैसला सुनाउने मिति पटक पटक पर सरेको थियो।
झन्डै एक करोड जनसङ्ख्या रहेको जाकार्ता इन्डोनेशियाको सबैभन्दा ठुलो शहर हो।
आदेशमा के छ?
ठुलो सङ्ख्यामा सवारी साधन र फिल्टर बिनाका कोइलाबाट चल्ने भट्टीबाट त्यहाँ निरन्तर धुवाँ देखिने गरेको छ।
राष्ट्रपति उदोदो, वन तथा वातावरण मन्त्रालय र जाकार्ताका गभर्नर सहितलाई विपक्षी बनाएर स्थानीय ३२ जनाले मुद्दा दायर गरेका थिए।
उनीहरूले प्रदुषणले शहरका बासिन्दाको स्वास्थ्य बिगारेको आरोप लगाएका छन्।
जिल्ला अदालतले उदोदोलाई वायुको राष्ट्रिय गुणस्तर सुधार गर्न निर्देशन दिँदै प्रान्तीय सरकारले जाकार्ताका पुराना गाडीहरू र बाहिरी क्षेत्रहरूमा नियमित जाँच गर्नुपर्ने उल्लेख गरेको छ।
त्यसबारेका सूचना सार्वजनिक गर्न पनि अदालतले भनेको छ।
यसैबीच राष्ट्रपति उदोदोले देशको राजधानीलाई जाकार्ताबाट करिव १३ सय किलोमिटर पर बोनियो द्विपमा रहेको इस्ट कालीमान्टनमा सार्ने प्रयास गरिरहेका छन्।
बुधवार स्थानीय सञ्चारमाध्यमले उनलाई उद्धृत गर्दै त्यहाँको स्वास्थ्य हावा र हरित वातावरणबाट अधिकारीलाई लाभ पुग्ने बताएका उल्लेख गरिएको छ।
अहिले जाकार्ताको खराब ट्राफिक पार गर्दै बैठकहरूमा जान मन्त्रीहरूलाई प्रहरी सहयोगीहरूको आवश्यकता पर्ने गरेको छ।









