ट्यूमर निकाल्न फुटबल खेलाडी पेलेको शल्यक्रिया

तस्बिर स्रोत, Reuters
ब्रजिलका चर्चित फुटबल खेलाडी पेलेको ठूलो आन्द्रामा रहेको ट्यूमर निकाल्न शल्यक्रिया गरिएको छ।
छ दिनदेखि उनी अस्पतालमा भर्ना भएको विवरणहरू सार्वजनिक भएका छन्।
असी वर्षीय पेलेले सोमवार सामाजिक सञ्जालमा लेख्दै गत शनिवार "शङ्कास्पद घाउ" निकाल्न आफ्नो शल्यक्रिया गरिएको जनाएका छन्।
"भाग्यवश तपाईँहरूसँग महान् जित मनाउने बानी मलाई परिसकेको छ," ब्रजिललाई तीन पटक विश्वविजेता बनाउन सफल खेलाडीले लेखेका छन्।
"म यो प्रतिस्पर्धा अनुहारमा मुस्कान र जिउनका लागि धेरै आशा अनि खुसीका साथ सामना गर्नेछु।"
पाँच दिनअघि बेहोस भएको खबरको खण्डन गर्दै उनले आफूले "नियमित परीक्षण" गराएको बताएका थिए।
अहिले उनले गत साता गरिएको परीक्षणमा ठूलो आन्द्राको दायाँतिर रहेको ट्यूमर पत्ता लागेको बताएका छन्।

सन् २०२० को फेब्रुअरीमा पेलेका छोरा तथा सान्तोस क्लबका पूर्व गोलरक्षक एडिन्योले सहायताबिना हिँड्न नसक्ने हुँदा आफ्ना पिता घरबाहिर निस्किने कुरामा "सङ्कोच मान्ने गरेको" बताएका थिए।
केही वर्षयता उनको स्वास्थ्यस्थिति चिन्ताको विषय बनेको छ।
छ महिनामा दुई पटक अस्पताल भर्ना भएसँगै सन् २०१५ मा उनको प्रोस्टेटको शल्यक्रिया गरिएको थियो।
सन् २०१९ मा उनलाई मूत्रनलीको सङ्क्रमण भएकाले अस्पताल भर्ना गरिएको थियो।
पेले ब्रजिलका सबैभन्दा बढी गोल गर्ने खेलाडीमध्ये एक हुन्।
चारवटा विश्वकप प्रतियोगितामा गोल गर्ने चार खेलाडीमध्ये उनी एक हुन्।
गिनिज बुक अफ वर्ल्ड रेकर्डका अनुसार उनले १,३६३ खेलमा १,२७९ गोल गरेका छन् जसमा ९१ अन्तर्राष्ट्रिय खेलमा ७७ गोल समाविष्ट छन्।








