३९ वर्षदेखि अचेत फ्रान्सेली फुटबल खेलाडीको मृत्यु, शल्यक्रिया गर्दा कोमामा पुगेका थिए

तस्बिर स्रोत, AFP / Getty Images
फ्रान्सको राष्ट्रिय फुटबल टोलीका पूर्वखेलाडी जाँ-पिएर आडम्सको ३९ वर्ष लामो कोमापछि ७३ वर्षको उमेरमा मृत्यु भएको छ।
सन् १९८२ को मार्चमा घुँडाको शल्यक्रियाका लागि अस्पताल भर्ना भएका आडम्स अचेत बनाउन प्रयोग गरिने औषधिको मात्रा नमिलेकाले त्यसपछि कहिल्यै चेतनामा आएनन्।
सेनगलमा जन्मिएका उनले नीस र पीएसजी क्लबका लागि रक्षकका भूमिकामा १४० भन्दा बढी खेल खेलेका थिए।
दुवै क्लबले उनको मृत्युपछि वक्तव्य जारी गरेका छन्।
आडम्सले फ्रान्सका लागि सन् १९७२ देखि १९७६ सम्म २२ वटा अन्तर्राष्ट्रिय खेल खेलेका थिए।
उनले नीम क्लबका लागि ८४ वटा खेल खेलेका थिए। उक्त क्लबले पनि वक्तव्यमा प्रकाशित गरेर शोक प्रकट गरेको छ।
प्रशिक्षणका क्रममा घाइते भएका आडम्सको शल्यक्रियाको दिन अस्पतालका धेरै कर्मचारीहरू हडतालमा थिए।
उनको शल्यक्रिया त भयो तर एनस्थीजीया दिन खटिएका एक चिकित्सकले आठजना बिरामी हेर्नुपर्ने अवस्था आइपरेको थियो। ती चिकित्सकले एक प्रशिक्षार्थी चिकित्सकको सहायता लिए। ती प्रशिक्षार्थी चिकित्सकले पछि "आफूलाई दिइएको जिम्मेवारी वहन गर्न नसक्ने अवस्थामा भएको" बताएका थिए।
एनस्थीजीया दिने चिकित्सक र प्रशिक्षार्थी चिकित्सकका केही गल्तीका कारण आडम्सलाई हृदयाघात भयो र उनको मस्तिष्कमा पनि असर गर्यो।
सन् १९९० को दशकको मध्यतिर दुवै चिकित्सकलाई सो गल्तीका लागि एक महिनाको निलम्बन र ७५० यूरो जरिवानाको सजाय दिइएको थियो।
समर्पण
आडम्सलाई १५ महिनापछि अस्पतालबाट नीमस्थित घर पठाइएको थियो जहाँ उनकी पत्नी बेर्नाडेटले उनको हेरचाह गरिन्।
बीबीसी स्पोर्ट अफ्रिकाका पिएर्स एड्वार्ड्सले बेर्नाडेटको प्रशंसा गर्दै उनले यति लामो समयसम्म कोमामा रहे पनि पतिको जीवन बचाइराख्ने उपकरण बन्द गर्ने विचार कहिल्यै नगरेको बताए।
"लगभग चार दशक उनले प्रत्येक दिन पतिको स्याहार गरिन्," उनले भने।
"बेर्नाडेट एक या दुई रातका लागि नभएको बेलामा देखिने केही थोरै परिवर्तनबाहेक आडम्सले यतिका वर्षका कुनै हलचल नगरेको नर्सहरू बताउँछन्।"
एड्वार्ड्सले आफू सन् २०१६ मा उनलाई भेट्न जाँदा बेर्नाडेटले अस्पतालले क्षमा नमागेकोमा चित्त दुखाएको बताएका छन्।









