क्रिस्चेन एरिक्सेन: फुटबल मैदानमा अचेत भएका डेनिश खेलाडी अस्पतालमा 'बिउँतिए'

तस्बिर स्रोत, Getty Images
यूरो २०२० खेल हुँदै गर्दा लडेर अचेत भएका डेन्मार्कका मिडफील्डर क्रिस्चेन एरिक्सेन अस्पतालमा 'बिउँतिएको' डेनिश फुटबल सङ्घले जनाएको छ।
शनिवार फिनल्यान्डविरुद्ध भएको खेलमा अचेत भएपछि २९ वर्षीय एरिक्सेनलाई अस्पताल लगिएको थियो। कोपनहेगनमा आयोजित उक्त खेल मध्यान्तरअगाडि स्थगित गरिएको थियो।
मैदानमै उनको आपत्कालीन उपचार भएको थियो।
अहिले उनको अवस्था 'स्थिर' रहेको उक्त प्रतियोगिताको आयोजक यूएफाले जनाएको छ।
उनी इन्टरमिलानसँग आबद्ध छन्। पहिला उनी टोटनम हटस्पर्सबाट खेल्थे।
खेल हारे पनि 'जीवनले जित्यो'
स्थगित खेल पछि फेरि खेलाइयो। ग्रूप बीको उक्त खेल १-० फिनल्यान्डले जित्यो।
रोकिएको खेल सुरु भएपछि खेलाडीहरू मैदानमा फर्किँदा दर्शकहरूले ताली बजाएर स्वागत गरेका थिए।
यूएफाले 'दुवै टोलीका खेलाडीबाट अनुरोध आएपछि' उक्त खेल सुरु गर्न आफू सहमत भएको जनाएको थियो।
मध्यान्तरपछिको खेल सुरु हुनुअघि त्यसअघिको बाँकी पाँच मिनेट खेलिएको थियो।
अनि बीचमा पाँच मिनेटको विश्राम दिइएको थियो।
एउटा डेनिश पत्रिकाले डेनमार्कले खेल हारे पनि "जीवनले जित्यो" भनेको छ।
'कठिन साँझ'
डेनिश फुटबल सङ्घका पिटर मोलरले डेनमार्क रेडिओसँग भने, "हामी उनी (एरिक्सेन) सँग सम्पर्कमा छौँ र खेलाडीहरूले एरिक्सेनसँग कुरा गरेका छन्। उनी ठिक छन् र उनीहरू यो खेल क्रिस्चेनका लागि खेल्दैछन्।"

तस्बिर स्रोत, Getty Images
खेलपछिको पत्रकार सम्मेलनमा डेनमार्कका प्रमुख प्रशिक्षक कास्पर जुलमन्डको आँखामा आँसु देखिएको थियो।
"यो साँच्चिकै कठिन साँझ थियो जसमा हामी सबैलाई जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भन्ने हेक्का भइरह्यो। यो अर्थपूर्ण सम्बन्ध हो। ती हामीसँग निकट रहेका मानिसहरू हुन्। ती परिवार र साथीहरू हुन्," उनले भने।
"सबै थोक, सबै थोक, सबै थोक- सबै भावनाहरू क्रिस्चेन र उनको परिवारका लागि।"
यूएफाका अध्यक्ष अलेक्जान्डर केफ्रिनले उनको स्वास्थ्यलाभको कामना गर्दै भने, "यस्ता क्षणहरूले जीवनमा सबै कुरालाई दृष्टिकोणमा लैजान्छ।"
उक्त खेल प्रसारण गरेको बीबीसीले एरिक्सेनको उपचार भइरहेको तस्बिरहरू देखाएपछि क्षमा याचना गरेको छ।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त








