काठमाण्डूको फोहोरमा मोहर खोज्ने केही मानिसहरू कोभिड महामारी सुरु भएपछि यसरी परे अप्ठेरोमा

हैदराबादबाट आएर काठमाण्डूमा बसेका मानिसहरूको बस्ती
    • Author, स्वेच्छा राउत
    • Role, बीबीसी न्यूज नेपाली

अञ्जलि गिरीलाई छोराले आफ्नोजस्तै नियति भोग्नु परोस् भन्ने चाहना फिटिक्कै थिएन। नौवर्षे छोरालाई हैदराबादमै छाडेर नेपाल आउँदा उनले उसको अभिभावकत्व लिइदिने छिमेकीलाई मासिक खर्च पठाउने वाचा गरेकी थिइन्।

अञ्जलि र उनका श्रीमान् बाला काठमाण्डूको सडकमा प्लास्टिकजन्य फोहोर उठाउने काम गर्छन्। दैनिक ज्यालादारी गर्ने मजदुरहरूले जस्तै उनीहरू उठाएको फोहोर बेचेर आएको रकमले दैनिक खर्च जुटाउँछन्। पेट भर्नु र कोठा भाडा तिर्नुबाहेक अन्य खर्च धेरै हुँदैन। जोगाएको पैसा भारतमै छाडिएको छोराको रेखदेखका लागि पठाइरहेका थिए।

भारतस्थित हैदराबादको करिमनगरमा उनीहरूको गाउँ छ। त्यहाँकै स्थानीय सरकारी विद्यालयमा उनीहरूको छोरा अजय पढ्थे।

"छोराले धेरै पढ्न सके अफिसर बन्छ। त्यसपछि उसले काम खोज्दै नेपाल आउनुपर्दैन, हामीले जस्तै फोहोर उठाउनुपर्दैन भन्ने आशाले गर्दा अरूको भरमा छाडेको," अञ्जलि भन्छिन्,"नत्र आफ्नै सन्तानलाई टाढा राख्दा कुन आमाको मनमा शान्ति हुन्छ र?"

तर कोभिड-१९ को त्रासबीच परिस्थिति बदलिएको छ। विगत चार महिनादेखि अजय नेपालमै छन्, आमाबुवाको आँखैअगाडि। तर सन्तान आफूसँगै हुँदा पनि अञ्जलि त्यति खुसी छैनन्। किनकि छोराको पढाइ र उनको सपना दुवै अन्योलमा परेका छन्। हैदराबादमा कोरोनाभाइरस सङ्क्रमणका कारण विद्यालयहरू अझै पनि ठप्प भएको उनी बताउँछिन्।

"स्कूल आज खुल्छ कि भोलि भन्दै पर्खियौँ तर खुलेन। चार महिनाअघि हाम्रो छोरालाई हेरिदिनेहरू पनि जिम्मेवारीबाट पन्छिए। कोरोनाभाइरसले तेरो बच्चालाई केही भए हामी जिम्मेवार हुँदैनौँ भनिदिएपछि के गर्नू? यतै ल्यायौँ।"

भारतमा अधिकांश निजी विद्यालयले 'भर्चुअल' कक्षा सञ्चालन गरिरहेका छन्। तर ग्रामीण भेगका सरकारी विद्यालयका विद्यार्थीलाई पढ्न र सिक्न सजिलो नभएको अञ्जलिको गुनासो छ। आफ्नै छोराको पढाइ प्रभावित भएको दृष्टान्त दिँदै उनी उसलाई निजी विद्यालयमा पढाउन नसक्नुको थकथकी भएको बताउँछिन्।

"कक्षा ४ देखि निजीमा भर्ना गराउने कि भन्ने सोचेका थियौँ, तर त्यहाँ पनि पढ्नको लागि कम्प्युटर त चाहियो," उनी भन्छिन्,"फेरि कोरोनाभाइरस आएदेखि तरकारी त एक छाक मात्र पकाउनुपरेको छ, कसरी किनिदिनू त्यति महँगो सामान?"

कोरोनाभाइरसको सङ्क्रमण फैलिएदेखि कमाइ कम भएको उनी बताउँछिन्।

Presentational white space

'कोरोनाभाइरस आएदेखि फोहोर नै कम छ'

काठमाण्डूको तिलगङ्गास्थित आँखा अस्पतालपछाडि एउटा सानो बस्तीमा अञ्जलिको परिवारसहित भारतको हैदराबादबाट आएका २६ परिवार बस्छन्।

हैदराबादका विभिन्न स्थानबाट उनीहरू नेपाल आएका हुन्। निकै वर्षदेखि यस बस्तीका मानिसहरू प्लास्टिक, फलाम, फुटेका भाँडाकुँडा र पुराना सामान बटुल्ने काम गर्दै आएका छन्।

काठमाण्डू महानगरपालिका वडा नं ९ का अध्यक्ष रामकृष्ण जयखु श्रेष्ठ उनीहरूले "आफ्नै ढङ्गमा काम गर्ने र जीवननिर्वाह गर्ने" बताउँछन्। उनका अनुसार नगरपालिकाका सरसफाइ कर्मचारीले हरेक बिहान ४ देखि ८ बजेभित्र मूल सडक सफा गरिसक्छन्। त्यसपछि हुने फोहोर र गल्लीभित्र हुने प्लास्टिकजन्य फोहोरहरू भने "बोरा बोकेर हिँड्ने" मानिसले सङ्कलन गर्छन्।

तिनमा यही बस्तीका मानिसहरू पनि छन्।

"उनीहरू अन्य बहालवाला मानिसजस्तै भाडा तिरेर बस्छन्। स्थानीयको खाली जग्गामा उनीहरूको टहरा छन्। त्यहाँबाट अलि माथि यही वडामा उनीहरूले जम्मा गरेको फोहोर थुपार्ने, जोख्ने, बेच्ने ठाउँ पनि छ। यी सबै व्यावसायिक प्रक्रिया हुन्," श्रेष्ठले भने।

बटुलेको सामानको प्रकारअनुसार प्रतिकिलो पाँचदेखि १५ रुपैयाँमा उनीहरू बेच्छन्। सहरको फोहोर जम्मा गर्नु र बेचेर छाक टार्नु यस समुदायको नित्यकर्म हो। कोभिड महामारी फैलिएपछि यो समुदायको जीवनयापनमा पनि त्यसको असर देखियो। निषेधाज्ञा र मानिसको चहलपहल कम हुनासाथ सडकपेटीमा पानीका बोतल र बेच्नयोग्य फोहोर नै कम भएको उनीहरू बताउँछन्।

गिरी समुदायको बस्ती

"कोभिड आएपछि फोहोर त निकै कम भयो। एक किलो पुर्‍याउन पनि निकै टाढाटाढा पुग्नुपर्छ। फेरि हिजोआज प्लास्टिकको मोल नै धेरै दिँदैनन्। घटेको छ," अञ्जलिकी छिमेकी सुनिताले सुनाइन्,"घामपानी नभनी फोहोर खोज्दै हिँड्छौँ। पैसा हातमा नबच्दा निद्रा पर्दैन। किनकि हामीले मात्र खाएर पुग्दैन नि त। उता घरमा पनि पठाउनुपर्‍यो।"

बस्तीमा प्रायः काममा खट्न सक्ने मानिस मात्र छन्। परिवारका वृद्धवृद्धा र बालबच्चा हैदराबादमै भएकाले उनीहरूको भरणपोषणका लागि खर्च नेपालबाटै पठाउनुपर्ने बाध्यता भएको यहाँ काम गर्न बसेकाको भनाइ छ।

महामारीयता केही महिना लकडाउन भयो। सहर ठप्प भएकाले फोहोर भएन। छिटपुट फोहोर भए पनि टिप्न बाहिर निस्कन मिल्ने स्थिति थिएन। "केही महिना नुनपानी र खुर्सानीको अचारसँग खाना खायौँ। कोही हैदराबाद गए - रोगले मरे पनि भोकले मरे पनि आफ्नै देशमा मर्ने भनेर," सुनिताले सुनाइन्।

लकडाउन खुल्यो तर उनीहरूको दैनिक जीवन पुरानै लयमा फर्किन सकेन। पहिले दैनिक ४०० देखि १,००० रुपैयाँसम्म कमाउने उनीहरू हाल २००-४०० रुपैयाँ मात्र कमाइ हुने बताउँछन्।

"पहिले मासिक ५,००० रुपैयाँसम्म घर पठाउन सकिन्थ्यो। हिजोआज हजार/१५ सय पठाउनुपरेको छ। के गर्ने? त्योभन्दा बढी जोगाउनै सकिँदैन। खर्च यता पनि पुग्दैन उता पनि," पुष्पा भन्छिन्,"साह्रै महँगो भएको छ जीवन अहिले। हामीलाई त उधारो दिने पसल पनि छैनन् वरपर।"

बस्तीका बासिन्दा जो फोहोर टिप्ने काम गर्छिन्

'रोगको भन्दा बढी मान्छेको डर'

भिडभाड हुने ठाउँमा फोहोर पनि धेरै हुन्छ भन्ने सहज अड्कल काट्छन् उनीहरू। त्यसैले त बिहान उठेर बसपार्क, वजभोज जाने ठाउँ, पार्क र अरू ठाउँतिर धाउँछन्। अहिले त मान्छे धेरै भएको ठाउँमा सङ्क्रमणको जोखिम पनि बराबर छ भन्ने बुझेका छन्। तर रोगसँग डराएर बस्दैमा भोक कहाँ टर्छ र?

"मास्क लगाएर जान्छौँ। हामीलाई पनि रोगले मार्छ कि भन्ने डर छ। मर्‍यौँ भने हामीले कहिले पैसा पठाउँछौँ र उधारो तिरौँला भनेर बसेका परिवारको बिचल्ली हुन्छ। तर काममा हिँड्दा मान्छेले गर्ने व्यवहारसँग झन् धेरै डराउनुपर्छ," अञ्जलि भन्छिन्।

"हामी घरघर हिँडेर सङ्क्रमण फैलिन्छ रे। सहरका मानिसहरू हामीलाई देखेपछि परपर भाग्छन्। छेउमा नआएपछि कसरी सर्छ रोग?" उनको प्रश्न छ।

मैतीदेवीको गल्लीभित्र प्लास्टिक खोज्दै जाँदा एक बिहान उनले त्यस्तै आरोप खेप्नुपरेको रहेछ।

कतिले त आफूहरूलाई देखेपछि कुकुर छाडिदिने वा चोर्न आएको आरोप लगाउने गरेको उनी बताउँछिन्।

फोहोर बटुलेरै उमेर ढल्किएका पुरुषहरू भिक्षा माग्न दैलोदैलो चहार्छन्। उनीहरूले पनि धेरै पटक लखेटिएको वा अपमानजनक व्यवहार भोग्नुपरेको अञ्जलिको भनाइ छ।

'सफा' सहरले देखाएको डर

गिरी समुदायका केही पुरुषहरू हैदराबादबाट ज्योतिषीको काम गर्न काठमाण्डू आएका थिए । उनीहरूले यहाँ फोहोर बेचेर समेत आम्दानी हुने बाटो देखेपछि त्यसैलाई पेसा बनाए। नेपालमा कमाएर भारतमा परिवार पाल्न सक्ने सुनेर अरू मानिस पनि आए। आफन्त, साथीभाइलाई बोलाए। उनीहरूले पहिले घरधन्दामा सीमित महिलालाई समेत यतै बोलाए। बस्ती बसाले र मिलेर काममा हिँडे।

यी मानिस कुनै निकायले खटाएको सफाइ कर्मचारी होइनन्। तर काठमाण्डू उपत्यकाका गल्ली र नदीबाट फोहोर टिप्दै मोहर बनाउने प्रयासमा लागेका छन्।

कोभिड-१९ फैलिएयता भने सहर पहिलेजस्तो फोहोर लाग्दैन उनीहरूलाई। बाला भन्छन्,"नगरपालिकाले सफा गरिदिन्छ अनि हामीले केही भेट्दैनौँ। त्यसैले टाढा टाढा जानुपर्छ।"

सहर सफा र व्यवस्थित हुनु नराम्रो होइन।

काठमाण्डूमा फोहोर सङ्कलन

मानिसको चहलपहल घटेर फोहोर पनि केही घट्नु सुखद विषय हो। तर यस समुदायका लागि परिस्थिति प्रतिकूल बनेको छ।

फोहोर र फोहोरको दाम दुवै घटेपछि उनीहरू सम्भावनाको फरक बाटो चहार्दैछन्। केहीले बोरा, बोतल र फलामको टुक्रा किन्ने काम थाले। साइकल किन्न समेत पैसा नहुनेहरू भने अरू काम गर्ने प्रयासमा छन्।

उनीहरू बस्ने स्थानको वडाध्यक्ष श्रेष्ठ भने फोहोरको मात्रा नघटेको तर फोहोर व्यवस्थापन चुस्त बनेको दाबी गर्छन्।

"नगरपालिकाका सफाइ कर्मचारी खटिएका छन्। होटल तथा लजहरूले पहिले सडकमै फोहोर थुपार्थे। अहिले वातावरण व्यवस्थापनका लागि काम गर्ने विभिन्न संस्थाहरूलाई पैसा तिरेर फोहोर पठाउन थालेका छन्," श्रेष्ठ भन्छन्,"व्यवस्थापनले गर्दा सहर सफा देखिएको हो। त्यसैले उहाँहरूको पेशामा प्रभाव पर्‍यो होला। तर, फोहोरको मात्रा घटेको छैन।"

काठमाण्डू महानगरपालिकाका वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले भने महामारी जारी भए पनि वर्षाको बेलामा तरकारी र फलफूलजन्य फोहोर बढ्ने जिकिर गरे।

हाल उपत्यकाको फोहोर लगिने सिसडोल जाने बाटो पहिरोका कारण अवरुद्ध छ। त्यसैले काठमाण्डूका सडकमा फोहोर थुप्रिएको छ।

फोहोर थुप्रिएको ठाउँमा दैनिक निस्सङ्क्रमण गरिने गरेको श्रेष्ठको दाबी छ। "कुहिनेबाहेक अन्य प्लास्टिक, फलामलगायत फोहोर कवाडी व्यवसायका लागि छानेर लान्छन्। त्यसले केही राहत दिएको छ।"

कमाइ नभएपछि ज्योतिषी बनेँ'

गत वर्ष भएको लकडाउनपछि बजार जसरी नै सुस्त भयो यस बस्तीका मानिसहरूको फोहोरको व्यापार। फोहोरको भारी कम भएपछि खर्चको भारी ज्यादा लाग्न थालेको उनीहरू बताउँछन्।

जति खट्दा पनि भारतमा रहेका वृद्ध बाआमालाई खर्च पठाउन धौधौ परेपछि आफूले नयाँसडकतिर मानिसको हात हेर्न थालेको अन्जि गिरी बताउँछन्।

"बिहानबेलुकीको रोटी सेक्नलाई भए पनि जे आउँछ त्यो गर्नै पर्‍यो। नत्र कहाँ मन छ र रोग यसरी फैलिएको बेला अनेक मान्छेको भिडमा बसेर उनीहरूको हात समात्ने," अन्जी भन्छन्।

अन्जिजस्तै नयाँ पुस्ताका केहीले आफ्ना बुवा वा हजुरबुवाबाट ज्योतिषविद्या सिकेको दाबी गर्छन्। उनीहरू काठमाण्डूका विभिन्न चोकमा बसेर मानिसको हातका रेखा पढ्छन्, भविष्य अड्कल गरिदिन्छन्।

"तर आफ्नै भविष्यको के हुन्छ थाहा छैन। कोरोनाभाइरस फेरि बढ्यो र फेरि लकडाउन भयो भने यहाँ बस्न सकिँदैन। हैदराबादमा न जमिन छ न घर। काम नपाएरै आमाबुवाबाट यति टाढा आएर बसेका हौँ," उनले भने।

उनी प्रत्येक दुई वर्षको अन्तरालमा हैदराबाद जान्छन् - देवीको पूजामा सहभागी हुन। उनीहरू आफूले जोगाएको केही पैसा, आमाबुवा र बालबच्चाका लागि लुगाफाटो वा केही कोसेली लिएर घर पुग्थे। यस वर्ष भने अभावकै कारण आफूहरूको यात्रा तय नभएको सुनाउँछन्।

"सबै कुरा छाडेर जाँदा उता झन् भोकभोकै भइन्छ। यता थोरै भए पनि कमाइ त छ। बरु थोरै कमाए थोरै खाने तर काठमाण्डूमा फोहोर बिक्ने अवस्था रहेसम्म यो धन्दा नछोड्ने," बाला भन्छन्। तत्काल उनको पीर छोरा अजय पनि यतैकतै अल्झेलान् भन्ने कुराको छ।

"काठमाण्डूमा अहिले नै फोहोर कम भइसक्यो। उसको भविष्य त पढाइले मात्र राम्रो बनाउँछ।"