जापानबाट रोबटबारे हामी के सिक्न सक्छौँ?

तस्बिर स्रोत, Getty Images
एउटा ४०० वर्ष पुरानो बौद्ध मन्दिरमा आगन्तुकहरू त्यहाँका शान्त ढुङ्गे बगैँचामा घुम्न सक्छन्, बसेर एक कप चिया पिउन सक्छन् अनि एक असामान्य भिक्षुबाट बौद्ध धर्मबारे प्रवचन पनि सुन्न सक्छन्।
ती असामान्य भिक्षु हुन्, मिन्दार नामक एक एन्ड्रोइड गुरु।
झट्ट हेर्दा शान्त मुहार अनि तटस्थ व्यवहार, न युवा न प्रौढ, न स्त्री न पुरुष।
टाउको र शरीरको माथिल्लो भागमा साँच्चिकै छालाजस्तो लाग्ने वस्तुले ढाकिएको तर अन्यथा पूर्ण निर्मित नभइसकेको जस्तो लाग्ने अनि ट्युब तथा मेसिनहरू देखिने।
तर जब त्यसले हर्ट सूत्र भनिने बौद्ध ग्रन्थबारे बोल्छन्, तब मिन्दारको प्रवचन दार्शनिक रूपमा निकै परिष्कृत सुनिन्छ।

तस्बिर स्रोत, Getty Images
यदि तपाईँले यस्तो कहाँ होला भन्ने सोच्नु पर्ने थियो भने पक्कै तपाईँले जापान भन्नु हुने थियो। हो, यो टोक्योस्थित सुन्दर कोदाइ-जी मन्दिरको कुरा हो।
जापानलाई पहिलेदेखि नै अन्य देशहरूभन्दा धेरै यस्ता मानव आकृतिका रोबट बनाउने तथा तीसँग घुलमिल हुनसक्ने देशको रूपमा चिनिन्छ।
हुन त यस्तो दृष्टिकोण अलि बढाइचढाइ गरी निर्माण गरिएका हुन्छन् तर पनि यसमा केही सत्यता अवश्य छ।
दैनिक जीवनमा रोबट
जापानका कतिपय पर्यवेक्षकहरूले त्यहाँको शिन्तो धर्मले रोबटप्रतिको लगावबारे व्याख्या गर्ने ठान्छन्।
शिन्तो धर्ममा एक किसिमको प्रकृति पूजक तत्त्वहरू पाइन्छन् जसले त्यहाँ मानवमा मात्र नभई पशुपन्छी तथा निर्जीव वस्तुहरू पर्वत एवम् कलमहरूमा समेत 'कामी' भनिने आत्मा रहने ठान्छ।

तस्बिर स्रोत, Getty Images
"हरेक वस्तुभित्र केही आत्मा हुन्छ," बुङ्गेन ओइ भन्छन्। उनको बौद्ध मन्दिरले रोबट कुकुर साथीहरूका निम्ति अन्त्येष्टि कार्यक्रम आयोजना गर्छ।
"हामी जापानीहरू वस्तुभित्र पनि ईश्वर देख्छौँ," मिन्दारका प्रमुख डिजाइनर कोहेइ ओगावाले बताए।
जापानमा रहेको यस्ता विश्वाससँग पश्चिमा परम्परा मेल खाँदैन।
'प्रकृतिसँग खेलाँची नगर'
परम्परागत पश्चिमा दृष्टिकोणमा व्यक्ति जस्तै व्यवहार गर्ने मेसिनले प्राकृतिक सीमा नाघेको ठहर्छ।

तस्बिर स्रोत, Getty Images
"नैतिकतासम्बन्धी यस्ता चेतावनीहरू प्रविधिबारे प्राचीन मिथकहरूमा पनि पाइन्छ। उदाहरणका निम्ति फ्र्याङ्केन्स्टाइनको कथा," टोक्योस्थित इन्टर्न्याश्नल क्रिश्चियन युनिभर्सिटीका प्राध्यापक क्रिस्टोफर सिमन्सले बताए।
"डाक्टर फ्र्याङ्केन्स्टाइनले एउटा दैत्यमा अर्को जीवन भर्छन् जसले गर्दा पछि मानवले सजाय पाउँछन्," उनले भने।
उक्त कथाको दुखान्तमा सर्जक डाक्टर फ्र्याङ्केन्स्टाइन र उनको सिर्जना सो दैत्य दुवैको मृत्यु हुन्छ।
यसले दिने पाठ एकदम प्रस्ट छ: "होसियार मानव! तिमी ईश्वर बन्न नखोज।"

तस्बिर स्रोत, Getty Images
उद्योगमा महत्त्व
कतिपय अनुसन्धानकर्ताहरू भन्छन् जापानमा प्रविधिप्रतिको सकारात्मक दृष्टिकोणको जरामा धार्मिक वा दर्शनभन्दा धेरै खासगरी त्यहाँको सामाजिक, आर्थिक एवं ऐतिहासिक पक्षहरू छन्।
द्वितीय विश्वयुद्धपश्चात् जापानले आफ्नो अर्थतन्त्रको विकास अनि नयाँ राष्ट्रिय छवि निर्माणका निम्ति नयाँ प्रविधिमा ध्यान दियो खासगरी रोबटहरूमा।
"सन् १९६० ताका जापानको आर्थिक पुनरुत्थानमा औद्योगिक रूपमा प्रयोग गरिएका रोबटहरूले धेरै योगदान दिए," जर्मनीस्थित सिगेन युनिभर्सिटीका जापान विज्ञ मार्टिन राथम्यानले भने।
"मजदुर अभावसँग जुझ्न आप्रवासन नीति खुकुलो पार्नुको साटो उनीहरूले रोबट विकास र प्रयोगमा ध्यान दिए।"
जब इन्जिनियरहरूले औद्योगिक रोबट निर्माणलाई परिष्कृत गर्दै मानव आकृतिकै रोबटहरू बनाए, तब जापानका ती परम्पराले त्यहाँको दृष्टिकोणमा फरक पार्यो।

तस्बिर स्रोत, Getty Images
माङ्गा सुपरस्टार
बिसौँ शताब्दीको दोस्रो खण्डका बेला जापानमा एस्ट्रो बोय नामक एक चरित्रको उदय भयो जो त्यहाँको एक सबभन्दा धेरै प्रभावशाली चरित्र बन्न पुग्यो।
सन् १९५२ मा माङ्गा कमिक्समा एस्ट्रो बोयको चरित्र सुरु गरिएको थियो।
पछि उक्त चरित्र विभिन्न किताबहरूमा, टेलिभिजन सोहरूमा, सिनेमाहरूमा अनि अन्य विभिन्न व्यापारिक वस्तुहरूमा पनि प्रयोग गरियो।
एस्ट्रो बोय एक मानव आकृतिको रोबट हो जसले असल कार्यका निम्ति आफ्नो शक्ति प्रयोग गर्छ। उक्त चरित्रले यो नयाँ प्रविधिबारे सकारात्मक सन्देश देशभरि फैलायो।

तस्बिर स्रोत, Getty Images
त्यस्तो सन्देशले जापानी पुस्तामा ठूलो प्रभाव पार्यो। तिनैले पछि गएर आ-आफ्ना रोबट पनि बनाए।
"जापानी रोबटिक्सलाई एस्ट्रो बोयको सपनाले डोर्याएको छ," एक इन्जिनियर योजी उमेतानीले भने।
"माध्यमिक विद्यालयमा पढ्दादेखि नै मानिसहरूले एस्ट्रो बोयबारे कल्पना गर्न थाले र उसैका कारण रोबट निर्माणमा लागे," उनले भने।
पश्चिमा देशहरूमा पनि रोबटबारे सकारात्मक कथाहरू नभनिएका होइनन्, तर त्यहाँ भनिएका सबभन्दा प्रभावशाली कथाहरूमा चाहिँ रोबटले मानव जातिमा पार्न सक्ने खतरा नै औँल्याइएका छन्।










