केपी शर्मा ओली भन्छन्,' एमाले अझै सबैभन्दा ठूलो दल'

केपी शर्मा ओली

तस्बिर स्रोत, RSS

Published

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही नेताहरू पार्टीबाट अलग भए पनि आफ्नो पार्टी अझै पनि सबैभन्दा ठूलो दल कायम रहेको बताएका छन्।

पार्टी विभाजनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुन बिहीवार भक्तपुर पुगेका ओलीले माधव नेपाल लगायतका नेताहरूको एमालेबाट बहिर्गमनलाई "रूखबाट पात झरेर गएको" सङ्ज्ञा दिए।

"तपाईँहरूले अलिकति ननिको पनि मान्नुभयो होला। हिजो केही मान्छेहरू, केही समातेर घिसारिँदै, कोही समातेर घिसार्दै पार्टी छोडेका मान्छेहरू (देखेर)," कार्यकर्ताहरूलाई पूर्वप्रधानमन्त्री ओलीले भने।

"केहीले पार्टी छोड्नु नयाँ कुरा होइन। तपाईँ सधैँ हरियो देखिने रूख लगाउनूस्, तर पनि कोहीकोही पातहरू झरिरहेको हुन्छ, कोही पलाइरहेको हुन्छ। पातै झर्दै नझर्ने रूख संसारमै हुँदैन।"

"प्रदेश र स्थानीय तहमा एमालेके बाहुल्य"

सङ्घीय सरकारमा एमालेको नेतृत्व केही समयमा लागि गुमे पनि प्रदेश र स्थानीय सरकारहरूमा अझै पनि एमालेकै बाहुल्य रहेको उनको दाबी छ।

"विधिवत् केन्द्रीय सरकार हामीसँग अहिले एकछिन रहेन, तर देशभरि हेर्ने हो भने राष्ट्रनिर्माणको काममा हामी जुटिरहेकै छौँ। हाम्रो जिम्मेवारी कम भएको छैन," ओलीले थपे।

"हामी बराबर कोही छैन। देशभरि जोड्दा आधाभन्दा बढी हामी नै छौँ।"

एमाले नेतृत्वको सरकार नभएका कतिपय प्रदेशहरूमा पनि बराबरीकै हैसियतमा आफ्नै पार्टी रहेको उनको जिकिर थियो।

"ग्रहण लाग्नका लागि पनि ठूलो शक्ति नै चाहिने" भन्दै उनले एमालेमा केही समयमा लागि ग्रहण लागेको रूपमा विभाजनलाई बुझ्न कार्यकर्ताहरूलाई आग्रह गरे।

उनले पार्टी विभाजनको विषयलाई लिएर कसैसँग पनि वैरभाव वा दुस्मनी नगर्ने समेत बताएका छन्।

माधव नेपाल

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, माधव नेपालको नेतृत्वमा गठन गरिएको नयाँ दलको नाम नेकपा एमाले (समाजवादी) प्रस्ताव गरिएको छ

एमाले विभाजन

चर्को आलोचनाबीच प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले दल विभाजन सहज हुनेगरी ल्याएको अध्यादेश जारी भएकै दिन बुधवार नेकपा एमालेको माधवकुमार नेपाल समूह नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो।

‍एमाले विभाजन भई बन्न लागेको नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) प्रस्ताव गरिएको छ।

दल दर्ताका लागि आयोग पुगेका नेतामध्ये एक राजेन्द्र पाण्डेले "नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा कम्युनिस्ट आन्दोलन अगाडि बढ्ने नदेखेर छुट्टै दल दर्ताको निर्णय लिएको" बताएका थिए।