कोभिड नेपाल: काठमाण्डू उपत्यकाको निषेधाज्ञा पुनः कडा, राति सवारीसाधन चलाउन नपाइने

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले बिहीवारबाट काठमाण्डू उपत्यकामा राति आठ बजेपछि अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेका छन्।
कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्यामा आएको निरन्तर वृद्धि सँगै काठमाण्डू, भक्तपुर र ललितपुरमा राति आठ बजेपछि सार्वजनिक र निजी सवारीसाधन सञ्चालनमा रोक लगाइएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए।
प्रमुख जिल्ला अधिकारीहरूको मङ्गलवार बसेको बैठकको निर्णयबारे जानकारी दिँदै उनले साँझको समयमा हुने भिडभाड नियन्त्रण गर्न यस्तो व्यवस्था गरिएको बताए।
बैठकले भदौ ८ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ।
कोभिड सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीका प्रवक्ता नूरहरि खतिवडाका अनुसार 'स्मार्ट लकडाउन'को मापदण्डका आधारमा उपत्यकासहित अन्य जिल्लाहरूमा समेत सङ्क्रमणको अवस्था हेरि निषेधाज्ञाहरू लागु हुनेछन्।
सीसीएमसीले पाँच निर्धारक तय गरेर त्यसकै आधारमा बन्द र खुला रहने क्रियाकलापको सूची तयार गरेको उनले जानकारी दिए।
"पाँच वटा अवस्थालाई २०-२० दिएर १०० पूर्णाङ्क प्रस्ताव गरिएको छ। ६५ अङ्क माथि आएको अवस्थामा रेड जोन घोषणा गर्ने भनिएको छ," खतिवडाले भने।
"कुन ठाउँ कुन वर्गमा पर्छ त्यही अनुसार कस्ता क्रियाकलापहरू खुल्ने र बन्द हुने भन्ने उल्लेख गरिएको छ।"
गत साउन १५ गतेको सीसीएमसी निर्देशक समितिको बैठकबाट सैद्धान्तिक स्वीकृति पाएको मापदण्ड कार्यान्वयनमा आउन बाँकी छ।
काठमाण्डूका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सङ्क्रमणको तथ्याङ्क हेरेर निषेधाज्ञाको अवस्था हेरफेर हुने बताए।
उल्लङ्घन हुँदा कस्तो कारबाही

यसअघि तीन वटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको अनुगमन तीव्र बनाउने उल्लेख गरे पनि अनुगमनभन्दा सचेतना बढाउनेमा ध्यान दिइएको प्रजिअ पराजुलीले बताए।
"हामीले अनुगमन गरेर जरिवाना वा कारबाही गर्ने भन्दा पनि जनचेतना बढाएर मान्छेहरूलाई आफैँ सचेत बनाउन सकिन्छ कि भन्ने प्रयास गरेका हौँ," उनले भने।
उपत्यकाका प्रशासन कार्यालयहरूले निर्देशन नदिए पनि ट्राफिक प्रहरीले भिडभाड हुने गरी यात्रु चढाउने सार्वजनिक यातायातलाई कारबाही सुरु गरेको छ।
साउन १९ गते एक साताका लागि थप गरिएको निषेधाज्ञामा सार्वजनिक सवारीसाधनहरूले स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाउने उल्लेख थियो।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पछिल्लो तीन दिनमा मात्रै क्षमताभन्दा बढी यात्रु चढाएका कारण १८७ जना चालकहरू कारबाहीमा परेका छन्।
"३० जना प्रहरीहरूलाई सादा पोसाकमा खटाएर अनुगमन गरिरहेको छौँ। सचेत यात्रुहरूबाट आउने फोनका आधारमा र उपत्यका बाहिर छुट्ने सवारीमा आफैँ यात्रु बनेर समेत हाम्रो टोलीले अनुगमन गरिरहेको छ," महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दासले भने।
उपत्यकाको सुरक्षा व्यवस्था हेर्दै आएको महानगरीय प्रहरी कार्यालयले गत वैशाखयता ५१,७११ मोटरसाइकल र २६,८८० चार पाङ्ग्रे सवारीसाधनलाई निषेधाज्ञा उल्लङ्घनमा कारबाही गरिसकेको छ।
प्रहरी प्रधान कार्यालयको विवरण अनुसार यो अवधिमा उपत्यकामा मास्क नलगाई हिँडडुल गर्ने १५,००० भन्दा बढीलाई मास्क वितरण गरिएको छ।
उपत्यकामा सङ्क्रमणको अवस्था
सङ्क्रमणको दोस्रो लहरसँगै वैशाख १६ बाट जारी निषेधाज्ञा असारपछि खुकुलो बनाउँदै लगिए पनि अघिल्लो साताबाट त्यसमा पुनः कडाइ गर्न थालिएको छ।
सङ्क्रमण दर निरन्तर उकालो लागेपछि यसअघि खुला गरिएका सभागोष्ठी लगायत २५ जनाभन्दा कम मानिस भेला भएर गर्न पाइने कार्यक्रमहरूमा अघिल्लो साताबाट पुन: बन्देज लगाइएको थियो।
पछिल्ला दिनहरूमा काठमाण्डू उपत्यकामा निरन्तर १०,००० भन्दा बढी सक्रिय सङ्क्रमितहरू रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
उपत्यकामा हालसम्म दुई लाख ९० हजारभन्दा बढी सङ्क्रमित भइसकेका छन् भने २,९०० बढीको सङ्क्रमणकै कारण निधन भएको छ।








