अफगानिस्तान: तालिबानले प्रमुख सहर कब्जा गर्न खोजेपछि हिंसात्मक द्वन्द्व

तस्बिर स्रोत, EPA
अफगानिस्तानको दक्षिणी र पश्चिमी भागमा रहेका तीन मुख्य सहरहरूमा तालिबानको आक्रमणले द्वन्द्व चर्किएको छ।
सरकारी फौजबाट नियन्त्रण खोस्ने प्रयासमा तालिबान लडाकुहरू हेरात, लश्कर गह र कान्दहारभित्र प्रवेश गरेका छन्।
सेप्टेम्बरको अन्त्यसम्म लगभग सबै विदेशी फौजले अफगानिस्तान छोड्ने घोषणा भएका कारण उनीहरूले ग्रामीण क्षेत्रमा सजिलै नियन्त्रण जमाउँदै लगेका छन्।
तर यी तीन सहरहरूको द्वन्द्व सरकारी फौजको परीक्षण हुने र मानवीय सङ्कट आउन सक्ने कारण महत्त्वपूर्ण रहेको बताइएको छ।
तालिबालले पाकिस्तान र इरानका महत्त्वपूर्ण सीमासहित अफगानिस्तानको आधा भूभाग नियन्त्रणमा लिएको मानिएको छ।
लश्कर गहमा शनिवार तालिबान गभर्नरको कार्यालयबाट केही सय मिटरको दूरीमा पुगेको तर राति सरकारी फौजले पछाडि धकेलेको बताइएको छ।
तालिबानले त्यहाँ गभर्नरको कार्यालय कब्जा गर्न खोजेको यो दुई दिनमा दोस्रो पटक हो। अफगान फौजका कमान्डरले शुक्रवार तालिबान लडाकुतर्फ उल्लेख्य क्षति पुर्याएको दाबी गरेका थिए।
बीबीसी संवाददाता सेकुन्दर केरमानीले तालिबानले सहरमा आक्रमण केन्द्रित गरेको र थुप्रै अमेरिकी र ब्रिटिस सैनिकले ज्यान गुमाएको हेल्मन्ड प्रान्तको राजधानी लश्कर गहको अवस्था तरल रहेको बताएका छन्।
उनले तालिबानहरूले सहरको प्रमुख स्थानहरूमा आफ्ना लडाकुको तस्बिर सामाजिक सञ्जालमा हालेको बताउँदै एक स्थानीयले सरकारी सेनाले पछाडि धकेले पनि यो घटनाले तालिबानको बढेको सामर्थ्य देखाएको बताएको बताए।

तस्बिर स्रोत, EPA
लडाकुहरू आम नागरिकका केही घरलाई कब्जा गरेका कारण उनीहरूलाई लखेट्न गाह्रो हुने र अझ हिंसात्मक द्वन्द्वको सम्भावना रहने केरमानीले बताए।
कान्दहारका एक सांसदले बीबीसीलाई उक्त सहरमा तालिबानले कब्जा गर्ने जोखिम रहेको बताउँदै हजारौँ मानिसहरू घर छोडेर हिँडेको र मानवीय सङ्कट आउने बताए।
गुल अहमद कामिनले अवस्था प्रत्येक घण्टा खराब बन्दै गइरहेको बताउँदै सहरभित्रको द्वन्द्व गएको २० वर्षमा सबैभन्दा खराब भएको बताए।
उनले तालिबानले कान्दहरलाई अस्थायी राजधानी बनाउन चाहेको बताउँदै त्यो सहर तालिबानको कब्जामा गए अन्य पाँच वा छ प्रान्त पनि उनीहरूले नियन्त्रणमा लिने बताए।
सहरका थुप्रै प्रवेश बिन्दुमा तालिबान रहेको र उनीहरू सहरभित्र प्रवेश गर्न सक्षम भएको अवस्थामा नागरिकको ज्यान जोखिममा पार्ने गरी सरकारी सेनाले ठुला हतियार प्रयोग गर्न नसक्ने बताए।
आर्थिक हिसाबले महत्त्वपूर्ण हेरातमा दक्षिणी भागमा तालिबान प्रवेश गरेपछि द्वन्द्व चर्किएको टोलो न्यूजले जनाएको छ।
त्यहाँ कम्तीमा पाँच स्थानमा गोली हानाहान भइरहेको बताइएको छ।
अमेरिकी सेनाले अफगान सेनालाई सहयोग पुर्याउन हवाई आक्रमण गरेको र सरकारी सेनाले विमानस्थल नजिकैको जिल्लालाई पुनः नियन्त्रणमा लिएको बताइएको छ।
शुक्रवार हेरातको विमानस्थल नजिकै संयुक्त राष्ट्रसङ्घको परिधिबाहिर एक सुरक्षाकर्मी मारिएका थिए। सो घटनालाई राष्ट्रसङ्घले तालिबानले जानीजानी गरेको आक्रमण बताएको छ।

तस्बिर स्रोत, EPA
अफगानिस्तानका लागि युरोपेली युनियनका विशेष दूत टोमस निकलासनले युद्ध खराब भएको आफूलाई लागेको बताएका छन्।
उनले तालिबानहरू विगतमा जस्तै इस्लामिक राज्य खडा गर्नेबारे सोचिरहेको भन्ने डर लागेको बताएका छन्।
ब्रिटिस सशस्त्र बलका पूर्वप्रमुख जेनरल डेभिड रिचार्ड्सले अन्तर्राष्ट्रिय सैनिक फिर्ता भएपछि अफगान सेनाको मनोबल गिर्ने र तालिबानले अफगानिस्तानलाई नियन्त्रणमा लिने खतरा रहेको बताए।
अमेरिकी नेतृत्वमा तालिबानलाई सन् २००१ को नोभेम्बरमा सत्ताच्यूत गरिएको थियो। तालिबानले सेप्टेम्बर ११ मा अमेरिकामाथि आक्रमण गरेको अल कायदाका ओसामा बिन लादेन र अन्य प्रमुख नेताहरूलाई शरण दिएको कारण आक्रमण गरिएको थियो।
तर अन्तर्राष्ट्रिय सेनाको लगातार उपस्थिति, अफगान सेनाको सहयोग र तालिममा खर्च गरिएको करोडौँ डलरका बाबजुद तालिबान पुनः शक्तिशाली भएर निस्केको छ।
सन् २०२० मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र अन्य सहयोगी देशहरू तालिबानसँग सहमति गरेर सेना हटाउन राजी भए।
त्यही वर्ष राष्ट्रपति जो बाइडनले सन् २०२१ को सेप्टेम्बरमा अफगानिस्तानबाट सेना हटाउने घोषणा गरे।










