ह्वाट्सएपः बिनाफोन चलाउन मिल्ने सुविधा आउँदै

तस्बिर स्रोत, Reuters
चर्चित मोबाइल एप ह्वाट्सएपले पहिलो पटक बिनामोबाइल फोन सन्देश आदानप्रदान गर्न मिल्ने सुविधाको परीक्षण गरिरहेको छ।
अहिलेसम्म ह्वाट्सएपको कम्प्युटर वा ब्राउजरमा चलाउन मिल्ने एप चलाउनका लागि फोन अनिवार्य थियो।
तर थपिन लागेको नयाँ सुविधामा मोबाइल फोन अफ भए पनि कम्प्युटर वा ब्राउजरबाट ह्वाट्सएप चलाएर सन्देश आदानप्रदान गर्न सकिनेछ।
एकैपटक कम्प्युटर वा ट्याब्लेटजस्ता चार वटासम्म उपकरणमा ह्वाट्सएप प्रयोग गर्न सकिने फेसबुकले जनाएको छ।
तर यो सुविधा सुरुमा परीक्षणका लागि प्रयोगकर्ताको सानो समूहलाई दिइनेछ। परीक्षणपछि यसलाई सुधार गरेर सबैले चलाउन सक्ने बनाउने बताइएको छ।
सन्देशहरू बीचमा अरू कसैले पढ्न नसक्ने बनाउने ह्वाट्सएपको महत्त्वपूर्ण सुविधा एन्ड-टु-एन्ड इन्क्रिप्शनको सुरक्षाकवच पनि कायम रहने बताइएको छ।
के यो सुविधा नयाँ हो?
ह्वाट्सएपजस्ता अन्य एपमा यस्तो सुविधा पहिल्यै विद्यमान छ। सिग्नल नामक एपलाई सुरुमा दर्ता गर्न फोन चाहिए पनि त्यसपछि बिनाफोन चलाउन सकिन्छ।
दुई अर्ब प्रयोगकर्ता ह्वाट्सएपमा यस्तो सुविधा थप्न पहिलेदेखि प्रयोगकर्ताले अनुरोध गरेको बताइएको छ।
यससम्बन्धी ब्लगमा फेसबुकका इन्जिनियरहरूले यो सुविधा थप्न ह्वाट्सएपको सफ्टवेअर डिजाइन नै नयाँ तरिकाले बनाउनुपरेको बताइएको छ।
यसको कारण ह्वाट्सएपले अहिले फोनलाई प्रमुख उपकरण मान्ने र त्यसको आधारमा मात्रै सन्देश आदानप्रदान वा कुराकानीलाई गोप्य हुने इन्क्रिप्शन गर्ने हुनु बताइएको छ।
ह्वाट्सएपका ब्राउजर वा कम्प्युटर एपहरू भने फोनको एपको प्रतिविम्बजस्तो मात्रै छन्।
भारतमा २० लाख प्रयोगकर्ता प्रतिबन्धित

तस्बिर स्रोत, Getty Images
ह्वाट्सएपले एक महिनामा भारतका २० लाख प्रयोगकर्तालाई प्रतिबन्ध लगाएको बताएको छ।
तीमध्ये ९५ प्रतिशत प्रयोगकर्तालाई आफूले पाएको सन्देश अरूलाई पठाउन तोकिएको सङ्ख्याको सीमा नाघेकाले कारबाही गरिएको हो।
यो तथ्याङ्क भारतको विवादास्पद सूचना प्रविधि नियमअन्तर्गत ह्वाट्सएपले बुझाएको प्रतिवेदनमा उल्लेख छ।
भारतमा ह्वाट्सएपका सबैभन्दा बढी ४० करोड प्रयोगकर्ता छन्।
ती प्रतिबन्ध मे १५ देखि जुन १५ सम्म अस्वाभाविक रूपमा धेरै सन्देश फर्वार्ड गर्ने प्रयोगकर्तालाई लगाइएको बताइएको छ।
ह्वाट्सएपले संसारभरि प्रतिमहिना ८० लाख खाताहरू प्रतिबन्धित गर्ने बताइएको छ।
यो पनि हेर्नुहोस्









