कोभिड नेपाल: सार्वजनिक गाडी उपत्यकामा आउजाउ गर्न पाउने, १० दिन निषेधाज्ञा थप

तस्बिर स्रोत, RSS
साउनको सुरुदेखि काठमाण्डू उपत्यका छिर्नलाई निजी तथा सार्वजनिक सवारीलाई अनुमतिपत्र आवश्यक नपर्ने ललितपुरका प्रमुख जिल्ला अधिकारीले बताएका छन्।
"मानिसहरूलाई अब स्वास्थ्य मापदण्ड पालना गरेर नियमित आउजाउ गर्न दिइने निर्णय गरिएको छ," प्रजिअ ढुन्डीप्रसाद निरौलाले भने।
"जोरबिजोर प्रणाली लागु गरेर लामो दूरीका सवारी चल्न दिइने विकल्पबारे सोचिए पनि त्यसले मानिसहरूलाई थप चाप र सास्ती दिने सोचेर यस्तो निर्णय गरिएको हो।"
प्रजिअहरूको सूचनामा भने अत्यावश्यक काम विशेषले उपत्यका प्रवेश गर्न सार्वजनिक तथा निजी सवारी साधनलाई आवतजावत गर्न दिइने जनाइएको छ।
निषेधाज्ञा १० दिन थप
कोरोनाभाइरस महामारी नियन्त्रणका लागि काठमाण्डू उपत्यकामा लागु गरिएको यसअघि नै खुकुलो पारिएको निषेधाज्ञा भने साउन १० गतेसम्म बढाइएको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले छुट्टाछुट्टै जारी गएको सूचनामा जनाइएको छ।
शैक्षिक संस्थाहरू भने अझै भौतिक रूपमा सञ्चालन हुन पाउने छैनन्।
खुला स्थानमा मानिसहरू भेला भएर कार्यक्रम एवं समारोहहरू गर्न लगाइएको रोक अझै कायम छ।
तर सबै खाले पसलहरू साँझ ७ बजेसम्म खुला गर्न दिइएको छ।
यसअघि औषधि र स्वास्थ्य सामग्रीसम्बन्धी पसलहरू बाहेकका अन्य व्यवसाय साँझ ६ बजेसम्म खोल्न सकिने व्यवस्था गरिएको थियो।
प्रजिअ निरौला थप्छन्, "बाँकी सबै व्यवस्थाहरू साबिककै हुन्।"

तस्बिर स्रोत, RSS
निषेध गरिएका गतिविधि
निषेधाज्ञा धेरै खुकुलो पारिएको भए पनि कतिपय गतिविधि गर्न अझै नपाइने आदेशमा उल्लेख छ।
त्यस्ता गतिविधि निम्नानुसार छन्:
- सबै प्रकारका सभासम्मेलन र तालिम वा सेमिनारहरू
- सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लबहरू
- स्वीमिङ पुल, मनोरञ्जलन स्थल, सैलुन, ब्युटिपार्लरहरू
- हेल्थक्लब, फुटसल, जिमखाना, पुस्तकालाय, संग्रहालय, चिडयाँखाना, रङ्गशालामा दर्शकसहित हुने खेलकुद
- खुला स्थानमा मानिसहरू भेला हुने सभासम्मेलन, जुलुस र भोजभतेरहरू
- होटल र पार्टी प्यालेसमा हुने विवाह, व्रतबन्ध र सामूहिक सांस्कृतिक कार्यक्रमहरू
- पुजारीबाट हुने नित्य पूजाबाहेक अन्य धार्मिक गतिविधिहरू
कोरोनाभाइरस सङ्क्रमण बढ्न थालेपछि गत वैशाख १६ गते एक साताका लागि निषेधाज्ञा लगाइएको थियो।
त्यसपछि पटकपटक थप गर्दै निषेधाज्ञा जारी राखिएको छ।
जसको कार्यान्वयनमा प्रश्नहरू उठाइए पछि यसबीचमा सरकारले कोभिड-१९ सङ्कट व्यवस्थापनसम्बन्धी अध्यादेश ल्याएर निषेधाज्ञा उल्लङ्घन गर्नेलाई सजाय र जरिबाना तोकेको थियो।
नयाँ अध्यादेशमा के छ व्यवस्था?
अध्यादेशबमोजिम कुनै काम गर्न बाधा अवरोध सिर्जना गर्न नहुने र गरेमा एक वर्षसम्म कैद वा पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने उल्लेख छ।
मापदण्ड पालना नगरे छ महिनासम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने अध्यादेशमा भनिएको छ।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- के जान्नै पर्छ? तपाईँका प्रश्नमा विज्ञको उत्तर

अनुमतिबिना चलाइएका सवारीसाधन सुरक्षाकर्मीले निश्चित समयका लागि नियन्त्रणमा पनि लिन सक्ने अध्यादेशमा उल्लेख छ।
जरिवानाबारे अध्यादेशमा यस्तो व्यवस्था छ:
- मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकैपिच्छे १०० रुपैयाँ
- आवतजावतमा रोक लगाइएको वा नियन्त्रण गरिएको अवस्थामा उल्लङ्घन गर्नेलाई पटकैपिच्छे २०० रुपैयाँ
- अनुमतिबिना वा सुरक्षाकर्मीलाई सूचना नदिई अथवा बिरामी ओसारपसार गर्ने अवस्थामा बाहेक सवारीसाधन चलाएमा पटकैपिच्छे दुईपाङ्ग्रे सवारी भए २,००० र अन्य सवारी भए ५,००० रुपैयाँ।
त्यसैगरी अध्यादेशविपरीत काम गर्ने संस्था वा व्यवसायलाई प्रमुख जिल्ला अधिकारीले छ महिनासम्मका लागि बन्द गर्न आदेश दिन सक्नेछन्।









