कोभिडः युरो फुटबलका कारण इङ्गल्यान्डका पुरुषमा 'कोरोनाभाइरस सङ्क्रमण बढ्यो'

फुटबल हेर्दै बारमा पुरुषहरू

तस्बिर स्रोत, Getty Images

इङ्गल्यान्डले अतिरिक्त समयमा डेनमार्कलाई २-१ ले हराउँदै ५५ वर्षमा पहिलोपटक कुनै ठूलो स्तरको फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ।

निर्धारित समयमा १-१ ले बराबरी भएको खेलमा ह्यारी केनले पेनाल्टी प्रहार गर्दा फर्किएको बलमा गोल गर्दै इङ्गल्यान्डको जित निश्चित हुन पुगेको थियो।

त्यसपछि उक्त टोलीका समर्थकहरू खुशीयाली मनाउँदै सडकमा उत्रिएका थिए।

तर गत दुई सातामा इङ्गल्यान्डका पुरुषहरूमा महिलाभन्दा धेरै कोरोनाभाइरस सङ्क्रमण देखिनुको कारण युरो २०२० फुटबल प्रतियोगिता हेर्नु रहेको हुनसक्ने इम्परियल कलेज लन्डनको तथ्याङ्कले देखाएको छ।

४७,००० भन्दा बढी स्वयंसेवकमा जुन २४ देखि जुलाई ५ सम्म गरिएको परीक्षणले "सङ्क्रमणको तेस्रो लहर" पुष्टि भएको बताइएको छ।

अध्ययनले महिलाभन्दा पुरुष ३० प्रतिशत बढी सङ्क्रमणको जोखिममा रहेको देखिएको छ।

तर सङ्क्रमित धेरै अस्पताल जानु पर्ने वा मृत्यु हुने अवस्थामा भने नरहेको सो अध्ययनले देखाएको छ।

र खोप लगाएका महिला र पुरुषहरू अरूभन्दा निकै कम जोखिममा रहेको देखिएको छ।

"फुटबल हेर्ने गर्दा पुरुषहरू अन्य समयमा भन्दा बढी सामाजिक गतिविधिमा संलग्न रहेको हुनसक्छ," अध्ययनका लेखक प्राध्यापक स्टीभन राइलीले भने।

अध्ययनका अनुसार:

  • जुनको सुरुमा ०.१५ प्रतिशत रहेको भाइरसको उपस्थिति जुलाईको सुरुमा बढेर ०.५९ प्रतिशत पुग्यो
  • ७५ वर्षभन्दा मुनिका र विशेष गरी युवाहरूमा सङ्क्रमणमा वृद्धि भयो
  • सङ्क्रमण हुनेहरूमा १.३३ प्रतिशत १३ देखि १७ वर्षका र १.४ प्रतिशत १८-२४ वर्षका मानिसहरू थिए
  • लन्डनमा सबैभन्दा उच्च सङ्क्रमण देखियो
समर्थक

तस्बिर स्रोत, Reuters

  • ६५ वर्षभन्दा कम उमेरका खोप लगाएका व्यक्ति सङ्क्रमित हुने सम्भावना त्यही उमेरका खोप नलगाएका व्यक्तिभन्दा तीन गुणा कम देखिए
  • खोपका दुई मात्राले ७२ प्रतिशत सुरक्षा दिएको पाइयो

अध्ययनको नतिजा इङ्गल्यान्डको आधिकारिक सरकारी तथ्याङ्कसँग मिल्दोजुल्दो रहेको छ।

"हामी केही विरोधाभासपूर्ण प्रक्रिया भएको महत्त्वपूर्ण समयावधिमा छौँ," अध्ययनमा भनिएको छ।

ती प्रक्रियाहरू यस प्रकार छन्:

  • सबै वयस्क उमेर समूहका लागि खोप कार्यक्रम
  • सङ्क्रमणका कारण बनेको प्राकृतिक रोग प्रतिरोधी क्षमता
  • विद्यालय बिदामा बालबालिकाको कम घुलमिल र
  • गृष्म याममा घरबाहिर धेरै घुलमिल
समर्थक

तस्बिर स्रोत, PA Media

जुलाई १९ मा इङ्गल्यान्डमा कोभिड प्रतिबन्धहरू हट्ने छन्। त्यसपछि भवनभित्र मास्क अनिवार्य नहुने र ठूलो भिडभाड हुने गरी कार्यक्रम गर्न पाइने छ।

अध्ययनकर्ताहरूले यी सबै कारणले गर्दा भविष्यमा सङ्क्रमणको गति कस्तो होला भनेर भन्न नसकिने बताएका छन्।

इङ्गल्यान्डमा ६४ प्रतिशत वयस्क मानिसहरूले खोपको दुवै मात्रा लगाइसकेका छन्।