युरो २०२० फुटबल: युरोपेली खेलमा किन चिनियाँ प्रायोजकको बाक्लो उपस्थिति छ?

टिकटक लोगो

तस्बिर स्रोत, Getty Images

इङ्गल्यान्डले युक्रेनलाई ४-० ले हराउँदै युरो २०२० को सेमीफाइलनमा पुगेको छ।

उसले गृह मैदान वेम्बलेमा बुधवार डेनमार्कसँग खेल्दा २५ वर्षपछि पहिलो पटक युरोपेली प्रतियोगिताको सेमीफाइनल खेल्नेछ।

अर्को सेमीफाइनल भने स्पेन र इटलीबीच मङ्गलवार हुनेछ।

लाखौँ दर्शकहरूले युरो २०२० मा रोमाञ्चक खेलहरू हेर्दा इङ्गल्यान्डले पाँच खेलमा गोल नखाएको वा साबिक विजेता पोर्चुगल बाहिरिएको वा क्रिस्टियानो रोनाल्डो र चेक गणतन्त्रका प्याट्रिक स्चेकले ५-५ गोल गरेको मात्रै होइन, दर्शकहरूले मैदानमा रहेका विज्ञापन बोर्डमा चिनियाँ ब्रान्डका लोगो धेरै देखिएको पनि याद गरेका छन्।

यसअघि सन् २०१६ को युरोमा हाईसेन्स टिभी एक मात्र चिनियाँ प्रायोजक थियो।

तर अहिले हाईसेन्ससहित टिकटक, भिभो र अलिपे प्रयोजकका रूपमा जोडिएका छन्।

गुगल, फेसबुक, अमेजन वा एपल जस्ता अमेरिकी कम्पनीहरू प्रयोजकको सूचीमा छैनन्।

युरोपेली फुटबल सङ्घले चिनियाँ प्रायोजकको विषयमा कुनै विशेष रणनीति नभएको बताएको छ।

"तर हामी मात्रै होइन हामीसँग जोडिने प्रयोजक पनि विश्वभरका समर्थकहरूसँग जोडिन चाहन्छन्," सङ्घले बतायो।

युरो २०२० का प्रायोजकका लोगो अगाडि इङ्गल्यान्डका ह्यारी केन। उनले युक्रेनविरुद्ध दुई गोल गरेका थिए

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, युरो २०२० का प्रायोजकका लोगो अगाडि इङ्गल्यान्डका ह्यारी केन। उनले युक्रेनविरुद्ध दुई गोल गरेका थिए

यो वर्ष मात्रै जोडिएको र चीन बाहिर छुट्टै हिसाबले चल्ने टिकटकले युरोलाई विशेष बनाएको छ। यसले टिकटक लाइभ र ह्यासट्याग चुनौतीजस्ता कुराहरू दिएको छ।

युरोपेली फुटबल सङ्घले टिकटकमा आधिकारिक अकाउन्ट खोलेको छ जसलाई ४२ लाखले फलो गरेका छन्।

अलिपे चिनियाँ भुक्तानी सेवा हो जुन चीन बाहिर चिनियाँ परिचयपत्र नभई प्रयोग गर्न सकिन्न तर पनि उसले युरोपेली फुटबल सङ्घसँग आठ वर्षको प्रायोजन सम्झौता गरेको छ।

अलिपेको भगिनी संस्था एन्ट ग्रुपकै अर्को सेवा एन्टचेन हो जसले ब्लकचेन प्रविधि प्रदान गर्छ।

अलिपेको सम्झौता हुँदाहुँदै एन्टचेनले पनि युरोपेली फुटबल सङ्घसँग पाँच वर्षे प्रायोजन सम्झौता गरेको छ।

युरो २०२० मा भएका सबै गोलहरूको तथ्याङ्क एन्टचेनमा रहन्छ र अलिपेले सबैभन्दा बढी गोल गर्नेलाई दिइने ट्रफी प्रदान गरेको छ।

अलिपे युरो २०२० टप स्कोरर ट्रफी

तस्बिर स्रोत, UEFA

तस्बिरको क्याप्शन, अलिपे युरो २०२० टप स्कोरर ट्रफी

किन चिनियाँ ब्रान्डहरू युरोपेली फुटबलको बजारमा आएका छन् त?

बर्मिङ्घम विश्वविद्यालयका खेलकुद नीति र व्यवस्थापन शिक्षक शुशु चेनका अनुसार सन् २०१६ को प्रायोजनपछि हाईसेन्सको बिक्रीमा वृद्धि भयो।

तर व्यापारका लागि भन्दा पनि यो काम चिनियाँ राष्ट्रपति सी जिनपिङका कारण भएको हुनसक्छ।

सी फुटबलमा समर्थक हुन् र चिनियाँ सरकारले प्रविधि कम्पनीमाथि कडाइ गरिरहेको अवस्थामा यो सुन्दर खेलको समर्थन गरेको देखाउने बठ्याइँपूर्ण जनसम्पर्क चाल हुनसक्छ।

"युरोप चिनियाँ कम्पनीहरूका लागि महत्त्वपूर्ण बजार बन्दै छ," ओम्डियाका वरिष्ठ विज्ञापन विशेषज्ञ म्याट बेले भन्छन्।

सन् २०१४ मा सीले चिनियाँ विद्यालय शिक्षामा खेलकुद समावेश गरे भने सन् २०१६ मा चिनियाँ सुपर लीग फुटबल सुरु गरियो।

लीगमा ब्रजिली स्टार ओस्कारसहित महँगा अन्तर्राष्ट्रिय खेलाडीहरू किनिए।

सन् २०१७ मा बर्लिन भ्रमणका बेला चीन र जर्मनीबीच भएको युवा फुटबल हेर्दै चिनियाँ राष्ट्रपनि सी जिनपिङ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् २०१७ मा बर्लिन भ्रमणका बेला चीन र जर्मनीबीच भएको युवा फुटबल हेर्दै चिनियाँ राष्ट्रपनि सी जिनपिङ

ओस्कारको साप्ताहिक तलब चार लाख पाउन्ड थियो तर छिटै चिनियाँ टोलीलाई आर्थिक अफ्ठेरो परेको देखियो।

सन् २०२० को डिसेम्बरमा लीगलाई पैसाको खेल नबनाउन खेलाडीको उच्चतम तलब तोक्ने निर्णय गरियो।

चीनमा फुटबल प्रख्यात छ। आर्सनल क्लबको मात्रै त्यहाँ २० करोड समर्थक भएको बताइन्छ जुन यूकेको जनसङ्ख्याको तीन गुणा हो।

त्यसैले चिनियाँहरू पनि युरो २०२० हेरिरहेका छन्। बीबीसीका मिडिया विशेषज्ञ केली एलनका अनुसार चिनियाँ सामाजिक सञ्जालमा युरो ह्यासट्याग भएका ५० लाखभन्दा बढी पोस्ट प्रकाशन भएका छन्।

"युरोका एक तिहाइ प्रायोजकका रूपमा रहेका चिनियाँ कम्पनीका बारेमा चीनमा राम्रो समाचारहरू प्रकाशन भएका छन्," उनले भनिन्।

फुटबल चर्चित भए पनि चीनको फुटबल टोली भने विश्वको ७५औँ स्थानमा रहेको छ। विश्वकप फुटबलमा चीनले सन् २००२ यता खेलेको छैन।

भिभो

तस्बिर स्रोत, Shaun Botterill - UEFA

के फुटबलमा चीनको उच्चतम सफलता प्रायोजन मात्रै हो त?

सायद। बिग अरेन्ज मिडियाका जो डे क्वान्ट भन्छन्, "तर त्यो मात्रै लक्ष्य होइन। ब्रान्डलाई चर्चित बनाउने प्रयास पनि हो।"

"युरोले ठूलो जनसङ्ख्या र बजार प्रतिनिधित्व गर्छ। अनलाइनले बजार लिँदै गएको अवस्थामा टिभीमा यति धेरै मानिस एकै पटक आएको लामो समयपछि हो।"

विज्ञापन क्षेत्रमा अनुभवी सिन्डी ग्यालोप मेक लभ नट पोर्नका संस्थापक हुन् र उनका एक अभिभावक चिनियाँ हुन्।

ग्यालोप भन्छन्, "सबै देशमा एशियालीप्रतिको घृणालाई कम गर्नु पर्ने अवस्था रहेको बेला फुटबलको विश्वव्यापी भाषामा चिनियाँ ब्रान्डहरू देखिनु राम्रो हो।"

"म पनि चिनियाँ विज्ञापनहरू देखेर छक्कै परेको छु। तर यो अवस्थाको यसको अर्थ छ।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, ‘तलब बराबर भयो, अब अवसर पनि बराबर चाहिन्छ’