कोभिड भारत: कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या तीन करोड नाघ्यो

तस्बिर स्रोत, Reuters
नेपालको दक्षिणी छिमेकी देश भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेहरूको सङ्ख्या तीन करोड नाघेको छ।
त्यस्तै कोभिड-१९ सँग सम्बन्धित समस्याका कारण मृत्यु हुनेको सङ्ख्या तीन लाख ९०,६६० पुगेको छ।
जोन्स हप्किन्स विश्वविद्यालय तथा भारत सरकारको पछिल्लो तथ्याङ्कअनुसार भारतमा अहिलेसम्म ३०,०२८,७०९ जनामा कोभिड पुष्टि भएको छ।
तर पर्याप्त परीक्षण नभएको र उल्लेख्य सङ्ख्यामा लक्षणविहीन सङ्क्रमण हुने हुँदा सङ्क्रमितको वास्तविक सङ्ख्या बढी भएको विज्ञहरूको धारणा छ।
बीबीसी हिन्दीका अनुसार विगत ५० दिनमा भारतमा एक करोड जनामा कोभिड पुष्टि भएको हो। तीमध्ये ५० लाख जनामा विगत ३६ दिनमा सङ्क्रमण देखिएको हो।
के छ विश्वको तुलनामा भारतको अवस्था?
कोरोनाभाइरसका कारण सर्वाधिक मानिसहरू सङ्क्रमित भएको हिसाबले भारत अमेरिकापछि दोस्रो स्थानमा छ।
केही सातादेखि भारतमा दैनिक फेला पर्ने सङ्क्रमितको सङ्ख्या घटिरहेको देखिन्छ। तर विज्ञहरूले फेरि अर्को लहर सुरु हुन सक्ने चेतावनी दिँदै सावधान रहन आग्रह गरेका छन्।
अमेरिकामा तीन करोड ३५ लाख जनाभन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने छ लाख जनाभन्दा बढीले ज्यान गुमाएका छन्।
सङ्क्रमित र मृत्यु हुनेहरूको सङ्ख्याको हिसाबले विश्वव्यापी रूपमा हेर्दा ब्रजिल तेस्रो स्थानमा छ।
नेपालसँग जोडिएका राज्यको अवस्था के छ?

तस्बिर स्रोत, Reuters
भारतमा सबैभन्दा बढी सङ्क्रमित महाराष्ट्र राज्यमा छन् जहाँ ५९ लाख ८७ हजार जनाभन्दा बढी सङ्क्रमित छन्।
नेपालसँग जोडिएका राज्यमध्ये उत्तर प्रदेशमा १७ लाख चार हजार, पश्चिम बङ्गालमा १४ लाख ८५ हजार, बिहारमा सात लाख २० हजार र उत्तराखण्डमा तीन लाख ३८ हजारभन्दा केही बढी मानिस कोभिडबाट पीडित छन्।
उत्तर प्रदेशमा २२,२८२ जना, पश्चिम बङ्गालमा १७,४३७ जना, बिहारमा ९,५६३ र उत्तराखण्डमा ७,०५२ जनाको मृत्यु भइसकेको छ।
नेपाल र भारतबीच लामो खुला सीमा रहेकाले भारतको अवस्थाले नेपाललाई पनि प्रभाव पार्ने विज्ञहरूले बताउँदै आएका छन्।
भारतमा सुरुमा देखा परेको डेल्टा भेरिअन्टका कारण नेपालमा कोरोनाभाइरसको दोस्रो लहरले व्यापक प्रभाव पारेको चिकित्सकहरूको भनाइ छ।
यसै हप्ता नेपालमा सङ्कलन गरी आनुवंशिक संरचनाको अध्ययन गर्न पठाइएका कोरोनाभाइरसका ४८ वटा नमुनामध्ये ४७ वटामा डेल्टा भेरिअन्ट भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको थियो।
डेल्टा भेटिअन्टका नमुनामध्ये नौ वटामा थप उत्परिवर्तन भएको पाइएको मन्त्रालयले सोमवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
उक्त उत्परिवर्तन नेपालसहित १० वटा देशमा पुष्टि भएको र त्यसलाई के४१७एन (K417N) नाम दिइएको छ।
स्वरूप परिवर्तन भएर बनेको नयाँ प्रकारलाई एवाई.१ (AY.1) नाम दिइएको मन्त्रालयले जनाएको छ।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- के जान्नै पर्छ? कोरोना भाइरस तीव्र गतिमा फैलिरहेको बेला जान्नै पर्ने पाँच कुरा

भारतमा बुधवार बिहानसम्मको तथ्याङ्क
- निकोः २,८९,९४,८५५ (९५.५६%)
- सक्रिय सङ्क्रमणः ६,४३,१९४ (२.१४%)
- मृत्युः ३,९०,६६० (१.३०%)
भारतमा खोप अभियानको अवस्था कस्तो छ?
बुधवार बिहान ८ बजेसम्मको तथ्याङ्कका अनुसार भारतमा विगत २४ घण्टामा कोभिड खोपको ५४ लाखभन्दा बढी मात्रा दिइएको छ।
हालसम्म त्यहाँ २९ करोड ४६ लाखभन्दा बढी खोपका मात्रा दिइएको बताइएको छ।
त्यसमा एक मात्रै मात्रा प्राप्त गर्नेको सङ्ख्या २४ करोड १८ लाख छ भने पाँच करोड २७ लाखभन्दा केही बढीले दोस्रो मात्रा पनि प्राप्त गरेका छन्।











