ट्रम्पको समर्थनमा ओबामाकेयरलाई दिइएको चुनौती अस्वीकृत

तस्बिर स्रोत, Reuters
अमेरिकी सर्वोच्च अदालतले पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पको साथ पाएर रिपब्लिकन नेतृत्वमा रहेका राज्यहरूबाट पूर्व राष्ट्रपति बराक ओबामाको स्वास्थ्य सेवा नीतिमा आमूल परिवर्तनको माग गर्दै दिइएका चुनौतीलाई खारेज गरेको छ।
पुरातनवादीहरूप्रति अदालतको झुकाव रहेपनि नौ जना न्यायाधीशहरूमध्ये पक्षमा सात र विपक्षमा दुई जना उभिँदै राज्यहरूसँग कानुनी चुनौती दिने आधार नरहेको फैसला सुनाएका थिए।
ओबामाकेयर भनिने स्वास्थ्य सेवामा पहुँचसम्बन्धी ऐन कानुनी चुनौतीबाट सन् २०१० यता जोगिएको यो तेस्रो पटक हो।
कानुनले कम आय भएका दशौँ लाख अमेरिकीहरूलाई स्वास्थ्य बिमासम्मको पहुँच उपलब्ध गराउँछ।
पहिला नै भएका स्वास्थ्य समस्याका कारण सेवा उपलब्ध नगराउनबाट यसले बिमा प्रदायकहरूमाथि प्रतिबन्ध लगाएको छ।
बिहीवारको फैसलाले उक्त कानुनका मुख्य प्रावधान असंवैधानिक रहेको भन्ने दाबीबारे भने जवाफ दिएको छैन।
टेक्सस् र १७ वटा अरू रिपब्लिकन शासन भएका राज्यहरूले उक्त कानुनीमाथि चुनौती दिँदै मुद्दा दायर गरेका थिए।
सन् २०१६ मा राष्ट्रपतिमा निर्वाचित भएका ट्रम्पले उक्त कानुन खारेज गर्ने प्रतिबद्धता जनाएका थिए।

तस्बिर स्रोत, Getty Images
रिपब्लिकनहरूले संसद्को दुवै सदनमा आफ्नो नियन्त्रण हुँदा त्यसलाई उल्ट्याउने प्रयास गरेका भए पनि विफल भएका थिए।
यसै महिनाको सुरुमा ह्वाइट हाउसले ओबामा केयरमार्फत ३ करोड १० लाख मानिसहरूको स्वास्थ्य सेवा सुनिश्चित भएको बताएको थियो।
ओबामाकेयरको भविष्य सुनिश्चित
बीबीसीका उत्तर अमेरिका संवाददाता एन्थोनी जर्कर भन्छन् रिपब्लिकनको नियन्त्रण रहेको टेक्सस् राज्यको नेतृत्वमा रूढिवादी समूहहरूले एफोर्डेबल केयरसम्बन्धी कानुनलाई पूर्ण रूपमा समाप्त पार्न चाहेका थिए।
तर सर्वोच्च अदालतको आरामदायी मत अन्तर सहितको निर्णयले उनीहरूको प्रयासलाई अङ्कुश लगाइदिएको छ।
उनी थप्छन् अदालतले टेक्सस्ले गरेका तर्कहरूबारे निर्णय सुनाउन आवश्यक समेत ठानेन बरु मुद्दा दायर गर्ने पक्षसँग त्यसका लागि आधारसमेत नरहेको उल्लेख गर्यो।

तस्बिर स्रोत, Getty Images
सन् २०१२ मा अत्यधिक विवादका माझ सर्वोच्च अदालतले साँघुरो अन्तरले ओबामाकेयरलाई अनुमोदन गरेको थियो।
तर यसपालि पहिला उक्त प्रावधानको पक्षमा असहमत भए पनि बहुमत न्यायाधीशहरू यसअघिको फैसला उल्ट्याउने विषयमा नजिकसम्म छैनन भन्ने प्रस्ट देखिन्छ।
तल्ला सङ्घीय अदालतहरूमा रहेका पुरातन पन्थी झुकावका कारण भविष्यमा पनि कानुनी चुनौती आउन सक्ने भए पनि सर्वोच्च अदालत उक्त कानुनलाई समाप्त पार्न इच्छुक नभएको जर्करको ठम्याइ छ।
सदनबाट पनि उक्त कानुन खारेज गर्ने प्रयास विफल भएको उल्लेख गर्दै उनले अब ओबामाकेयरको भविष्य सुनिश्चित देखिएको बताए।
प्रतिक्रिया के छन्
राष्ट्रपति जो बाइडनले अदालतको फैसलाको स्वागत गर्दै कानुनबाट लाभ पाएकाहरूका लागि महत्त्वपूर्ण विजय भएको बताए।
स्वास्थ्यसेवाको पहुँच विस्तार गर्ने प्रतिबद्धता जनाएका बाइडनका लागि पनि यो जीत अर्थपूर्ण रहेको छ किनभने उनले उक्त कानुनको दायरा विस्तार गर्न कार्यकारी अधिकार प्रयोग गर्ने बताएका छन्।
पूर्व राष्ट्रपति ओबामाले अदालतको फैसलाले आफ्नो कार्यकालको महत्त्वपूर्ण कानुन रहिरहने सुनिश्चित गरेको बताए।
तर टेक्सस्का सांसद केभीन ब्राडीले निर्णयबाट आफू 'निराश' भएको भन्दै 'त्रुटिपूर्ण' कानुन जोगाउन लागेकोमा सर्वोच्च अदालतको आलोचना गरेका छन्।








