'नेपाल भेरिअन्ट': कोरोनाभाइरसको कुन उत्परिवर्तनका कारण यूकेले पोर्चुगल असुरक्षित रहेको बताएको हो?

- Author, रेचल शेअर
- Role, बीबीसी न्यूज
यूकेले आफ्ना नागरिकहरूलाई घुम्न सुरक्षित स्थानको सूचीबाट पोर्चुगललाई हटाएपछि 'नेपाल भेरिअन्ट'को चर्चा चुलिएको छ।
यूकेको सरकारले पोर्चुगललाई हटाउनुको पछाडि कोरोनाभाइरसको नेपाल भेरिअन्ट देखा पर्नुलाई एउटा कारण बताएको छ।
तर विश्व स्वास्थ्य सङ्गठनले नेपाल भेरिअन्ट नभएको बताएको छ।
त्यसो भए भएको के हो त? के नेपाल भेरिअन्ट छ?
पोर्चुगललाई किन यूकेले सूचीबाट हटायो?
यूकेका यातायात मन्त्री ग्रान्ट शाप्सले पोर्चुगललाई हरियो सूचीबाट हटाउने घोषणा गर्दा 'भारतीय भनिने भेरिअन्टको नेपाल म्यूटन्ट' रहेको बताएका थिए।
उनले त्यो खोप प्रतिरोधी हुन नसक्ने कुरा थाहा नभएको पनि बताएको थिए।
बीबीसीसँग कुरा गर्दै समुदाय मन्त्री रोबर्ट जेनरिकले भारतीय भेरिअन्ट फैलिरहेको र त्यसको नेपाल भेरिअन्ट भनिने उत्परिवर्तन भएको हुनसक्ने प्रमाणहरू थपिइरहेको बताएका छन्।
सरकारले प्रतिबन्धहरू खुला गर्नुअघि जोखिम उठाउन नचाहेको बताएको छ।
हरियो सूचीबाट हटेपछि ब्रिटिश नागरिकहरूले पोर्चुगल भ्रमण गर्न पाउँदैनन् र त्यहाँबाट फर्कँदा १० दिन क्वारन्टीनमा बस्नुपर्छ।
के नेपाल भेरिअन्ट छ?
नेपाल र अन्यत्र उत्परिवर्तन भएका भाइरस भेटिएका छन् तर यसको अर्थ कोरोनाभाइरसको नयाँ भेरिअन्ट भेटिएको भन्ने हुँदैन।
विश्व स्वास्थ्य सङ्गठनले 'नेपालमा कुनै पनि नयाँ भेरिअन्टको कोरोनाभाइरस भेटिएको थाहा नभएको' र नेपालमा हाल फैलिरहेको प्रमुख भाइरस डेल्टा भनिने भारतीय भेरिअन्ट रहेको बताएको छ।

तस्बिर स्रोत, Getty Images
डेल्टा भेरिअन्टको थोरै सङ्क्रमणमा के४१७एन भनिने थप उत्परिवर्तन भएको पाइएको छ।
यो उत्परिवर्तन भाइरसको प्रोटिन चुच्चोमा देखिएको हो जुन यसअघि नै बीटा भनिने दक्षिण अफ्रिकी भेरिअन्ट लगायतका अन्य भेरिअन्टमा देखिइसकेका छन्।
डेल्टा भेरिअन्टको यो थप परिवर्तन सहितको भाइरस संसारभर ९० सङ्क्रमणमा भेटिएको छ।
तीमध्ये १२ वटा पोर्चुगलमा, ३६ वटा यूकेमा, १२ वटा अमेरिकामा र चार वटा भारतमा देखिएका हुन्।
नयाँ तथ्याङ्कमा यूकेमा यस्ता ४३ सङ्क्रमण देखिएको पाइएको छ तर यूकेमा अन्यत्रभन्दा धेरै जीन सिक्वेन्सिङ हुने भएका कारण त्यहाँ धेरै भेटिनु स्वाभाविक मानिएको छ।
नेपालमा यस्तो सङ्क्रमण एउटा देखिएको र जापानमा १४ सङ्क्रमणमा देखिएकोमा १२ सङ्क्रमण नेपालबाट गएका यात्रुको विमानस्थल क्वारन्टीनमा सङ्कलित नमुनामा देखिएको वेलकम स्याङ्गर इन्स्टिच्युटले जनाएको छ।
कुनबेला उत्परिवर्तनलाई भेरिअन्ट भनिन्छ?
भाइरसहरू निरन्तर उत्परिवर्तन हुन्छन्। कुनै उल्लेखनीय उत्परिवर्तन भएमा त्यसलाई नयाँ भेरिअन्ट भनिन्छ।
उदाहरण यूकेको केन्टमा भेटिएको अल्फा भेरिअन्ट वा दक्षिण अफ्रिकामा भेटिएको बीटा भेरिअन्ट हुन्।
कुनै पनि उत्परिवर्तनलाई कतिखेर भेरिअन्ट मान्ने भन्नेबारे स्पष्ट वैज्ञानिक अवधारणा छैन।
सामान्यतया कुनै उत्परिवर्तन धेरै फैलिएर एउटा फैलिने प्रवृत्ति देखिन थालेपछि भेरिअन्ट भनिन्छ।
कुनै उत्परिवर्तन वा भेरिअन्ट पहिलेको भन्दा थप सङ्क्रामक भयो वा मानिसहरूलाई बढी बिरामी बनायो वा खोप प्रतिरोधी देखियो भने त्यसलाई चिन्ताको भेरिअन्टको सूचीमा राखिन्छ।
अहिलेसम्म नेपालमा देखिएको वा अन्यत्र देखिएको थप उत्परिवर्तनलाई त्यस्तो सूचीमा राखिएको छैन।
पब्लिक हेल्थ इङ्गल्यान्डले यसलाई 'अध्ययनमा रहेको चुच्चो उत्परिवर्तन' भने पनि भेरिअन्ट भनेको छैन।
भेरिअन्ट नभनिएका यस्ता उत्परिवर्तन इजिप्ट, भियतनाम, यूके र अन्यत्र पनि देखिएका छन्।
फेब्रुअरीमा अल्फा वा यूके भेरिअन्टको सङ्क्रमणको सानो सङ्ख्यामा दक्षिण अफ्रिका वा बीटा भेरिअन्टको जस्तो ई४८४के उत्परिवर्तन देखिएको थियो।
त्यसले खोपको प्रभावकारितालाई कम गर्न सक्ने बताइएको थियो तर त्यो उत्परिवर्तन कहिल्यै धेरै फैलिएन।

तस्बिर स्रोत, NurPhoto
के नेपाल उत्परिवर्तन समस्या हुन सक्छ?
यस्तै खाले प्रोटिन चुच्चोको उत्परिवर्तन बीटा वा दक्षिण अफ्रिका भेरिअन्टमा पनि देखिएको थियो।
यस्तो उत्परिवर्तनले खोप प्रतिरोधी हुने बताइन्छ।
"यसको कारण र डेल्टा भाइरस अन्यभन्दा सङ्क्रामक भएको देखिएकोले वैज्ञानिकहरू यसलाई ध्यान दिइरहेका छन्," साङ्गर इन्स्टिच्युटले भनेको छ।
पोर्चुगललाई किन हरियो सूचीबाट हटाइयो?
यूके सरकारले हरियो सूचीबाट हटाउँदा भेरिअन्टमात्रै होइन कुनै देशमा कति सङ्क्रमण फैलिरहेको छ भन्ने पनि हेरेको छ।
यूकेको पछिल्लो समीक्षामा पोर्चुगलमा अघिल्लो समीक्षाको समयमा भन्दा दोबर सङ्क्रमण बढेको तथ्याङ्क छ।
त्यसैले यूके सरकारले खोप कार्यक्रमका कारण कम भएको जोखिमको अवस्थालाई बचाउन तत्कालको कार्य जरुरी रहेको बताएको छ।
मन्त्री जेनरिकले गत केही सातामा पोर्चुगलमा सङ्क्रमण उल्लेख्य बढेको बताएका छन्।
तर पोर्चुगलको सङ्क्रमण दर (प्रति एक लाख जनसङ्ख्यामा ५.४ जना) यूकेको (प्रति एक लाखमा ५.१ जना) भन्दा थोरै मात्रै बढी छ।










